५ वैशाख २०८१ बुधबार
अन्य

इन्टरनेट, स्मार्ट फोन र बालबालिका /किशोर किशोरीहरु

हालै प्लेयर अननोन ब्याटल ग्राउन्ड वा छोटकरीमा (पीउबिजी) भनिने भिडियो गेम सरकारले बन्द गर्‍यो भन्ने सूचना आयो । केही पत्रपत्रिकाले यसबारे समाचार लेखे । यो भिडियो अभिभावकहरुको अनुरोधमा बन्द गरिएको रे । खेल बन्द भयो भनेको ३ दिनपछि एकजना २४ वर्षका विवाहित पुरुष जँचाउन आए ।

उनको समस्या भनेको राति ३/४ बजेसम्म इन्टरनेटमा (पिउबिजी) खेल्ने, त्यसपछि सुत्ने र दिउँसो ११ बजेतिर उठ्ने, घरको काममा ध्यान नदिने रहेछ । उनका बुवालाई छोरालाई कसरी समयमा सुत्ने, समयमै उठ्ने र केही काममा सघाउने बनाउन सकिन्छ भन्ने इच्छा रहेछ र जचाउन लिएर आएका रहेछन् ।

ती युवाको भनाइअनुसार यो (पिउबिजी) खेल युद्घ गर्ने कलाको खेल हो । एउटा गेम खेल्न ३०/४० मिनेट लाग्छ, युद्घमा आक्रमण गर्ने, मार्ने र जित्ने कला सिकिन्छ रे । ३/४ गेम हरेक दिन खेल्छन् रे अर्थात् यो खेल किशोरकिशोरीदेखि युवायुवतीसमेत खेल्ने र रमाउने रहेछन् ।

(पिउबिजी) मा जस्तै  स्मार्ट  फोनमा खेल्ने खेलहरु लगातार खेल्दा यसको लत लाग्छ । यो लत लागेपछि त खेल खेल्न छोड्ने मन लाग्दैन, छोड्नै कठिन हुन्छ । दिनमा ४/५ घण्टा यस्ता गेम खेलेपछि कतिबेला पढ्ने या होमवर्क गर्ने, कतिबेला सुत्ने, गेम खेल्दाखेल्दा ढिलो सुतेपछि निद्रा नपुग्ने नै भयो । निद्रा नपुगेपछि त्यसको असर अर्कोतिर भनौं दिनमा पर्न जान्छ । राति निद्रा नलागेपछि अर्को दिन काम गर्न सकिँदैन । शरीर गले जस्तो भारी भए जस्तो हुन्छ ।  

यस खेलले केटाकेटी वा किशोरकिशोरीको मस्तिष्कको विकास नहुनुका साथै मनोवैज्ञानिक असरसमेत पर्न जान्छ । यसका असरहरु :
१) भावनात्मक विकास (इमोसनल डेभलपमेन्ट)
२) सामाजिक व्यवहार गर्ने व्यहोराको विकास (सोसियल एण्ड बिहेवियर डेभलपमेन्ट)
३) सोच्ने, बुझ्ने, हिसाब गर्ने, निर्णय लिने र तर्क गर्ने तरिकाको विकास (कग्निटिभ डेभलपमेन्ट)
४) शारिरिक विकास (फिजिकल डेभलपमेन्ट ) र
५) नैतिक विकास (मोरल डेभलपमेन्ट) को कुरा गरिन्छ र समग्रमा यिनीहरु कसरी विकास भइरहेका छन् भन्ने हेरिन्छ ।

(पिउबिजी) कै कुरा ग¥यौं भने खेल जसरी भए पनि जित्नै पर्ने, जित्न नसक्दा पटक–पटक खेल्न मन लाग्ने, खेलमा आक्रमण गर्ने र मार्ने मनोवैज्ञानिक असर वास्तविक जीवनमा पनि परेको भेटियो । जस्तैः छिट्टै रिसाउने, भनेको नमान्ने, आक्रामक व्यवहार देखाउने र पढ्न, होमवर्क गर्नलाई ध्यानकेन्द्रित गर्न नसक्ने आदि ।

