ग्याष्ट्रिकले अनुहारको सुन्दरतामा असर गर्छ भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर ग्याष्ट्रिकले व्यक्तिको सुन्दरतामा समेत असर पुर्याउने चिकित्सक बताउँछन् । ग्याष्ट्रिक र यसले व्यक्तिको सुन्दरतामा पुर्याउने नकारात्मक असरको विषयमा होलिस्टिक ग्रुप अफ कम्पनीका अध्यक्ष डा. डीबी सुनुवारसँग नागरिक परिवारकर्मी उपेन्द्र खड्काले गरेको कुराकानी ।
ग्याष्ट्रिक कस्तो किसिमको समस्या हो ?
ग्याष्ट्रिक अधिकांश नेपालीलाई हुने समस्या हो । हामीले खाने खाना सन्तुलित रुपमा पचाउन नसक्दा ग्याष्ट्रिक हुन्छ । ग्याष्ट्रिकले सताउँदा व्यक्तिको सुन्दरतामा समेत असर पुग्छ ।
त्यसो भए ग्याष्ट्रिक कसरी हुन्छ त ?
हामीले खाएको खाना खानानलीकै माध्यमबाट पेटसम्म पुग्छ । पेटमा पुगेको खाना पाचन प्रक्रियाले पचाउने काम गर्छ । यस्तो खाना पचाउने प्रक्रियामा अवरोध हुँदा वा सो प्रक्रिया निष्क्रिय हुँदा ग्याष्ट्रिक हुन सक्छ ।
अनुहारको सुन्दरतामा पनि ग्याष्ट्रिकको सम्बन्ध हुन्छ ?
ग्याष्ट्रिक बिग्रनुको अर्थ हाम्रो शरीरको सम्पूर्ण रुपले पाचन प्रक्रिया तथा प्रणाली नै बिग्रनु हो । पाचन प्रक्रिया बिग्रिएको लक्षण अनुहारले पनि देखाउँछ ।
शरीरको भित्री अंग आफैँ बोल्दैन तर अनुहारमा लक्षणको आधारमा समस्याको भाव झल्कन्छ । ग्याष्ट्रिकको समस्या भएको व्यक्तिको अनुहार मधुरो, निरासाजनक, अँध्यारो किसिमको हुन्छ, भने स्वस्थ व्यक्तिको अनुहारमा चमकता हुन्छ । स्वस्थ व्यक्तिको अनुहार हेर्दा हृष्ट–पुष्ट, रसिलो, पोषिलो र हँसिलो हुन्छ । यसरी ग्याष्ट्रिक भएको व्यक्तिको भाव अनुहारमा झल्कन्छ ।
ग्याष्ट्रिकको पीडा र भाव अनुहारमा कसरी झल्कन्छ त ?
अनुहारको मांशपेशी तथा रक्तनली पेटसम्म पुगेको हुन्छ । ग्याष्ट्रिकको समस्या भएका व्यक्तिलाई दुखाइको पीडा हुँदा त्यस्ता मांसपेशी तथा रक्तनलीमार्फत अनुहारमा सिधै पीडाको प्रतिक्रिया हुन्छ ।
ग्याष्ट्रिकले अनुहारको मांसपेशीमा पनि असर पुग्छ ?
ग्याष्ट्रिक भएको खण्डमा ग्याष्ट्रिकको पीडाले अनुहारमा चमकता त हराउने नै भयो । ग्याष्ट्रिकको कारण पोषण तत्वको कमी भएर अनुहारलगायत शरीरका मांशपेशी नै खुम्चन्छन् । मांशपेशी नै खुम्चिएपछि अनुहारको चमकता हराउँछ ।
मांशपेशीमा असर भयो भने अनुहारमा के–कस्ता समस्या निम्तिन्छन् ?
शरीरमा सहजरुपमा रक्तसञ्चार नहुँदा अनुहारमा आवश्यक पोषण तत्व पुग्दैन । जसले अनुहार फिक्का र सुख्खा देखिन्छ । मांसपेशी नै कमजोर भएपछि अनुहारमा पानीको मात्रा कम हुन्छ । जसले अनुहारमा भएको विकारसमेत बाहिर जान पाउँदैन । त्यसैले अनुहार सुन्दर देखिनुको सट्टा कुरुपता निम्त्याउँछ, शारीरिक मजबुती नहुँदा व्यक्ति सिथिल बन्छ । जोस जाँगर नै हराउँछ ।
ग्याष्ट्रिकले शारीरिक रुपमा मात्रै असर गर्छ कि मानसिक रुपमा पनि असर गर्छ ?
