८ वैशाख २०८१ शनिबार
खेल

नेइमारको गोलमा ब्राजिलद्वारा बराबरी

मियामी – नेइमारले पुनरागमन गरेको खेलमा शुक्रबार ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग २–२ को बराबरी खेलेको छ। जुनमा कतारविरुद्धको मैत्रीपूर्ण खेलमा घुँडाको चोटका कारण बाहिरिएपछि नेइमार पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका हुन्। सोही चोटका कारण उनले घरेलु मैदानमा सम्पन्न कोपा अमेरिका समेत गुमाएका थिए। जहाँ ब्राजिलले पेरूलाई निराश पार्दै उपाधिमाथि कब्जा जमाएको थियो।

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार राष्ट्रिय टोलीबाट मैदान नउत्रिए पनि क्लब सरुवा कारण भने सधैं चर्चामा रहे। यद्यपि सोमबारसम्म उनको पूर्वक्लब बार्सिलोनाले उनीसँग अनुबन्धन प्रयास गरे पनि त्यसले पूर्णता पाउन भने सकेन। अर्को ला लिगा क्लब रियाल मड्रिडले समेत नेइमारलाई स्पेन फर्काउन इच्छा देखाएको थियो।

१९औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई खेलमा अघि बढाएका थिए। कासेमिरोले नेइमारको पासलाई जाली चुमाएका थिए। तर ब्राजिलले आफ्नो अग्रता लामो समयसम्म भने टिकाउन सकेन। त्यसको ६ मिनेटपछि नै लुइस फर्नान्डो मुरेलले पेनाल्टीको सदुपयोग गर्दै कोलम्बियालाई खेलमा फर्र्काएका थिए। स्टार खेलाडी हामेज रोड्रिग्वेज र राडामेल फाल्काओबिना मैदान उत्रिएको कोलम्बियाले ब्राजिललाई निरन्तर कडा चुनौती दिएको थियो। ३४औं मिनेटमा मुरेलले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए।

तर नेइमारले ५८औं मिनेटमा ब्राजिललाई खेलमा फर्काउँदै  टेटेको टोलीको अपराजित यात्रालाई निरन्तरता दिएका थिए। नेइमारको यो ६१औं अन्तर्राष्ट्रिय गोल हो। उनी ब्राजिलबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन्।

पेलेले सर्वाधिक ७७ गोलको कीर्तिमान राख्दा रोनाल्डो ६४ गोलका साथ दोस्रो स्थानमा छन्। २०१८ को रूस विश्वकप क्वार्टरफाइनलमा बेल्जिमयमसँग निराश भएयताका १७ खेलमा ब्राजिल अपराजित रहँदै आएको छ। ब्राजिलले अर्को खेलमा बुधबार पेरूको सामना गर्नेछ। जसले पुनः एक पटक कोपा अमेरिका फाइनलको झल्को दिनेछ भने कोलम्बियाले बुधबारै भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २२ भाद्र २०७६ ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App