८ वैशाख २०८१ शनिबार
अर्थ

कम मूल्यमा भारु साट्न बिचौलिया सक्रिय

काठमाडौं- नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय रुपैयाँ (भारु) सटही हुनेमा अन्योल बढेपछि कम मूल्यमा खरिद धन्दा सुरु भएको छ। भारतले कात्तिक २३ मा पाँच सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएपछि भारु भएका सर्वसाधारण अत्तालिएको मौकाको फाइदा उठाउँदै बिचौलियाले सट्टादर घटाएर खरिद धन्दा सुरु गरेका हुन्। नेपाल र भारतका प्रधानमन्त्रीबीच सोमबार भएको फोन वार्ताले पनि वैधानिक सटहीमा ठोस निष्कर्ष ननिकालेपछि यो धन्दा झनै बढेको छ।

काठमाडौंमा भारु संकलन गरिरहेका एक व्यापारी (बिचौलिया) ले जोखिम मोलेर काम गर्नुपर्ने भएकाले सट्टादर घटाएको बताए। सरकारले एक सय भारुको सट्टादर एक सय ६० रुपैयाँ तोकेको छ। 'यहाँ लिएको भारु जोखिम मोलेर भारतका विभिन्न ठाउँमा पुर्‍याउनुपर्छ,' उनले भने, 'भारतमा सटही काम गर्नेलाई पनि केही रकम दिनैपर्‍यो। त्यसैले सरकारी सट्टादरमा काम गर्ने कुरै भएन।'

ती बिचौलियाले सुरुका दिनमा हजार भारुको एक हजार चार सय नेपाली दिने गरेकोमा अहिले सट्टादर बराबर गरिएको बताए। 'दुवै मुलुकका प्रधानमन्त्रीबीचको वार्ताले निकास नदिएपछि अन्योल झनै बढेकाले भारु हजारको नेपाली हजार रुपैयाँ दिने गरिएको छ,' उनले भने। कतिपय बिचौलियाले एसएमएसमार्फत पनि सट्टादर तोक्ने गरेका छन्।

नयाँ बानेश्वरका रामजी खरेलले १४ हजार नेपाली रुपैयाँ लिएर १० हजार भारु दिएको बताए। 'भारत जानका लागि पाँच सय दरका १० हजार र एक सय दरका दुई हजार भारु नोट साटेर राखेको थिएँ', खरेलले बुधबार नागरिकसँग भने, 'एक जना चिनेको व्यापारीसँग १४ हजार नेपाली रुपैयाँ लिएर पाँच सय दरका सबै १० हजार भारु साटेँ।' खरेलका अनुसार ती व्यापारीले भैरहवा नाका हुँदै भारु साट्न भारतमा पठाउने गरेका छन्।

खरेलले भारतीय सरकार आफ्नो निर्णयमा कडा रुपमा प्रस्तुत भएको र नेपालले केही गर्न सक्छ जस्तो नलागेर दुई हजार घाटा खाएरै भए पनि भारु साटेको बताए। उनका अनुसार दुवै मुलुकका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भए पनि भारतीय पक्षले झारा टार्ने हिसाबले एकपछि अर्को निकायलाई देखाउने गरेकाले नेपाली सर्वसाधारण पाँच सय र हजार दरका भारु साटिनेमा आसावादी छैनन्।

टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको भारु साट्ने आश्वासन दिँदै अर्थ मन्त्रालयसँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाएका थिए। भारतीय अर्थ मन्त्रालयले यसलाई पन्छाउँदै गभर्नर तहमा कुरा गर्न भनेको छ। तर, रिजर्व बैंक अफ इन्डियाले यसअघि नै नेपाल राष्ट्र बैंकको पत्रको जवाफ दिँदै भारु सटहीको अधिकार आफूमा नभएको जनाएको थियो।

