६ वैशाख २०८१ बिहीबार
समाज

डेंगी पोजेटिभ बिरामी बढ्दै

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगीका बिरामीको चाप बढ्न थालेको छ। अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले भदौ लागेसँगै डेंगी लागेका बिरामीको चाप ह्वात्तै बढेको बताए।

उनका अनुसार अस्पतालमा उपचार गर्न आएका तीन सय ६३ जनामध्ये रगतको जाँच गर्दा एक सय ९४ जनामा डेंगीको संक्रमण (पोजेटिभ) रहेको पाइएको छ। अन्य २१ जनाको रगत परीक्षणका लागि ल्याबमा पठाएकाले त्यसका विषयमा आइतबारमात्र थाहा हुने पाण्डेको भनाइ छ।

सरुवा रोग अस्पतालमा मात्र होइन पछिल्लो समय देशभरका सयौं व्यक्तिमा डेंगी पोजेटिभ देखिएको छ। यसको विवरण संकलन गर्ने काम भइरहेको महामारी तथा रोग नियन्त्रण महाशाखाको छ।

डेंगी रोगको प्रकोप बढेसँगै डेंगी लागेको हो कि होइन भनी पत्ता लगाउन प्रयोग गरिने परीक्षण ‘किट’ को कालाबजारी भइरहेको पाइएको छ। डेंगीको महामारी फैलिएसँगै पाँच सय पर्ने परीक्षण किट तीन हजार रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको हो।

किटको कालाबजारी मात्र होइन जथाभावी प्रयोग गर्ने प्रवृत्ति बढेको पाइएको महामारी तथा रोग नियन्त्रण महाशाखा निर्देशक विवेककुमार लालले बताए। उनका अनुसार डेंगी प्रकोप भएको क्षेत्रमा किटको कालाबजारी भएको सुन्नमा आएकाले यसलाई रोक्न सरोकारवाला निकाय तत्काल अग्रसर हुनुपर्छ।’

प्रकाशित: २३ भाद्र २०७६ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App