८ वैशाख २०८१ शनिबार
खेल

अफगानिस्तानको बलियो पकड

चित्तगोङ – इब्राहिम जाद्रान र अजघर अफगानको अर्धशतकप्रेरित अफगानिस्तानले शनिबार बंगलादेशविरुद्धको एक मात्र टेस्टमा बलियो पकड बनाएको छ। तेस्रो दिनको खेल समाप्तिमा अफगानिस्तान २३७–८ मा खेलिरहेको छ र टोलीले घरेलु टोलीमाथि ३ सय ७४ रनको अग्रता बनाइसकेको छ। अफसार जजाई अविजित ३४ रनमा खेलिरहेका छन्।

८३ बल खेलेका जजाईले २ चौका र १ छक्का प्रहार गरे। यसअघि ४ रन जोड्दा ओपनर इसानउल्लाह र रहमत शाहलाई गुमाएको अफगानिस्तानले थप २४ रन जोड्दा हस्मतुल्लाह शाहिदीलाई तेस्रो विकेटका रूपमा गुमाएको थियो। २८–३ को स्थितिमा ब्याटिङका लागि आएका जाद्रान र अफगानले चौथो विकेटका लागि १ सय ८ रनको साझेदारी गर्दै खेल अघि बढाएका थिए।

२ सय ८ बल खेलेका जाद्रानले ६ चौका र ४ छक्काको मद्दतमा ८७ रन जोड्दा अफगानले १ सय ८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन प्रहार गरे । त्यस्तै रासिद खानले २२ बलमा ६ चौकाको मद्दतमा २४ रन जोडे।
बंगलादेशका शाकिब अल हसनले ३ विकेट लिँदा नाइम हसन र तौजुल इस्लामले समान २ र मेहदी हसन मिर्जाले १ विकेट लिए।

‘हाम्रो लक्ष्य ४ सयभन्दा माथिको अग्रता लिने हो। जुन बंगलादेशका लागि कठिन योगफल बनोस्,’ जाद्रानले भने, ‘हामी नतिजा आफ्नो पक्षमा पार्नेमा विश्वस्त छाैं।’

यसअघि १९८–८ बाट तेस्रो दिनको खेल सुरुआत गरेको बंगलादेशले थप ११ रन जोड्दा बाँकी २ विकेट गुमाएको थियो। पहिलो इनिङमा बंगलादेश २ सय ५ रनमा सीमित बनेपछि अफगानिस्तानले १ सय ३७ रनको अग्रता लिएको थियो। अफगानिस्तानले रहमतको १ सय २ र अफगानको ९२ रनको मद्दतमा पहिलो इनिङमा ३ सय ४२ रन जोडेको थियो।

 

प्रकाशित: २२ भाद्र २०७६ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App