ग्याष्ट्रिकले शरीरमा पोषणतत्वको कमी हुँदा अनुहार मात्रै हैन शारीरिक अंग नै कुरुप हुने जोखिम हुन्छ । ग्याष्ट्रिक भएको खण्डमा शरीरले पोषण तत्व सोस्नै पाउँदैन, जसले मानसिक तनावसमेत उत्पन्न गर्छ । मानसिक तनाव उत्पन्न भई व्यक्तिमा निरासाको अवस्था सृजित हुन्छ । जुन निरासा बढ्दै जाँदा व्यक्तिको अनुहारमा खुसी क्षय हुँदै जान्छ ।
ग्याष्ट्रिक हुने कारण र ग्याष्ट्रिकलाई हेल्चेक्र्याईँ गर्दा हुने जोखिम के–कस्ता हुन्छन् ?
पौष्टिक तत्व सोस्नका लागि आवश्यक पर्ने हर्मोनले काम नगर्दा खाएको खानाको पौष्टिक तत्व शरीरले सोस्न पाउँदैन । अर्कोतर्फ खाना कडारुपमा रहिरहन्छ । खानाको त्यो कडापनले पेट पाछिने समस्या हुन्छ । यही क्रम निरन्तर भइरहँदा पेटमा ग्याष्ट्रिक भई अल्सरको रुपमा परिणत हुन्छ । अल्सरै भएपछि दुखाइ त हुने नै भयो । ग्याष्ट्रिकबाटै घाउ भएर क्यान्सर हुनेजस्तो जोखिम हुन्छ । त्यसैले ग्याष्ट्रिक त हो ठूलो रोग होइन भनेर हेल्चेक्र्याइँ गर्नु हुन्न ।
लामो समय ग्याष्ट्रिकको औषधि खाँदा पनि असर हुन्छ ?
चिकित्सकको सल्लाहविना जथाभावी ग्याष्ट्रिकको औषधि खान हुन्न । जथाभावी लामो समयसम्म ग्याष्ट्रिकको औषधि सेवन गर्दा पेटको आमाशयको अम्लियपन कम भएर शरीरभरि संक्रमण फैलिने डर हुन्छ । पेटमा हुने अम्लियपनले पेटमा प्रवेश गर्दै गरेका जीवाणु मार्छ । निरन्तर औषधि खाँदा भने पेटको अम्लियपन कम भएर जीवाणुले असर गर्ने जोखिम हुन्छ । हड्डीमा पनि समस्या हुन सक्छ । ग्याष्ट्रिक आफैँमा रोग नभई विभिन्न समस्याको लक्षण हो । त्यसैले यसलाई हेल्चेक्र्याइँ त गर्नै हुन्न ।
त्यसो भए ग्याष्ट्रिकबाट बच्न के कस्ता उपाय अपनाउन सकिन्छ ?
ग्याष्ट्रिकबाट बच्ने विभिन्न उपाय छन् । ग्याष्ट्रिकबाट बच्न प्रथमतः सन्तुलित भोजनमा जोड दिनुपर्छ । स्वस्थ तथा ताजा खाना खानुपर्छ । प्रशस्त मात्रामा पानी पिउनु पर्छ । प्रशस्त मात्रामा पानी पिउनाले ग्याष्ट्रिक मात्रै हैन शरीरका धेरै समस्याबाट बच्न सकिन्छ । पानी प्रशस्त पिउनाले अनुहारमा पोषणतत्व राम्रोसँग पुग्ने भएकाले अनुहारमा चमकता आउँछ । ग्याष्ट्रिकबाट बच्न फुड सप्लिमेन्ट, डायटरी सप्लिमेन्ट, हर्वल सप्लिमेन्टजस्ता खाद्यपुरक पदार्थ आवश्यक हुन्छ । ग्याष्ट्रिक भएको खण्डमा विभिन्न उपचार विधि अपनाउन सकिन्छ ।
आधुनिक चिकित्सकीय उपचार विधि त छँदै छ, त्यसबाहेक प्राकृतिक उपचार विधि पनि अपनाउन सकिन्छ । उपचार मात्रै हैन ग्याष्ट्रिकै नलागोस् भनी जडिबुटीको प्रयोग गर्न सकिन्छ । हाम्रै गाउँघरमा पाइने कतिपय जडिबुटीको प्रयोगले पनि ग्याष्ट्रिक हुनबाट बच्न सकिन्छ ।
ग्याष्ट्रिक ठीक पार्ने के–कस्ता जडिबुटी पाइन्छन् त ?
