coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतले ‘बाँध’ मर्मत गर्न थालेसँगै नेपालमा त्रास

रौतहट - दसगजा क्षेत्रमा भारतले बनाएको बाँधजस्तोे संरचना मर्मत–सम्भार गरी बलियो बनाउन थालेपछि रौतहटका स्थानीयमा त्रास थपिएको छ। अन्तर्राष्ट्रिय नियमको उलंघन गर्दै भारतले बाग्मती र लाल बकैयाको प्राकृतिक बहाव अवरोध हुनेगरी सीमावर्ती क्षेत्रमा ढोका (फाटक) सहितको स्थायी संरचना बनाएपछि रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी गाउँमा डुबानको पिरलो थपिएको हो। भारतले बनाएको बाँधजस्तो स्थायी संरचनाका कारण रौतहटका दर्जनभन्दा बढी गाउँ बर्सेनि डुबानमा पर्दै आएका छन्।

भारत सरकारले सीमा हुँदै दक्षिण बग्ने नदीको निकास अवरुद्ध गर्नेगरी २०३४ सालमा सदरमुकाम गौरको लाल बकैया नदीदेखि पूर्व राजदेवी नगरपालिकाको बाग्मती नदीसम्म जोडेर करिब तीन किलोमिटर र २०६५ सालमा लाल बकैया नदीको पश्चिमी तटबन्धलाई जोडेर दुई किलोमिटर गरी पाँच किलोमिटर २५ फिट अग्लो संरचना बनाएका थियो। भारतले प्राकृतिक बहाव अवरुद्ध हुनेगरी दसगजा क्षेत्रमा बनाएको त्यो संरचना भत्काउनुपर्नेमा उल्टै मर्मत गरी बलियोे बनाउन थालेकाले बाग्मती र लाल बकैया नदीमा अब आउने बाढीले नेपाली भूमिको ठूलो क्षेत्रफलमा डुबानको समस्या बढ्ने इशनाथ नगरपालिका–१ बन्जरहाका वडाध्यक्ष विगु साहले बताए।

दसगजा क्षेत्र मिची बनाइएको बाँधजस्तोे स्थायी संरचनाका कारण नेपाली भूभाग झन् डुबानमा पर्ने खतरा बढेकाले यसलाई तत्काल समाधान गर्न रौतहट प्रशासनले लिखित रूपमै निर्णय गरेर सरकारको ध्यानाकर्षण गराएको छ।

भारतीय संरचनाका कारण राजदेवी नगरपालिकाको लक्ष्मीपुर, बेलबिछवा, ब्रहम्पुरी र सदरमुकम गौर नपाको ९ वटै वडा र इशनाथ नगरपालिकाको औरैया, वैरिया र बन्जरहा डुबानको चपेटमा परी करोडौंको क्षति बेहोर्नुपरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

भारतीय पक्षले दसगजामा कानुनविपरीत बनाएको संरचना मर्मत गरी चौडा र बलियो बनाउन थालेपछि प्रमुख जिल्ला अधिकारी किरण थापा, सशस्त्र प्रहरी प्रदेश नम्बर २ का प्रमुख डिआइजी राजु अर्याल, सशस्त्र प्रहरी ११ नम्बर गणका एसपी रोविनराज कर्णजित र राष्ट्रिय अनुसन्धानका एसपी अभिनय सिंहलगायत सुरक्षा निकायका पदाधिकारीहरूले सो स्थानको स्थलगत निरीक्षण गरेका थिए। दसगजा क्षेत्र मिची बनाइएको बाँधजस्तोे स्थायी संरचनाका कारण नेपाली भूभाग झन् डुबानमा पर्ने खतरा बढेकाले यसलाई तत्काल समाधान गर्न सम्बन्धित निकायमा लिखित रूपमै निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।

गत असार २७ र २८ गते आएको विनाशकारी बाढीको पानी सोही संरचनाका कारण सहज निकास हुन नसक्दा इशनाथ नपाको औरैया, बन्जरहा एक महिनासम्म डुबानमा परेका थिए। वडाध्यक्ष साहका अनुसार बाढीका कारण भारतीय बाँध भत्किने खतरा बढेपछि भारत पक्षबाट माटोमा केमिकल मिसाएर बोरामा हाली बाँध मर्मत गरेका कारण नेपाली भूभाग थप जोखिममा परेको छ।

भारतीय पक्षले सीमास्तम्भ नम्बर ३४७ देखी बकैयासम्म थप बलियो संरचना बनाइरहेको विषयमा जिल्ला प्रशासन कार्यालयलगायत निकायलाई जानकारी गराएपछि अनुगमनको क्रममा गएका सुरक्षा निकायका प्रमुखहरूले भारत बिहार पूर्वी चम्पारणका सुरक्षा अधिकारीहरूलाई फोन गरेर मर्मत कार्य रोक्न लगाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। ‘पटकपटक भारतीय अधिकारीलाई सीमाको उलंघन नगर्नुस् भन्यौं,’ प्रजिअ थापाले भने, ‘तर उनीहरूको मर्मत कार्य रोक्न खासै तत्परता देखाएनन्।’ भारतीय पक्षले अटेर गरेकाले सीमास्तम्भ नम्बर ३४७ नजिक सशस्त्र प्रहरीको डिउटी नै राखेपछि भने संरचना मर्मतको काम रोकिएको प्रजिअ थापाले बताए।

अन्तर्राष्ट्रिय सीमासम्बन्धी कानुनअनुसार दसगजा क्षेत्रको ३० फिट दायाँबायाँ कुनै पनि स्थायी संरचना बनाउन नपाउने र त्यसपछि दुवै देशको सहमतिमा मात्रै निर्माण कार्य गर्ने सकिने स्पष्ट प्रावधान भए पनि इशनाथ नपा क्षेत्रमा एकतर्फी रूपमा सीमा मिचेर स्थायी संरचना बनाइएकाले त्यसलाई रेखांकन तथा नाप–नक्सा गर्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिसकेको सशस्त्र प्रहरीका प्रदेश २ का डिआइजी राजु अर्यालले बताए। अर्यालका अनुसार सीमाको यथार्थ जानकारीसमेत गराइसकेकाले नेपाल सरकार स्तरबाटै भारतीय सरकारसमक्ष कुरा गरेर समस्या समाधानका निम्ति पहल हुनु जरुरी छ।

प्रकाशित: २२ भाद्र २०७६ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App