coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कालीगण्डकी प्रसारण करिडोरकोे वैकल्पिक मार्गबारे अध्ययन शुरु

file photo

बेनी– कालीगण्डकी प्रसारण करिडोरको २ सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ।

पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पुर्‍याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन शुरु गरिएको हो।     

आयोजनाका तर्फबाट पाँच र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका तर्फबाट पाँच जनाको टोली बनाएर पोखरेबगर र रातोपानी क्षेत्रमा टावर निर्माण र प्रसारण लाइनका लागि वैकल्पिक मार्गको अध्ययन थालिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए।     

पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा पाँच घरपरिवार विस्थापित हुनाका साथै गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत प्रत्यक्षरूपमा प्रभावित हुने भएकाले वैकल्पिक ठाउँबाट लाइन लैजाने गरी विकल्प दिइएको उनले जानकारी दिए।     

अध्ययन टोलीका सदस्यसमेत रहेका वडाध्यक्ष बरुवालका अनुसार प्रस्ताव गरिएको नयाँ वैकल्पिक मार्गबारे प्राविधिक अध्ययन गरी उपयुक्त देखिए अहिले प्रसारण लाइनको प्रस्तावित टावरलाई स्थानान्तरण गरी निर्माण गर्न आयोजना र स्थानीयवासीबीच सहमति भएको छ।    

प्रसारण लाइनमा अवरोध सिर्जना भएपछि प्रजिअ ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको आयोजना प्रभावित स्थानीय, जनप्रतिनिधि, आयोजना, एशियाली विकास बैंक र परियोजना सुपरीवेक्षण परामर्शदाताका प्रतिनिधिहरुबीच बृहत् छलफल भएको थियो।     

सो छलफलमा स्थानीयवासीको माग अनुसार टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न आर्थिक, प्राविधिक, सामाजिक र वातावरणीय हिसाबले सम्भव भए/नभएको विषयमा स्थलगत अध्ययन गर्न सहमति भए अनुसारको अध्ययनको काम शुरु भएको प्रजिअ ढकालले बताए।     

नयाँ वैकल्पिक मार्गको अध्ययन गरी टावर ४१ ‘ए’ देखि ४३ सम्मकोे मार्गमा वैकल्पिक अथवा प्रस्तावित कुन मार्ग उपयुक्त हुने भन्ने निर्क्योल हुने बताइएको छ। अध्ययनको निचोड अनुसार नै विवादित बनेको टावर निर्माणलाई अघि बढाउन आयोजना र प्रभावित स्थानीयवासीबीच सहमती भएको हो।    

म्याग्दी र मुस्ताङमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्न निर्माणाधीन यस क्षेत्रको जलविद्युत विकासको प्रमुख आधार मानिएको प्रसारण लाइन निर्माणका क्रममा पोखरेबगर र रातोपानीमा स्थानीयवासीको अवरोधका कारण टावर निर्माण कार्य रोकिएको छ।     

सन् २०१८ को नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा टावर र सबस्टेशन निर्माण र तार तान्ने कामले गति लिएको भए पनि ढिलाइ र स्थानीयवासीको विवादले निर्माण कार्य एक वर्षभन्दा बढी समय पछि धकेलिएको छ। दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका १ सय १० वटा टावरमध्ये एक सय तीन टावर निर्माण भइसकेको छ।     

टावर निर्माण भएको धेरैजसो ठाउँमा तार तान्ने कामसमेत भइरहेको भए पनि म्याग्दीको पोखरेबगर क्षेत्रमा छ र पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा एउटा टावर निर्माण शुरु हुन नसकेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए।     

प्रसारण लाइनले पोखरेबगरमा स्थानीयवासीको घर र गाउँपालिका कार्यालयको भवन निर्माणस्थललाई प्रत्यक्ष प्रभाव पार्ने भएपछि यस क्षेत्रका स्थानीयवासीले नक्सा परिवर्तन गरी बस्तीलाई जोगाएर टावर र लाइन विस्तार गर्न माग गर्दै आएका छन्। स्थानीयवासीले भनेबमोजिम टावरको नक्सा परिवर्तन गर्ने मागमा सहमति नजुटेपछि जग्गाधनीले मुआब्जासमेत बुझेका छैनन्।     

नेपाल विद्युत प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत सन् २०१६ को मेदेखि शुरु गरेको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन एक वर्षअघि नै सक्ने लक्ष्य थियो।

पहिलोपटक छ महीना र दोस्रो पटक तीन महीनाको म्याद थपिएको यस आयोजनामा आगामी कात्तिकभित्र आंशिक र पुसभित्र पूर्णरूपमा निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कामलाई गति दिइएको आयोजनाले जनाएको छ।रासस

प्रकाशित: २२ भाद्र २०७६ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App