५ वैशाख २०८१ बुधबार
अर्थ

पाँचखालमा महिला उद्यमी तथा हरित औद्योगिक ग्राम

बनेपा – कृषि नगर पाँचखालमा मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापना हुने भएको छ। ग्राम स्थापनाका लागि नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ, नेपालबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ।

नेपालमै पहिलोपटक स्थापना हुन लागेको औद्योगिक ग्रामलाई महिला तथा कृषिलाई केन्द्रित गरी सञ्चालन गरिने महिला उद्यमी महासंघ, नेपालका अध्यक्ष शारदा रिजालले जानकारी दिइन्। ‘मुलुकको आर्थिक योगदानमा महिला उद्यमीको पनि भूमिका रहेकाले महिलालाई नै समेटेर प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना गर्न स्थानीय सरकारसँग सहकार्य गरेका हौं,’ उनले भनिन्।

औद्योगिक ग्रामको पूर्वाधार निर्माणमा संघीय तथा प्रदेश सरकार तथा अन्य निकायबाट आवश्यक सहयोग र अनुदान लिइने दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालको भनाइ छ। ‘स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिइने यो कार्यक्रमले महिला उद्यमशीलता विकास र आर्थिक शसक्तीकरणका लागि सहयोग पुग्नेछ,’ उनले थपिन्।

सम्झौताअनुसार पाँचखाल नगरपालिकाले वडा नं ७ (साविक होक्सेबजार गाविस)मा महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकासका लागि सोही वडाको कित्ता नम्बर ८९, ९० र ११३ को करिब ५ हेक्टर (९८ रोपनी) जग्गा २५ वर्षका लागि उपलब्ध गराउनेछ। नगर प्रमुख महेश खरेल, दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल र महिला उद्यमी महासंघ, नेपालका अध्यक्ष शारदा रिजालबीच त्रिपक्षीय सम्झौता भएको हो।

सम्झौतामा औद्योगिक ग्राम स्थापनाका लागि नगरपालिकाले आवश्यक सहजीकरण गरिदिने, आवश्यकताअनुसार यसको विकास, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्ने र औद्योगिक ग्राम क्षेत्रभित्रको जग्गामा उद्योगको स्थापनामा नगरपालिकाले सहयोग गर्ने उल्लेख छ। ‘औद्योगिक ग्रामका कारण आसपासको वातावरण, मानव जीवन तथा भौतिक विकास र  निर्माण कार्यमा असर पर्न दिइने छैन। औद्योगिक ग्राममा सिर्जना हुने रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता दिइनेछ,’ पाँचखालका नगर प्रमुख महेश खरेलले भने।

यसअगावै विशेष आर्थिक क्षेत्र प्राधिकरणले पाँचखाल–७ को देवीस्थान पाँडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको ६ सय रोपनी र शिखरपुरको चार सय गरी एक हजार रोपनी क्षेत्रफलमा पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) बनाउनका लागि पूर्वाधार निर्माणका कार्य गरिरहेको छ। प्राधिकरणले निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन गर्न पाँचखाल सेजको निर्माण अघि बढाएको हो। पाँचखाल सेजमा ५२ वटा निर्यातमूलक उद्योगहरु स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख छ। पाँचखाल सेजको निर्माणका लागि प्राधिकरणले दुई अर्ब ९५ करोड २७ लाख १७ हजार रुपैयाँको अनुमानित लागत तयार गरेको छ। पाँचखाललाई भैरहवा सेजपछिको प्राथमिकतामा राखिएको छ।

नेपाली निजी क्षेत्रको समन्वयमा चिनियाँ उद्यमी पाँचखाल आउन तयार रहेको व्यवसायीको भनाइ छ। ‘विशेष आर्थिक क्षेत्रको निर्माण चाँडो भए चिनियाँ उद्यमी यहाँ आउन इच्छुक देखिएका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका सदस्य दिलसुन्दर टक्सारी श्रेष्ठले भने, ‘चिनियाँको विशेष चासो नेपालमा फर्निचर उद्योग स्थापना गरेर युरोप निकासी गर्ने रहेको पाइएको छ,’ उनले थपे।

प्रकाशित: २२ भाद्र २०७६ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App