८ वैशाख २०८१ शनिबार
अर्थ

दसैंका लागि ८१ हजार खसी तयार

बेलबारी–९ की गंगामाया श्रेष्ठको बाख्रा फर्ममा पालिएका खसी बाख्रा। तस्बिर : विनोद/नागरिक

विराटनगर – मोरङ बेलबारी–९ की लिला सुवेदीले दसैंमा बेच्नका लागि चावटा खसी तयार पारेकी छिन्। परिश्रमी उद्यमी महिला सहकारी संस्थामा आबद्ध भएर तीन वर्षदेखि बाख्रापालन गर्दै आएकी सुवेदीले दसैंमा बेच्नका लागि चारवटा खसी तायार पारेकी हुन्।

उनले मात्रै हैन वेलबारी–९ कै गंगा श्रेष्ठले पनि दसैंमा बिक्रीका लागि दुईवटा खसी तयार पारेकी छिन्। यस्तै बेलाबारीकै अर्का किसान दिलकुमार विष्टले दसैंका लागि १३ वटा खसी तयार पारेका छन्। बेलबारीका बाख्रपालक साना किसानले घरैपिच्छेजसो दसैंका लागि दुईदेखि १३ वटासम्म खसी बेच्नलाई तयारी हालतमा राखेका छन्।

बेलबारीका विभिन्न वडामा सहकारीमा आबद्ध भई हरेकजसो घरमा बाख्रापालन गरिएको छ। बाख्रापालक किसानमध्ये अधिकांशले दसैंलाई लक्षित गरी खसी बिक्रीको तयारी गरिरहेका छन्। सहकारीमार्फत नै खसीबाख्रा पनि बिक्री गर्दै आएकाले सहकारीले मागेका बेला उक्त खसी बिक्री गर्ने बाख्रापालक किसान लिला सुवेदीले बताइन्। उनले भनिन्, ‘दसैंका लागि तयार भएका खसी सहकारीले मागेको बेला बिक्री गर्छौं।’

सहकारीले नै बाख्रापालनका लागि ऋण दिने र सहकारीले नै बिक्रीका लागि बजारको प्रबन्ध पनि गरिदिने भएकाले आफूहरूलाई व्यवसाय विस्तार गर्न र बजारमा उत्पादन पु-याउन सहज भएको बाख्रापालक किसान गंगा श्रेष्ठले बताइन्। दसैंमा मासुको धेरै माग हुने भएकाले आफूहरूले पनि दसैंलाई लक्षित गरी खसी तयार पारेको उनले बताइन्। सहकारी संस्थामा आबद्ध किसानले पालेका खसी बाख्राको लगतसम्म राखिने भएकाले कुन परिवारले कति खसी बिक्रीका लागि तयार पारेका छन् भन्ने पनि सहकारीलाई थाहा हुने श्रेष्ठले बताइन्। सहकारीमा खसी, बाख्रा, पाठा, पाठी किन्नेले माग पठाउने हुँदा एकैपटक धेरै खसी बाख्रा बेच्नुपरे पनि सजिलो हुने उनले बताइन्।

बेलबारीको ६, ७, ८ र ९ नम्बर वडामा मात्रै महिला उद्यमी सहकारी संस्थामा दुई हजार एक सयभन्दा बढी किसान आबद्ध छन्। यी वडाका हरेकजसो किसानले बाख्रापालन थालेका छन्। बाख्रपालनबाट राम्रो आम्दानी हुने र बजारको समस्या नभएकाले व्यावसायिक बाख्रापालनतर्फ यहाँका किसान आकर्षित भएका हुन्। सहकारीका बजार व्यवस्थापक पोष्टबहादुर विष्टले किसानको घरबाटै जिउँदो खसी जोखेर प्रतिकिलो चार सय ५० रुपैयाँका दरले किन्ने गरिएको बताए।

मोरङमा मात्रै होइन झापा, सुनसरीलगायत देशका विभिन्न २६ जिल्लामा हेफर इन्टरनेसनलले प्रवद्र्धन गरेका सहकारीमार्फत ऋण लिएर र सीप सिकेर बाख्रापालन व्यवसायमा किसान जुटेका छन्। हेफरले प्रवद्र्धन गरेका सहकारीमार्फत बाख्रापालन व्यवसाय सुरू गरेका किसानले दसैंमा ८१ हजारभन्दा बढी खसी बिक्रीका लागि तयार परेका छन्। संस्थाले आफूले काम गरेका २६ जिल्लामा मात्रै दसैंलाई लक्षित गरी ८१ हजार तीन सय ३९ खसी बिक्रीका लागि तयार भएको जनाएको छ।

