८ वैशाख २०८१ शनिबार
अर्थ

सलामले दैनिक काठमाडौं–ओमान उडान भर्ने

सलाम एयरले दैनिक काठमाडौं–ओमान उडान गर्ने जानकारी दिन शनिबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित। तस्बिर : नागरिक

काठमाडौं – गत वर्षदेखि नेपालमा उडान सुरु गरेको सलाम एयरले आगामि साताबाट दैनिक काठमाडौं–ओमान उडान भर्ने भएको छ। हप्तामा तीन दिन मात्र उडान गरिरहेको सलाममा यात्रुको चाप बढेपछि आगामि हप्तादेखि दैनिक उडान गर्न लागेको शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सलामको सेवा विस्तारले ‘पर्यटन वर्ष, २०२०’ सफल पार्न सघाउ पुग्ने बताए। विदेशी वायु सेवा कम्पनीले नेपालमा उडान थप्नु स्वागतयोग्य भएको बताए। मन्त्री भट्टराईले सलाम एयरलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पनि उडान भर्न तयारी अवस्थमा रहन अनुरोध गरे।

भट्टराईले नेपालमा पर्यटक आगमनको संख्या बर्सेनि वृद्धि भएकाले नेपालमा उडान भर्ने वायु सेवा कम्पनी घाटामा नजाने बताए। ‘प्रत्येक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुको संख्यामा सात प्रतिशतले बढेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय यात्रुमध्ये वार्षिक ५० लाखले यात्रा गरेकाले विमान कम्पनी घाटामा जाँदैनन्।’ पर्यटक आगमन वृद्धि भएकाले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए।

सलामको नेपालमा उडान व्यवस्थापन आइएमई ग्रुपले प्रवद्र्धन गरेको आइएमई इन्टरनेस्नल ट्राभलले गर्दै आएको छ। सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष–२०२०’ लाई सफल पार्न सघाउ पुग्ने उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले मध्यपूर्वलगायत विश्वका विभिन्न मुलुकबाट यहाँ आउने नेपाली र विदेशी पर्यटकलाई सेवा दिएको बताए। ‘मुलुकको आर्थिक विकासमा पर्यटन र वैदेशिक रोजगारले सघाउ पुगेको छ,’ उनले भने, ‘यी दुवै क्षेत्रमा सहयोग पुगेको छ।’ सलाम एयरको सम्बन्धले नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पु-याएको दाबी गरे।

सलामले आगामी वर्ष एक लाख यात्रु बोक्ने लक्ष्य रहेको आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले जानकारी दिए। ‘आगामी वर्ष मध्यपूर्वमा काम गर्न जाने नेपालीमात्र नभएर विदेशी पर्यटक पनि ल्याउने लक्ष्य छ,’ ढकालले भने, ‘दैनिक सिधा उडानले पर्यटक आगमन बढाउन सघाउ पुग्छ।’

ओमानको वायुसेवा कम्पनी सलामले एक वर्षको अवधिमा ५० हजार यात्रु बोकेको ओमान एयरको जिएसए आइएमई इन्टरनेसनल ट्राभलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिनोद सापकोटाले बताए। यात्रुलाई उत्कृष्ट सेवा दिने प्रयास गरिरहेकाले एक वर्षको सिकाइले सेवालाई थप परिस्कृत गर्दै लैजाने बताए। कार्यक्रममा १० वटा ट्राभल एन्ड टुर्स एजेन्टलाई सम्मान गरिएको सिइओ सापकोटाले जानकारी दिए। ‘धेरै टिकट बिक्री गर्ने ट्राभललाई सम्मान गरेका हौं,’ उनले भने। कार्यक्रममा सम्मानित हुनेमा एक्सन ट्राभल एन्ड टुर्स, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, ओपन अवे, प्रयास, रस्विता इन्टरनेस्नल, सिलिङ्क ट्राभल रहेका छन्।

उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सलाम एयरले ओमान–काठमाडौं दैनिक उडान गर्दा नेपालको पर्यटन क्षेत्रमा सकरात्मक प्रभाव पार्ने बताए। ‘यसले भ्रमण वर्षमा विदेशबाट पर्यटक ल्याउन सघाउ पुग्छ,’ जोशीले भने, ‘भ्रमण वर्ष सफल पार्न यसरी नै सबैको साथ र सहयोग आवश्यक पर्छ।’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा)का अध्यक्ष सिएन पाण्डेले पर्यटन वर्ष सफल पार्न अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको पनि साथ आवश्यक रहेको बताए। ‘विदेशी पर्यटक आगमन हुन विदेशी वायु सेवा कम्पनीको सिधा नेपाल उडानले सघाउ पुग्छ,’ उनले भने, ‘सबै क्षेत्रको सहयोग आवश्यक छ।’ सलाम एयरले वैदेशिक रोजगारमा जाने धेरै यात्रुलाई बोक्ने गरेको छ।  बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुुरुङले २० लाख पर्यटक पु-याउन पूर्वाधार आवश्यक रहेको जोड दिए।

प्रकाशित: २२ भाद्र २०७६ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App