६ वैशाख २०८१ बिहीबार
शिक्षा

भूकम्पमा भत्किएका सबै विद्यालय ठडिए, ‘रिसोर्टजस्ता स्कुल’

भूकम्पपछि पुन निर्माण भएको जनशक्ति माविको भवन ।

गोरखा– भूकम्पमा भत्किएको सबै विद्यालय चार वर्षभित्र ठडिएका छन्। केन्द्रबिन्दु जिल्लामा भूकम्प जाँदाको समयमा रहेका विद्यालय, कक्षाकोठा र शौचालय सबै निर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ। ‘भत्किएको कक्षाकोठा सबै बन्यो, पहिले पनि अभाव रहेका कक्षाकोठा भने बन्न बाँकी छ केही निर्माण हुँदैछ’, आयोजना कार्यान्वयन इकाई प्रमुख विष्णु प्रसाद मिश्रले भने।

२०७२ को भूकम्पमा चार सय ९० वटा विद्यालय रहेको यहाँ तीन हजार ५२ पूर्ण क्षति र एक हजार ८५ मा आंशिक क्षति पुग्यो। त्रिपाल, टेन्ट र टहरामा पुरा २ वर्ष समय गुजारेका विद्यार्थी त्यसयता चार वर्षसम्म सबै पक्की भबनमा पढ्न थालेका छन्। अहिले भत्किएको सबै विद्यालय ठडिएको छ। ‘विद्यालय रिसोर्ट जस्तो बनेको छ, अब यहाँको गुणस्तर बढाएर निजी विद्यालयमा जस्तै बालबालिका र अविभाबकलाई उत्साहित गराउनुपर्छ’, पुन निर्माण पुरा भएको पहिलो विद्यालयको शिलान्यास गर्न आउँदा शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले भनेका थिए। अहिले गोरखाका सबै विद्यालय ‘रिसोर्ट’ जस्तै बनेको छ। गाउँगाउँमा ठुला, स्तरीय, रातको समयमा पनि झिलिमिली, सफा शौचालय, पिउने पानीको ब्यवस्था भएको, राम्रो खेलमैदान, कम्पाण्ड गरेर चिटिक्क पारिएको विद्यालय भबन छ। 

२०७३/०७४ र २०७४/७५ मा र एक सय ९८ विद्यालय पुन निर्माण भयो। २०७५/०७६ मा ८९ विद्यालय र ७० विद्यालयमा शौचालय निर्माण सुरु भयो। चालु वर्ष ६० विद्यालयमा भबन र ७० वटा शौचालय निर्माण हुँदैछ। ‘यो पुन निर्माण बाँकी होइन, सबै विद्यालयमा शौचालय र कक्षाकोठा भूकम्पमा भत्किएजति बनिसक्यो’, ईकाई प्रमुख मिश्रले भने, ‘यो माग अनुसार थप गरिएको हो।’ कक्षाकोठा अभाव हुन नदिन, विद्यार्थीको चाप अनुसार सुविधा सम्पन्न ब्यवस्थित शौचालय निर्माण, घेराबार लगायतका कामलाई जिल्ला आयोजना कार्यान्वयन इकाईले अगाडि बढाएको छ। अब एक सय २० वटा विद्यालयलाई थप कक्षाकोठा आवश्यक रहेको इकाईले जनाएको छ। 

दाताले जिम्मा लिएका अधुरा  

भारत सरकारले जिम्मा लिएको गोरखाका १० विद्यालय मध्ये अब ८ वटा मात्रै बन्ने भएको छ। भौगोलिक बिकट र जग्गा अभावको कारण देखाउँदै दुर्गमका दुईवटा विद्यालय निर्माणमा भारत सरकारले हात झिक्यो। आठ वटा मध्ये तीनवटाको मात्रै काम सुरु भएको छ भने पाँचवटाको अझै सुरु भएको छैन। सर्वे सकिएको पाँचवटा विद्यालयको टेण्डर हुन बाँकी रहेको आयोजना कार्यन्वयन इकाई शिक्षका इकाई प्रमुख मिश्रले बताए। गत वर्ष भारतीय दूताबासले जिम्मा लिएका विद्यालयको पुन निर्माण सुरु नगर्दा ५३ करोड रुपैयाँ खर्च हुन सकेको थिएन। 

चीन सरकारले जिम्मा लिएको एउटा विद्यालय निर्माणको अहिलेसम्म सर्वे भएको छैन। लायन्स क्लवले निर्माण जिम्मा लिएको चारमध्ये दुई मात्रै पुरा भएको छ। गुड नेभर इन्टरनेशनलले सात मध्ये दुई वटा विद्यालयको निर्माण पुरा गर्न बाँकी छ। ६१ वटा विद्यालय पुन निर्माणको जिम्मा लिएको जाईकाले धमाधम निर्माण पुरा गर्दै हस्तान्तरण गरिरहेको छ। 
 

प्रकाशित: २२ भाद्र २०७६ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App