१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'पशुपतिमा राष्ट्रिय गान बज्दा दाहसंस्कार गर्न आएको मान्छे पनि उभिने?'

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रमभन्दा पहिला अनिवार्य रुपमा राष्ट्रिय गान गाउनुपर्ने निर्देशन धर्म, संस्कृति र परम्परा विरोधी भएको बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रधानले पशुपतिमा आरतीमात्रै नभई आर्यघाटमा दाहसंस्कार पनि हुने गरेको र राष्ट्रिय गान बजाउने चलन असान्दर्भिक रहेको बताए। पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी तथा किरीयापुत्रीहरु पनि हुने भएकाले दुःखको समयमा रहेका र दाहसंस्कारमा रहेकाहरुले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने भन्दै सरकारको निर्णयले राष्ट्रिय गानकै अनादर गरेको उनकाे भनाइ छ।

‘पशुपतिमा आरती मात्र हुँदैन। आर्यघाटमा दाहसंस्कार लागि मान्छे आउँछ। राष्ट्रिय गान गाउँदा त उभिनुपर्छ। के राष्ट्रिय गान बज्यो भनेर दाहसंस्कार गरिरहेको पुत्र वा पुत्रीले उभिने त? यस्तो पनि हुन्छ?’ उनले पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रश्न गरे। 

पशुपतिमा विश्वभरबाट करोडौं हिन्दू भक्तजन पनि आउने गरेको भन्दै उनले थपे, ‘उ त हाम्रो राष्ट्रिय गान सुनेर उभिँदैन।’ 

सांसद प्रधानले पशुपतिमा राष्ट्रिय गान बजाउने निर्णयमा पुनर्विचार गर्न पनि मागरे। ‘यसरी गरिमा हुँदैन, अनादर पैदा हुन्छ। यो पञ्चायत जस्तै भयो’, उनले भने। 

‘राष्ट्रियगान त राष्ट्रपति, प्रधानमन्त्री जाने कार्यक्रममा पो त बजाउनुपर्ने हो’, उनले थपे, ‘घण्टाघर अगाडि मुस्लिम समुदायले नवाज पढ्नुअघि राष्ट्रिय गान भन्न मान्छ?’

सांसद प्रधानले राष्ट्रिय गान संशोधनको प्रस्ताव समेत गरे। ‘अन्तिममा जय जय नेपाल होइन, जय नेपाल राखौं, सबैको जय हुन्छ, संविधान संशोधन गरौं’, उनले भने। 

प्रकाशित: २२ भाद्र २०७६ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App