उद्यमी महिला सहकारी संस्थामार्फत नेपालका विभिन्न जिल्लामा नेटवर्क बनाएर व्यावसायिक बाख्रापालनमा किसानलाई प्रोत्साहन गर्दै आएको हेफर इन्टरनेसनल नेपालले दसैंका लागि विदेशबाट खसी आयात गर्न आवश्यक नभएको समेत दाबी गरेको छ।

हेफर इन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय इटहरीका क्षेत्रीय निर्देशक दिपेश पोखरेलले दसैंका लागि तयार भएका ८१ हजार खसीमध्ये २० हजार खसी काठमाडौं पठाउन सकिने बताए। उनले भने, ‘व्यापारी खरिद गर्न आए सहकारीले उत्पादन गरेका २० हजार खसी काठमाडौंका लागि उपलब्ध गराउन तयार छौं।’ दसैंका लागि काठमाडौंलाई २० हजार खसी पठाउँदा त्यहाँको माग करिब पूरा हुने पोखरेलले बताए।

नेपालकै उत्पादनलाई व्यवस्थापन गर्ने हो भने दसैंलाई आयातित खसीबोका आवश्यक नपर्ने उनको दाबी छ।   उनले  भने, ‘हेफरले प्रवद्र्धन गरेका सहकारीले मात्रै काठमाडौंका लागि २० हजार खसी दिँदा उपत्यकाको माग लगभग धान्नेछ।’ नेपाली खसी आयातित खसीको तुलनामा चखिलो र मिठो हुने भएकाले मासुका पारखीले नेपालकै उत्पादन रोज्ने गरेका छन्। ‘व्यावसायिक रुपमा खोरमा पालिएका खसी स्वस्थ हुने, धेरै बोसो नहुने र नौदेखि १२ महिना उमेरसम्मको हुने भएकाले स्वच्छ मासुका लागि उपयुक्त हुन्छ,’ उनले भने। 

काठमाडौंका व्यापारीले दसैंका लागि भारतबाट खसी ल्याउन सरकारलाई दबाब दिइरहेका छन्। काठमाडौंका लागि ३० हजार खसी अभाव हुने भन्दै व्यापारीले भारतबाट आयात गर्न पाउनु पर्ने माग गर्दै आएका छन्। अघिल्ला वर्ष भारत र चीनबाट दसैंका लागि भेडा, च्यांग्रा र खसी आयात हुने गरेको थियो।

खाद्यले तीन हजार किन्ने
नेपाल खाद्य संस्थानले दसैंमा काठमाडौंका लागि एक हजार खसी र दुई हजार च्यांग्रा ल्याउने तयारी गरेको छ। खाद्य संस्थानका खरिद विभाग प्रमुख सुरेन्द्रराज विष्टले संस्थानले दसैंका लागि हेटौंडाबाट पाँच सय र दाङबाट पाँच सय खसी काठमाडौंका लागि खरिद गर्ने तयारी गरेको छ।

यस्तै मुस्ताङबाट दुई हजार च्यांग्रा पनि खरिद गर्ने तयारी गरेको छ। काठमाडौंमा दसैंमा मासुको आपूर्ति सन्तुलनमा ल्याउने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि खसी र च्यांग्रा खरिद गर्ने तयारी गरिएको विष्टले जानकारी दिए। उनले भने, ‘स्वदेशी खसी तथा च्यांग्रा खरिद गरेर काठमाडौंमा आपूर्ति सन्तुलन गर्न लागिएको हो।’

उनका अनुसार गत वर्ष खाद्य संस्थानले दुई हजार खरिद गरेको थियो। काठमाडौंको मागअनुसार २०/३० हजार खसी खरिद गर्ने संस्थानको अवस्था नरहेको विष्टले स्पष्ट पारे। उनले काठमाडौंका लागि आवश्यक खसीबोका निजी क्षेत्रबाट उपलब्ध हुने जानकारी दिए।

प्रकाशित: २३ भाद्र २०७६ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App