८ वैशाख २०८१ शनिबार
समाज

जेबाक्रस र लेन मेटिएका सडकमा कारबाही बढी

काठमाडौं- राजधानीका जेब्राक्रस र लेनचिन्ह मेटिएका सडकमा लेन मिचेको भन्दै सवारीसाधन कारबाहीमा पर्ने गरेका छन्। लामो समयदेखि मेटिएका जेब्राक्रस र लेनचिन्ह नबनाउँदा सवारीचालक र बटुवा दुवैले सास्ती भोगिरहेका छन्।

बटुवा र सवारीसाधन दुवैलाई सहज र व्यवस्थित गर्न बनाइएका जेब्राक्रस र लेनचिन्ह मेटिदाँ समस्या भएको कोटेश्वरका मनिष प्रसाईंले बताए। 'यात्रा सहज गराउन बनाइएका जेब्राक्रस र लेन कहाँ छ भनेर खोज्नुपर्छ,' उनले भने, 'संकेत नहुँदा सडक काट्नै हम्मेहम्मे हुन्छ।' सडकमा जेब्राक्रस र लेनचिन्हको समयमा नै मर्मतसम्भार नभएको दाबी गरे।

काठमाडौं उपत्यकाका कोटेश्वर, बानेश्वर, तीनकुने, माइतीघर, सिंहदरबार, एयरपोर्ट, सहिदगेट, चाबहिल, गौश्ााला, सुन्धारा क्षेत्रका जेब्राक्रस र लेनचिन्ह मेटिएका छन्। लेन मेटिएको सडकमा लेन मिचेको भन्दै ट्राफिक कारबाहीमा परेको बानेश्वरका रमेश श्रेष्ठले बताए। 'लेन नै मेटिएको सडकमा लेन मिच्यो भनेर ट्राफिकले कार्बाही गर्‍यो,' उनले भने, 'लेनचिन्ह चैं नबनाउने अनि कारबाही गर्ने?' 

'जेब्राक्रसबाट बाटो काट्नु बटुवाको अधिकार हो। तर जेब्राक्रस नै मेटिएपछि कहाँबाट बाटो काट्ने अन्योल पारेको छ,' त्रिभुवन विमानस्थलमा भेटिएका बटुवा रमेश श्रेष्ठले भने, 'जेब्राक्रस नदेख्दा सवारीचालकले गति घटाउँदैनन्।'

जेब्राक्रस र लेनचिन्ह मेटिँदा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले बताए। 'जेब्राक्रस र लेन मेटिदाँ धेरै सवारीसाधनले लेन उल्लंघन गर्छन्,' उनले भने, 'लेन मेटिँदा ट्राफिक व्यवस्थापन गर्ने कठिन हुन्छ।' प्रवक्ता मल्लले सडक विभागसँग मेटिएका जेब्राक्रस र लेनचिन्ह बनाउन अनुरोध गरेको बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाका अनुसार राजधानीमा दैनिक ५/६ सय सवारीचालकले लेन मिच्छन्। कुन ठाउँको सडकमा धेरै लेन मिचिन्छ? भन्ने प्रश्नमा प्रवक्ता मल्लले भने, 'जहाँ लेन मिचेका हुन्छन्, त्यहीँ कारबाहीमा पर्छन्।' लेन मिच्ने चालकलाई ५ सय रुपैयाँ जरिवाना गरिने महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले तीनकुने–माइतीघर सडकखण्ड निर्माण सकेर हस्तान्तरणको चरणमा रहेकाले त्यो सडकखण्डमा जेब्राक्रस र लेनचिन्ह बनाउने दायित्व आयोजनाको नभएको दाबी गरे। 'हामीले सम्झौता अनुसार एकपटक रंगाइसक्यौं,' उनले भने, 'अब सडक रेखदेख र मर्मतसम्भारको जिम्मा सडक डिभिजन कार्यालय काठमाडौं १ को हो।'

सडक डिभिजन कार्यालय काठमाडौं १ का प्रवक्ता मिनप्रसाद भण्डारीले डिभिजन कार्यालयलाई हस्तान्तरण नै नभएको सडकमा जेब्राक्रस र लेनचिन्ह बनाउन नमिल्ने बताए। उनले जेब्राक्रस र लेनचिन्ह बनाउन लागत अनुमान र ठेक्का प्रक्रिया छिट्टै थाल्ने बताए। 'धुलो र गाडीको टायरले छिट्टै रंग खुइलिन्छ,' उनले भने, 'एकपटक लगाएको रंग ६ महिना पनि टिक्दैन।'

प्रकाशित: ३ मंसिर २०७३ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App