७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रस्ताव पेस गर्ने समय एक साता

काठमाडौं – लगानी बोर्डले राष्ट्रिय गौरवको ७६२ मेगावाट क्षमताको जलायशयुक्त तमोर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न दुई कम्पनीसँग सिलबन्दी प्रस्ताव माग गरेको छ।

बोर्डले गत भदौ १० मा २१ दिनको म्याद राखेर जलविद्युत् विकास कम्पनी लिमिटेड–पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड जेभी तथा नेब्रास पावर कतार होल्डिङ–फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापान जेभीसँग सिलबन्दी प्रस्ताव माग गरेको थियो।

लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बोर्डको ३९ औं बैठकले चिनियाँ र जापानी कम्पनीसँग प्रस्ताव माग गर्ने निर्णय गरेको बताए। ‘पाँचवटा कम्पनीले तमोर जलविद्युत्् आयोजनाको डिपिआर अध्ययन गर्ने प्रस्ताव ल्याएका थिए,’ उनले भने, ‘बोर्डको बैठकले पाँचमध्ये दुईवटा उपयुक्त देखिएकाले प्रस्ताव ल्याउन अनुरोध गरेका छौं।’ उनका अनुसार दुईवटा कम्पनीले प्रस्ताव पेस गर्ने अन्तिम समय अब एक सातामात्रै बाँकी छ।

कार्यकारी निर्देशक अधिकारीले कम्पनीले पेस गरेको सिलबन्दी प्रस्ताव उपर प्राविधिक मूल्यांकन समितिले छनोट गरेसँगै डिपिआर निर्माण गर्ने जिम्मेवारी दिइने बताए। लगानी बोर्डले गत चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलनमा तमोर जलविद्युत् आयोजनालाई सोकेसमा राखेको थियो। 

तमोर जलविद्युत् आयोजनाका प्रमुख झलकराम सुवेदी तमोर जलविद्युत् आयोजनाको अपडेटेड सम्भाव्यता अध्ययन सम्पन्न भएको बताउँछन्। ‘लगानी बोर्डले तमोर जलविद्युत् आयोजनाका लागि लगानी जुटाउने काम गरिरहेको छ,’ उनले भने, ‘तमोर आयोजनाले भन्दा पनि अहिले लगानी बोर्डले काम गरिरहेको छ।’ उनका अनुसार अहिलेसम्म तमोर जलविद्युत् आयोजना कुन ढाँचामा निर्माण गर्ने अझैसम्म टुंगो लागेको छैन।

आयोजना प्रमुख सुवेदी आयोजनाले अहिले सहजीकरण बाहेक अन्य केही पनि काम नगरेको बताउँछन्। ‘गत वर्ष विभागसँग सर्वेक्षण अनुमति माग गरेका थियौं। तर, विभागले अनुमति दिएन,’ उनले भने, ‘उक्त आयोजना लगानी बोर्ड मातहत गएकाले पनि अनुमति प्राप्त गर्न नसकेका हौं। अब उक्त आयोजनाको सम्पूर्ण जिम्मेवारी लगानी बोर्डमा सरेको छ।’

सरकारले चालु आर्थिक वर्षको बजेटमा तमोर जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्ने योजना अघि सारेको थियो। ७६२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि १३४१.३९ मिलियन अमेरिकी डलर लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

आयोजनामा दुई सय १० मिटर अग्लो रकफिल ड्याम निर्माण गर्नुपर्ने हुन्छ। तमोर जलविद्युत् आयोजनामा पानीको डिस्चार्ज पाँच सय १७ क्युसेक हुनेछ। उक्त आयोजनाबाट उत्पादन भएको जलविद्युत् बसन्तपुर–तेह्रथुम ४०० केभीको प्रसारणलाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। उक्त प्रसारणलाइनको दूरी २६ किलोमिटर मात्रै हुनेछ।

कोशी रिभर बेसिन मास्टर प्लान गुरुयोजनाको अध्ययन गर्दा तमोरमा जलायुक्त आयोजनाबाट विद्युत् निकाल्न सकिने पहिचान भएको थियो। सडक विभागले तमोर जलविद्युत् आयोजना स्थल पुग्ने ट्र्याक सडक खोलिसकेको छ। त्यसैगरी मुलघाटदेखि आयोजनास्थलसम्म ३० किलोमिटरको सडक तयार गर्न लागिएको छ।

विस्तृत अध्ययन र डिजाइनको काम भइसकेको छ। तमोर जलविद्युत् आयोजनाबाट वार्षिक ३५७८ गिगावाट  आवर बिजुली उतपादन गर्न सकिनेछ। हिँउदको समयमा १०७३ गिगावाट आवर  बिजुली उत्पादन गर्न सकिनेछ। १२७ मेगावाटको ६ वटा टर्बाइनबाट बिजुली उत्पादन गर्न सकिनेछ। यो आयोजना तेह्रथुम, ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा क्षेत्रमा अवस्थित छ।

प्रकाशित: २३ भाद्र २०७६ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App