हालै अफगानिस्तानमा २ जना नेपालीले ज्यान गुमाए।उनीहरूको लाश बेवारिसे अवस्थामा छ। तर हाम्रो परराष्ट्र मन्त्रालय र अफगानिस्तान हेर्ने कूटनीतिक निकाय परिचालन भएन। अफगानिस्तानलाई नेपालको पाकिस्तान दूताबासले हेर्ने हो कि दिल्ली दूताबासले ? त्यो पनि कुनै ठेगान नभएको। कसैले जिम्मेवारी लिने र अग्रसरता देखाउने काम नगरेको दिक्दारी अवस्था अहिले देखापरेको छ। सम्पूर्ण नेपालीलाई चासो हुने तर परराष्ट्रलाई चासो नहुने? यो कस्तो विचित्रको अवस्था हो ?सुषमा स्वराज भएको भए उद्धार गर्न दौडिसक्थिन् भन्ने कथन छ। कुन देशलाई कहाँको दूताबासले हेर्ने हो ? त्यो कुरा केवल परराष्ट्र मन्त्रालयलाई मात्र होइन, प्रत्येक नेपालीलाई थाहा दिनुपर्ने कुरा हो।यसमा मन्त्रालय चुकेको छ।
यसैगरी भारतको दिल्लीस्थित नेपाली दूताबासले आफूकहाँ आएको एक पत्रको तत्काल रेस्पोन्स नगर्दा २८ वर्षीय एक नेपाली युवक अनाहकमा अढाइ वर्ष भारतको अमृत शहरस्थित कारागारमा थुनिनुप-यो। ९ महिना जेल सजाय काटेर निस्कनुपर्ने उक्त युवक नेपाली दूताबासले भारतले पठाएको पत्रको जवाफ तत्काल नदिँदा अनाहकमा बढी थुनिनुप-यो। यो कसको लापबार्हीले भएको हो ? उक्त पत्र कसले बुझेको हो र उसले किन समयमा जवाफ दिएन ? त्यसको खोजी गरी परराष्ट्र मन्त्रालयले कडा कारबाही गर्नुपर्छ ताकि आइन्दा कुनै पनि नेपालीले दुःख नपाउन्। के दूताबासका कर्मचारीलाई केवल तलब भत्ता खुवाउनमात्र राखिएको हो ?होइन भने किन एक निर्दोष युवक उनीहरूको लापरबाहीका कारण बढी जेल बस्नुप¥यो ? के त्यो बढी थुनामा बस्नुपरेको क्षतिपूर्ति वा भनौँ भर्पाइ त्यो लापरबाही गर्ने कर्मचारी वा नेपाल सरकारले गर्छ ?
यसैगरी केही महिनाअघिश्रीलंकांस्थित नेपाली दूताबासका राजदूत डा. विश्वम्भर प्याकुरेलले आफ्नो पदबाट राजीनामा दिए। उनले आफूले दुई देशको सम्बन्ध बढाउन केही पहल गरी अन्तिम निर्देशनका लागि परराष्ट्र मन्त्रालयमा कैयौँ इमेल र पत्र पठाएको तर कुनैको पनि जवाफ नदिने गरेको, कर्मचारीहरूले इमेल र दूताबासले पठाएका पत्रहरू हेर्दा पनि नहेर्ने गरेको, परराष्ट्रका कर्मचारीहरूले राजदूतहरूलाई तुच्छ व्यवहार गर्ने गरेको र यस्तो ह्युमिलेसन सहेर आफूलाई काम गर्न आफ्नो नैतिकताले नदिएको भन्दै राजीनामा दिए। सबै राजदूत उनी जस्ता आँटी र नैतिकवान हँुदैनन्। राजदूत प्याकुरेलको कथनले नेपालका दूताबासहरू कसरी चलिरहेका रहेछन्? परराष्ट मन्त्रालयको काम गराइ कस्तो रहेछ ? भन्ने छर्लंग पारेको छ। यस्तो निम्छरो ताले गर्दा नै हाम्रो विदेशस्थित दूताबासहरू निष्प्रभावी र लापरबाह बन्ने गरेका रहेछन्।
यी त सतहमा देखिएका केही उदाहरणमात्र हुन। खोजी पस्दा कैयौँ यस्ता उदाहरण होलान् जसले हाम्रो परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रीको सक्षमताप्रति प्रश्न उठाएको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली रूपमा हेर्दा शालीन, भद्र र संवेदनशील देखिनुहुन्छ तर उहाँको मन्त्रालय मातहतका कामहरू हेर्दा भने उहाँ अक्षम र असंवेदनशील देखिनुहुन्छ। यसलाई कसरी उहाँले जनताले महसुसगर्नेगरी सुधार गर्नुहुन्छ ? यसैमा उहाँको मूल्यांकन हुनेछ।
गोपाल देवकोटा
गोकर्णेश्वर-८ काठमाडौं
प्रकाशित: २२ भाद्र २०७६ ०४:३० आइतबार