यो त सबैले जानेकै कुरा हो जुन कुरा धेरै खेलिन्छ, धेरै प्राक्टिस गरिन्छ या धेरै प्रयोग गरिन्छ त्यसको आदत पर्छ र आदत परिसकेपछि छोड्न कठिन हुन्छ । संगीत, नृत्य, फुटबल, क्रिकेट आदि धेरै प्राक्टिस गरे त कलाकार वा खेलाडी होलान् तर भिडियो गेम्सको लतले नोक्सान मात्र गर्ने हो ।

इन्टरनेट आदिको लतले मानसिक तनाव त दिन्छ नै चिन्तारोग र डिप्रेसनजस्ता समस्या देखिन्छन्, यसको लतले पढाइमा ध्यान जाँदैन र असफल हुन्छन् । तिनीहरुले घरको कुनै जिम्मेवारी वहन गर्दैनन् । तिनीहरुले घरपरिवारमा झगडाको बीउ रोप्छन् र आर्थिक समस्या त हुने नै भयो । जो पीडित छन् तिनीहरु समाजमा मिलेर बस्न सक्दैनन् ।

इन्टरनेटमा चाह्यो भने जे पनि हेर्न सकिने उनीहरुले बताउँछन् ।  किशोरकिशोरीहरु त आफ्नो कोठाको ढोका बन्द गरेर राति घण्टौंसम्म इन्टरनेट चलाउँछन्, नेट बन्द गरिदियो भने अभिभावकसँग रिसाउँछन् ।  अभिभावकहरु भन्नु हुन्छ । यस्तो हेर्नु त लत हो । यौनजन्य क्रियाकलाप किशोर किशोरीको उमेरमा हेर्ने र जान्ने उत्सुकता हुन्छ, तर हेर्ने, सिक्ने र प्रयोग गर्ने इच्छा बढ्दै जाने पनि त हुन्छ । यस्तै कारणले पछि गएर यौनजन्य समस्या पनि देखिन लाग्छन् ।

जो बालबालिका वा किशोरकिशोरीहरुले आफ्नो घरमा, स्कूलमा वा अन्य ठाउँमा कुटपिट, यातना वा हिंसाको पीडा भोगेका हुन्छन् । उनीहरु पछि गएर त्यस्तै हिंस्रक बन्छन् भन्ने विश्वास गरिन्छ । त्यस्तै घरको वातावरण राम्रो छैन भने मानसिक स्वास्थ्य समस्याहरु हुने सम्भावना पनि बढ्छ ।

जन्मिनुभन्दा ३ महिनाअघिदेखि अर्थात् गर्भमा हुँदैदेखि नै आमाका भावनाहरु के कस्ता छन, आमामा मानसिक तनाव छ वा छैन तीनको असर गर्भको बच्चामा पर्छ । जन्मेपछि त आमाबाबु तथा अन्य सदस्यहरुको भावनात्मक प्रभाव झन् बढी पर्छ । आमाले बच्चालाई के कस्तो तरिकाले हुर्काउँदै छिन् वा पालनपोषण गर्दै छिन् त्यसको असर बच्चाको जिनमा समेत पर्छ भनिन्छ ।

आजकल स्मार्ट फोनको अत्यधिक प्रयोगले निद्रामा नकारात्मक असर, पारिवारिक सम्बन्धमा बाधा, ध्यानकेन्द्रित गर्न कठिनाइ समस्या समाधान र निर्णय लिने क्षमतामा ह्रास र रचनात्मक कार्य गर्ने क्षमता घट्दै गएको पनि देखिँदैछ ।

स्मार्ट फोन, इन्टरनेटको प्रयोग सही किसिमले गर्दा पढाइलेखाइलगायत धेरै कुरामा सहायोग हुन्छ र गलत किसिमले प्रयोग गर्दा धेरै नकारात्मक असर तथा व्यावहारिक र स्वास्थ्य समस्याहरु देखिँदैछन् । प्रविधिहरु एक से एक आउँदैछन्, आफ्ना छोराछोरीले प्रविधिको प्रयोग कुन तरिकाले गरिरहेका छन्, त्यो कुरामा अभिभावकहरु बेलैमा सचेत हुनु आवश्यक देखिन्छ ।

 

 

प्रकाशित: २२ भाद्र २०७६ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App