सर्वसाधारण जस्तै साना व्यापारी पनि भारु साटिनेमा अन्योलमा छन्। एक दशकदेखि काठमाडौंको सुन्धारामा कपडा व्यापार गर्दै आएका अर्जुन थापाले आफू जस्तै साना व्यापारीले घाटा खाएर पाँच र हजार दरका भारु साटेको बताए। 'धेरै व्यापारीले सस्तोमै भारु साट्ने गरेका छन्,' उनले भने, 'सरकारले केही गर्छ कि भन्ने विश्वासमा भारु राख्ने व्यापारी पनि छन्।'  पछिल्ला दिनमा व्यापारभन्दा भारुको विषयमा बढी चर्चा हुने गरेको उनले बताए। भारतीय व्यापारीले कपडा, जुत्ता र अन्य सामान खरिद गर्दा पाँच र हजार दरका भारु नोट दिने गरेको जानकारी थापाले दिए। 

भारतमा आफन्त हुने कतिपय नेपालीले आफूसँग रहेको भारु उतै पठाएरसाट्ने गरेका छन्। पर्साका तुलसी संग्रौलाले टेलिफोनमा नागरिकसँग कुरा गर्दै आफूसँग भएको ५० हजार भारु सिक्किम पठाउन लागेको बताए। उनले भारुको प्रचलित सट्टादरभन्दा कममा दिए पर्सामै पनि साटिने अवस्था भएको बताउँदै सिक्किममा आफन्त भएकाले उतै पठाउन लागेको जानकारी दिए।

राष्ट्र बैंक, परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीका अनुसार नेपालमा पाँच र हजार दरका भारु साट्ने सुविधा दिए भारतबाट अवैध भारु नेपाल भित्रिन सक्ने डर भारतीय सरकारको छ। नेपालले भारतबाट अवैध भारु भित्रिन नदिने भरपर्दो विश्वास दिलाउन नसकेसम्म सटही सुविधा मिल्ने छैन। खुला सिमानाका कारण नेपालले यस्तो विश्वास दिलाउन सक्ने अवस्था छैन।

कानुनले एक व्यक्तिलाई २५ हजार रुपैयाँ बराबर पाँच र हजार दरका भारु नोट ल्याउन लैजान पाउने सुविधा दिएको छ। तर यसको जोखिम व्यक्ति आफैंले उठाउनुपर्छ। 'भारतको नोटमा उसैको अधिकार हुन्छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'नेपाल सरकार र राष्ट्र बैंकले पहलसम्म गर्न सक्छन्, तर उसले नसाटे त्यतिबेला केही गर्न सकिँदैन।' ती अधिकारीका अनुसार भारतले चासो देखाएर नेपालमा रहेका नोट साट्न तत्पर भयो भने मात्र राष्ट्र बैंकले कानुनी रुपमा सर्वसाधारणसँग भएका भारु साट्न सक्नेछ।

राष्ट्र बैंकका अधिकारीका अनुसार अहिले बैकिङ प्रणालीमा पाँच र हजार दरका गरेर २ करोड ३२ लाख भारु छ। उद्योगी व्यवसायीका अनुसार सर्वसाधारणसँग १० अर्बभन्दा बढीका पाँच र हजार दरका भारु नोट छन्। तराईका क्षेत्रसँगै मध्य र सुदूरपश्चिमका जिल्लामा व्यापक रुपमा भारुको प्रचलन छ। पश्चिमी पहाडी क्षेत्रका सर्वसाधारणको रोजगारीको मुख्य थलो नै भारत हो। भारतबाट काम गरेर फर्कने सर्वसाधारणले सजिलोका लागि पाँच र हजार दरकै भारु ल्याउँछन्। त्यसमा पनि भर्खरै दसैं र तिहार सकिएकाले ती क्षेत्रमा आएको अर्बौ भारु भारत फर्कन पाएको छैन। नेपालमा रहेका भारु भारत फर्किन कम्तीमा तीन महिना लाग्ने व्यवसायी बताउँछन्।

भारतले पाँच सय र हजार दरका नोट कारोबारमा प्रतिबन्ध लगाएसँगै नेपाल राष्ट्र बैंकले पनि भारु सटहीमा बन्देज लगाएको छ।

प्रकाशित: ३ मंसिर २०७३ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App