coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगान तालिबानसँगको गोप्य बैठक रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन (बिबिसी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान विद्रोही तालिबानसँगको शान्ति वार्ता रद्द गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पको घोषणासँगै अफगानिस्तानमा १८ वर्षदेखि जारी अमेरिकी युद्धलाई अन्त्य गर्ने ठानिएको अमेरिका–तालिबान बैठक अनिश्चित भएको छ।

अफगान युद्ध अन्त्य गर्नका लागि कैयौं महिनादेखि वासिङ्टन र तालिबानबीच चरणबद्ध वार्ता भइरहेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा ट्विट गर्दै आइतबारका लागि अफगान राष्ट्रपति असरफ घानी र तालिबानका वरिष्ठ नेताहरुसँग आफ्नो बैठकको कार्यतालिका रहेकोमा सो बैठकलाई आफूले रद्द गरेको घोषणा गरेका हुन्।

शृंखलाबद्ध ट्विटमा उनले आइतबार क्याम्प डेभिडमा आफूले तालिबानका वरिष्ठ नेताहरूसँग भेट्ने कार्यक्रम तय गरिएको र अब त्यो रद्द भएको बताएका हुन्। काबुलमा भएको हमलामा एकजना अमेरिकी सेनाको पनि ज्यान गएको तालिबान समूहले स्वीकारेपछि उनले उक्त बैठक स्थगित गरेका हुन्।

तालिबानसँगका अमेरिकी वार्ताकार जाल्मे खलिलजादले गत सोमबार तालिबानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्विटमार्फत आफूले तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको घोषणासमेत गरेका छन्।

खलिलजाद र तालिबान प्रतिनिधिबीच खाडी राष्ट्र कतारको राजधानी दोहामा नौ चरणसम्म भएको वार्ताको प्रतिफलस्वरुप शान्ति सम्झौता भएको थियो।

ट्रम्पको घोषणा बाहिरिएलगत्तै तालिबानले त्यसको प्रतिक्रिया दिएको छ। उसले शान्ति सम्झौता रद्द गरेकोमा अमेरिकाले निकै पछुताउनु पर्ने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबारे ‘आपतकालीन आन्तरिक बैठक’को तयारी भइरहेको कतारको दोहास्थित तालिबानको राजनीतिक कार्यालयको स्रोतले बिबिसीसँग बताएको थियो।

अल–कायदाले अमेरिकामा आक्रमण गरेको दिन सेप्टेम्बर ११ को वर्षगाँठको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्प र अफगान विद्रोही तालिबानबीच क्याम्प डेभिडमा बैठक हुने कार्यतालिका तय गरिएको थियो।

२००१ को सेप्टेम्बर ११ मा अल–कायदाले अमेरिकामा आक्रमण गरेको थियो। अमेरिकामा आक्रमण गर्ने योजना बनाउनका लागि अल–कायदाका लडाकुलाई सुरक्षित स्थान प्रदान गरेको भन्दै वासिङ्टनले सोही वर्षको शरदमा अफगानिस्तानमा हस्तक्षेप गर्दै तत्कालीन तालिबान सरकारलाई अपदस्थ गरेको थियो।

अफगान सरकार प्रमुख र तालिबानका उच्च नेतासँग अमेरिकी राष्ट्रपति ट्रम्पले क्याम्प डेभिडमा गर्ने भनिएको गोप्य बैठक अन्तिम समयमा आएर स्थगित भएपछि अफगान राष्ट्रपति असरफ घानीको कार्यालयले पनि प्रतिक्रिया जनाएको छ।  तालिबानले युद्धविराम गर्न सहमति जाहेर गरे वा अफगान सरकारसँग प्रत्यक्ष वार्ता गरेमात्रै अफगानिस्तानमा सही मानेमा शान्ति स्थापना हुने राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति घानीको कार्यालयले अमेरिकाले गरेको सकारात्मक प्रयासको प्रशंसासमेत गरेको छ।

क्याम्प डेभिडमा तालिबानसँग प्रत्यक्ष बैठक भएको भए अमेरिकी राष्ट्रपतिले चालेको एक अनौठो कूटनीतिक कदम हुन्थ्यो किनभने सेप्टेम्बर ११ को १८ औं वर्षगाँठ अघि सो बैठक सम्पन्न हुन्थ्यो। यसअघि पनि विभिन्न शान्ति सम्झौता गरिएको ठाउँका रूपमा क्याम्प डेभिडलाई ऐतिहासिक थलोका रूपमा लिइन्छ। लगभग एक वर्षसम्म अमेरिकी विशेषदूत र तालिबानबीच पटकपटक वार्ता भएर निष्कर्षमा पुगेको शान्ति सम्झौता राष्ट्रपति ट्रम्पले शनिबार गरेको एउटा ट्विटले अन्त्य गरिदिएको छ। तालिबान विद्रोहीले अफगान सरकार अमेरिकी कठपुतली भएको भन्दै उसँग वार्ता गर्न अस्वीकार गरेपछि अमेरिका र तालिबानबीच कतारको राजधानी दोहामा कैयौं पटक बैठक भएको थियो।

‘दुर्भाग्य भन्नुपर्छ, झुटो सानका लागि तालिबानले काबुलमा गरेको आक्रमणमा हाम्रा एक महान सैनिकको मृत्यु भएको छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार साँझ गरेको ट्विट उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। ‘म तत्काल तालिबानसँगको बैठक स्थगित र शान्ति वार्ता रद्द भएको घोषणा गर्छु,’ ट्रम्पको ट्विटमा लेखिएको छ।

प्रस्तावित अमेरिका–तालिबान सम्झौताअनुसार अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना ५ हजार ४ सय सेना २० साताभित्र फिर्ता लाने र त्यसको बदलामा तालिबानले अफगानिस्तान अब कहिल्यै आतंकवादीको शिविरका रूपमा प्रयोग गर्न नदिने भन्ने विषय रहेको थियो। हाल अफगानिस्तानमा १४ हजार अमेरिकी सेना तैनाथ छन्।

प्रकाशित: २३ भाद्र २०७६ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App