हो, केही यस्ता जडिबुडी हुन्छन् जसले ग्याष्ट्रिक ठीक पार्न मद्दत गर्छ । उदाहरणको रुपमा ‘स्पिरुलिना’लाई लिन सकिन्छ । समुद्रमा पाइने एक प्रकारको हरियो प्रजातिको ‘स्पिरुलिना’ झार प्रयोग गर्नाले पनि ग्याष्ट्रिक कम हुन्छ । ‘स्पिरुलिना’लाई नै वैज्ञानिकले ‘अल्गि’ भनेर नामकरण गरे । सन्तुलित रुपमा ‘स्पिरुलिना’ खानाले पाचन प्रक्रियामा आवश्यक पोषण तत्व पुग्ने भएर ग्याष्ट्रिकलाई कम गर्न सहयोग पुग्छ ।
‘स्पिरुलिना’मा पाइने तत्व आमाको दूधमा पनि पाइन्छ भनिन्छ, के यो साँच्चै हो ?
हो । ‘स्पिरुलिना’मा ‘जिएलए’ नामक तत्व पाइन्छ । ‘जिएलए’को पूरा रुप ‘गामालिनोलिक एसिड’ हो । यो महिलाको दूधमा पाइन्छ भन्ने अध्ययन भएको पाइन्छ । यसर्थ ‘जिएलए’ तत्व आमाको दूधमा पाइने तत्व हो । जुत तत्व शिशुले आमाको दूधको माध्यमबाट सेवन गर्छ । यो तत्वले शिशुको पाचन प्रक्रियामा पनि सहजता ल्याउने भएकाले शिशुलाई तीन वर्षसम्म स्तनपान गराउँदा शिशुलाई पनि ग्याष्ट्रिकको समस्याबाट बचाउन सकिन्छ । त्यसैले सरकारले आमाको दूध नवजात शिशुलाई खुवाउनुपर्छ भनेर राष्ट्रिय अभियानै सुरु गरेको छ ।
‘स्पिरुलिना’ कसरी खाइन्छ त ?
‘स्पिरुलिना’ खानाको उदाहरणको रुपमा विशेषगरी जापनिज खाना ‘सुसी’लाई लिन सकिन्छ । खानाको बाहिरी हरियो भाग समुद्रको लेउ ‘सिविड्स’ भन्ने सामुद्रिक झारको रोटिबाट ‘सुसी’ बनेको हुन्छ । ‘स्पिरुलिना’ सिविड्स प्रजातिकै झार हो । यो झार बिहान–बेलुका खान सकिन्छ । बिहान २ र बेलुकी २ क्याप्सुल खानु ग्याष्ट्रिकका लागि उपयोगी हुन्छ । ग्याष्ट्रिक मात्रै हैन यसको सेवनले सुन्दरतामा समेत सहयोग गर्छ । ‘स्पिरुलिना’ जडिबुटीले नकारात्मक असर गर्दैन । यो जडिबुटी सुरुमा प्राकृतिक चिकित्सकको सल्लाहमा खानु उचित हुन्छ ।
समुद्री झार ‘स्पिरुलिना’ नेपाली बजारमा पाइन सम्भव छ त ?
‘स्पिरुलिना’ पछिल्लो समय नेपाली बजारमा पनि प्रशस्तै मात्रामा पाइन थालेको छ । सुपर मार्केट तथा प्राकृतिक चिकित्सालयमा पनि यो पाइन्छ ।
ग्याष्ट्रिबाट बच्न सन्तुलित खानपानका साथै नियमित व्यायामको पनि आवश्यकता पर्छ । नियमित व्यायाम गर्नाले अनुहारमा मात्रै चमकता आउँदैन शरीर नै स्वस्थ र फिट हुन सहयोग पुग्छ ।
प्रकाशित: २२ भाद्र २०७६ ०८:३५ आइतबार