coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोशी–ल्हासा राजमार्गः पाँच किलोमिटर पार गर्न एक दिन लाग्ने

खाँदबारी– सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्कने राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्ग अन्तर्गत पर्ने छ किलोमिटर सडक पार गर्न औसतमा पाँच घण्टा लाग्ने गरेको छ।     

सडक खण्डभरि खाल्डो र हिलाम्मे भएकाले आवत–जावत गर्न पाँच घण्टादेखि कहिलेकाहीँ एक दिनसमेत लाग्ने गर्दछ। हिलाम्मे सडकमा फसेको गाडी निकाल्न नसकेमा रातसमेत त्यहीँ बित्ने गरेको सवारी चालक बताउँछन्। त्यति मात्रै होइन, सदरमुकाम खाँदबारी चैनपुरबाट धनकुटा, धरान, विराटनगर, काठमाडौं र सङ्खुवासभा फर्किएका यात्रु टुटेदेउराली–मुडे सडकखण्ड बीचमा नै अलपत्रमा परेका छन्।     

टुटेदेउरालीदेखि मुडेसम्म तीन–चार किलोमिटर सडकको दोबाटे र गिद्रे भन्ने ठाउँमा गाडी पार गर्न नसकेमा त्यहीँ बास हुने गरेको ती यात्रुको गुनासो छ। प्रायः जसो पानी परिरहने भएकाले जहिल्यै सडक हिलाम्मे भइरहने गर्दछ। हिलाम्मे सडकमा जबर्जस्ती ठूला–ठूला ढुवानीका साधन ट्रक र ट्र्याक्टरले बाटो बिगारेका छन्।

मोटरसाइकल र साना–साना यात्री बोक्ने सवारी साधन आवत–जावत गर्न मुस्किल छ। सडकको दायाँबायाँ पूर्णरूपमा हिलाम्मे भएकाले पैदल हिँड्ने यात्रुसमेतलाई आवत–जावत गर्न समस्या भएको, काम गर्दागर्दै ठेकेदारले काम बन्द गरेकाले झन् समस्या बल्झिएको मुडेका स्थानीयवासी माधव सुवेदीले बताए।     

कोशी–ल्हासा राजमार्ग अन्तर्गत पर्ने सडक मर्मतसम्भार र कालोपत्र गर्ने काम सङ्घीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालयको जिम्मेवारीमा रहेको छ। यो सडक धर्मदेवी नगरपालिकाभित्र पर्ने भएकाले गन्तव्यमा हिँडेका यात्रुको बीच बाटोमा नै अलपत्र नहोस् भनेर फसेको गाडी निकाल्नका लागि नगरपालिकाको एस्काभेटर प्रयोग गरेर निकाल्न सहयोग गरिरहेको नगरपालिकाका प्रमुख रमेशकुमार जिमीले बताए।

सडकको अवस्था दर्दनाक भएकाले कालोपत्र गर्नका लागि सरोकारवाला सबैलाई ध्यानाकर्षण गराउँदै आएको तर सुनुवाइ नभएको उनले गुनासो गरे।     

जिल्ला सडक डिभिजन कार्यालय तुम्लिङाटारले ०७३ भदौमा टुटेदेउरालीबाट मुडेसम्म जम्मा १० किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा याक्थुम्हाङ निर्माण सेवा पाँचथरलाई दिएको थियो । २६ करोड रुपैयाँको लागतमा याक्थुम्हाङले ०७५ भदौसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो।

समयावधिभित्र काम नसकेपछि ०७५ चैत्र मसान्तसम्म दोस्रो पटक म्याद थप भएको थियो। त्यो अवधिमा पनि काम सम्पन्न नगरेपछि याक्थुम्हाङ निर्माण सेवालाई गत साउनमा १४ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको तुम्लिङटार डिभिजन सडक कार्यालयका प्रमुख कुवेर नेपालीले बताए।     

कालोपत्र गर्ने जिम्मा लिएको याक्थुम्हाङ निर्माण सेवालाई ताकेता गरिरहेकोले, अब पानी पर्न कम भएपछि लगातार काम थाल्ने सडक कार्यालयका प्रमुख नेपालीले बताए। याक्थुम्हाङको अब आउने जेठसम्म समयसीमा छ। यो समयभित्र सबै काम सक्नुपर्छ।

बर्खाको समयमा निरन्तर पानी परेर नियमित काम नभए पनि गाडी आवत–जावतमा सहज पार्न याक्थुम्हाङलाई एउटा एस्काभेटर तयारी अवस्थामा त्यही राख्न भनेको डिभिजन प्रमुख नेपालीको भनाइ छ।     

मोरङको जोगमुनीदेखि उत्तरी तिब्बती नाका किमाथाङ्कासम्म जोडिने कोशी–ल्हासा राजमार्गसमेत भएकाले सबैले महत्वका साथ हेरेका छन्। किमाथाङ्का नाका जोडिनाका साथै बहुचर्चित नौं सय मेगावाट अरुण तेस्रो आयोजना जाने सडकसमेत यहीँ भएकाले सडकको बिग्रँदो अवस्थाले सामान ढुवानी गर्न समस्या भइरहेको स्थानीय व्यापारीले बताउने गरेका छन्।

त्यसैले पनि जतिसक्दो चाँडो यो सडक कालोपत्र गरिनुपर्ने सरोकारवालाको भनाइ छ।रासस

प्रकाशित: २२ भाद्र २०७६ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App