७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

फाइल तस्बिर

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ। प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट पक्षका नेताले पार्टीको काम चुस्त रुपमा अघि बढाउन दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन दबाब बढाएका हुन्। पार्टीमा दुईजना अध्यक्ष भए पनि कार्यकारी अधिकार ओलीले प्रयोग गर्दै आएका छन्।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागू गर्नुपर्ने बताउँदै सरकार पार्टी अध्यक्षको हैसियतले केपी शर्मा ओलीले चलाउनुपर्ने र पार्टी चलाउने कार्यकारी जिम्मा अर्का अध्यक्ष दाहाललाई दिनुपर्ने बताएका छन्। सचिवालय बैठकमा नेता माधवकुमार नेपालले पार्टीभित्र ‘एक पद, एक व्यक्ति’ को अवधारणा लागू हुनुपर्ने प्रस्ताव राखेका छन्। नेपालको प्रस्तावलाई बल पुग्नेगरी स्थायी कमिटी सदस्य ज्ञवालीले पनि सार्वजनिक रुपमै ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को अवधारणाअनुसार पार्टी चल्नुपर्ने बताएका हुन्।

नेकपाका अर्का नेता एवं कृषिमन्त्री चक्रपाणि खनालले पनि दाहाललाई कार्यकारी अधिकारसहित पार्टी चलाउन दिनुपर्ने र ओलीले सरकार चलाउनुपर्ने बताउँदै आएका छन्। अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि नेताहरुको जिम्मेवारी ठोस र मूर्त हुनुपर्ने धारणा राख्दै आएका छन्। ‘नेताहरुको जिम्मेवारी ठोस र मूर्त भयो भने कामको परिणाम राम्रो निस्कन्छ’, पौडेलले भने, ‘त्यसो हुँदा जिम्मेवारी पाएको व्यक्तिलाई कामको स्वामित्व, अपनत्व र जिम्मेवारीबोध बढी हुन्छ।’

उनका अनुसार प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि नै धेरै लचिलो देखिएको अनुभूति भएको छ। पार्टीका अर्का अध्यक्ष दाहाललाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिनु, क्याबिनेट बैठक भिडियो कन्फरेन्समार्फत गर्नु जस्ता कुराले ओली धेरै लचिलो भएको प्रस्ट भएको पौडेलले बताए।

‘पार्टी र सरकार उत्तिकै जिम्मेवारीबोधका साथ सञ्चालन गर्नुपर्ने विषय हुन्। त्यसकारण पार्टी र सरकारको कार्यविभाजन गर्दा एकले अर्कालाई सुझाव र सहयोग दिने गरी ठोस कार्यविभाजन गर्दा राम्रो हुन्छ’, पौडेलले भने।

प्रकाशित: २३ भाद्र २०७६ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App