८ वैशाख २०८१ शनिबार
राजनीति

स्यालहरु चिच्याउँदैमा चिहान पुगिसकेको ‘राजसंस्था’ व्युतिँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिहानमा पुगिसकेको कुरा फेरि नफर्किने बताएका छन्। 

सोमबार २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने षडयन्त्रका झिल्काहरु यत्रतत्र देख्न थालिएको बताए।

‘कहिलेकाही सिंहको अगाडि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन। सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ। यो कुरा आत्मसात गर्नुपर्छ।’

पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी शक्तिका गतिविधितर्फ संकेत गर्दै उनले भने, ‘चिहानबाट फेरि भुतप्रेतलाई ल्याउँदैमा चिहानमा पुगिसकेको कुरा फेरि व्युतिँदैन। फर्किन्छ भन्ने कुरा त विज्ञानले मान्दैन। तर पनि तिनका प्रेत आत्माहरु बेला बेला आउने र जिवित मानवहरुलाई कुनै न कुनै रुपमा दुःख दिने गर्दा रहेछन्।’

अहिले एकथरी मान्छे क्रान्तिकारी विद्रोह, आन्दोलन र त्यसका नेतालाई बदनाम गर्न धेरै तल्लो स्तरमा उत्रिएर गाली गलोज र अनर्गल प्रचारको एउटा सिलसिला सुरु गर्न थालेको दाहालको भनाई छ। 

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने कुटनीतिका साथ आन्दोलनमा प्रदर्शित गरिएको त्याग तपस्या बलिदानलाई बदनाम गर्ने, हिजोका सामन्त, निरंकुशतावादीहरु र सबै अत्याचारीलाई फेरि कुनै न कुनै रुपमा अगाडि ल्याउने षडयन्त्रका झिल्काहरु यत्रतत्र देख्न थालिएको छ’, उनले भने। 

यस्तो बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने, जनतालाई अझै धेरै सकारात्मक परिणामहरु दिने, जनता परिचालन गर्ने र सम्बन्ध सुदृढ गर्ने, पार्टी एकतालाई अझ बलियो बनाउन जरुरी रहेको अध्यक्ष दाहालको भनाई छ।

अध्यक्ष दाहालले सिंहको अगाडि स्याल स्याल नै रहने बताए। स्याल चिच्याउँदैमा सिंहको स्थानमा पुग्न नसक्ने उनको भनाई छ। ‘कहिलेकाही सिंहको अगाडि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन। सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ। यो कुरा आत्मसात गर्नुपर्छ’, उनले भने। दाहालले राजावादी शक्तिलाई सांकेतिक रुपमा स्याल भनेका हुन्। 

उनले पार्टी एकताका काम छिट्टै टुंगिने र सरकारले पनि काम गरिरहेको बताए। ‘काम त गरेको छ। तर, जनअपेक्षा धेरै छन्। तिनलाई समेट्न कामको गति बढाउनुपर्छ’, उनले भने।  

अध्यक्ष दाहालले सुरेश वाग्लेको बहस, तर्कका सामु आफूसहित तत्कालिन माओवादीका वरिष्ठ नेताहरु बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा लगायत नतमस्तक हुने गरेको स्मरण गर्दै वाग्लेले व्यक्तित्व, विचारको निष्ठा, राजनीतिक प्रवृत्तिहरुलाई सन्तुलन मिलाउने क्षमता, कुशलता, चरित्रको हिसाबले सबै बरिष्ठ नेतालाई प्रभावित पारेको बताए। 

‘उनी वौद्धिक समूहमा पनि परिचित थिए। २०५६ सालमा जतिखेर उनको हत्या भयो देशैभरी तरंग ल्यायो। गुणात्मक रुपमा जनयुद्धमा संख्या बढ्यो। राम्रा मान्छे मारिँदा थुप्रै क्रान्तिकारी जन्माउँदो रहेछ। एउटा मान्छेले हजारौंलाई बलिदानीका लागि उत्प्रेरित गर्छ’, उनले भने। 

दाहालले कम्युनिस्टहरु वैचारिक निष्ठा र नैतिक चरित्र तथा आचरणको दृष्टिकाणले स्खलित भएको भन्दै चिन्ता व्यक्त गरे। ‘सुरेश ज्ञवालीलाई हेडक्वार्टरमा सम्झिँदै गर्दा कम्युनिस्ट आन्दोलन लोकप्रिय त बनाएका छौं, अत्याधिक बहुमत प्राप्त गरेर लोकप्रिय मतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा त पुर्याएका छौं। तर वैचारिक निष्ठा, स्पष्टता, राजनीतिक परिपक्वता, नैतिक चरित्र र आचरणको दृष्टिकाणले हामी धेरै नै खस्केका छौं’, दाहालले थपे।  

आफूहरु अलि बढी नै आत्मकेन्द्रीत, व्यक्तिबादी, आदर्शबाट विचलनतिर जान खोजेको आभाष हुने थालेको भन्दै दाहालले यस्तो बेला सुरेश वाग्ले र अन्य क्रान्तिकारी व्यक्तिलाई सम्झिँदा हाम्रो उद्देश्यले पार्टीलाई क्रान्तिकारी बनाउने, आदर्शउन्मुख बनाउने, नैतिक चरित्रमा माथि ल्याउने हुनुपर्ने र यसले नेकपा समाजवादी क्रान्तितर्फ उन्मुख पार्टी हुने विश्वास व्यक्त गरे। ‘जनतामा समर्पित, जनताकै पार्टी हो भन्ने बनाउनुपर्छ’, उनले भने। 

प्रकाशित: २३ भाद्र २०७६ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App