७ वैशाख २०८१ शुक्रबार
समाज

शक्तिका आडमा अपराध, ठगीबाटै कैयौंको उठीबास

फाइल तस्बिर

धनगढी - ऋषि पञ्चमीका दिन नाचगान गरेर साँझ घर फर्कंदै गर्दा धनगढी उपमहानगरपालिका–५ तारानगरकी पार्वती भण्डारी सत्कार चोक पुग्दा लुटिइन्। मोटरसाइकलमा आएका दुईजनाले उनको हातको झोला खोसेर लगे। मानिसको चहलपहलकै बीच अप्रत्यासित रूपमा सो घटना भएको थियो। उनले सहयोगका लागि अरूलाई गुहार्न खोज्दाखोज्दै लुटेर भागिसकेका थिए। लगत्तै उनले प्रहरीलाई घटनाबारे जानकारी गराइन्। तर अहिलेसम्म लुटेर फेला पर्न सकेका छैनन्।

गत जेठ १३ गते बसपार्कस्थित श्रीपाल होटलमा तारानगरका आदर्श भट्ट मृत भेटिए। होटलको १०५ नम्बर कोठामा बाहिरबाट चुकुल लगाएको अवस्थामा उनी भित्रपट्टि मृत भेटिनुले घटना रहस्यमय बनेको छ। अत्यधिक लागूऔषध सेवन गरेकाले भट्टको मृत्यु भएको भन्दै प्रहरीले मिडियाबाजी गरे पनि भिसेरा रिपोर्टमा लागू औषध र विष सेवनको केही अंश नदेखिएपछि पीडित परिवारले होटलको कोठामै आदर्शको हत्या भएको बताउँदै आएका छन्। ‘लागूऔषधको मात्रा अत्यधिक लिएका कारण आदर्शको मृत्यु भएको भनी प्रहरीले हचुवाका भरमा बोलेका छन्, भिसेरा रिपोर्टले त्यसो भन्दैन,’ बुबा शम्भुप्रसाद भट्टले भने। आदर्शको पोस्टमार्टमपछि ल्याब परीक्षण रिपोर्टले लागूऔषध प्रयोग नगरेको देखिएकाले छोराको हत्या नै भएको बुबा शम्भुको दाबी छ।

राजनीतिक दलका केही नेता, केही प्रहरी र शक्ति केन्द्रको आडमा आपराधिक घटनामा संलग्न व्यक्तिहरू सक्रिय रहेको बुझिएको छ। स्रोतका अनुसार बिहीबार राति पक्राउ परेको गिरोहको पनि केही प्रहरी अधिकारीसँग हिचमिच थियो। प्रहरी अधिकारी र शक्तिकेन्द्रनजिक रहेकाहरूका आडमा उनीहरूले राज्यलाई नै चुनौति दिनेगरी अर्बौंको ठगी निर्बाध रूपमै गरिरहेको खुलेको छ।

गत साउन २ गते बेलुकी धनगढी सहिदगेटनजिकैको निलम होटलमा विप्लव समूहको कार्यकर्ताले बोकेको झोलाभित्र बम विस्फोट हुँदा एकजनाको मृत्यु हुनुका साथै चारजना गम्भीर घाइते भए, जसमा तीनजना सर्वसाधारण थिए। घाइतेहरू अहिलेसम्म तंग्रिन सकेका छैनन्। प्रहरीले घटनास्थलबाट एक थान चिनियाँ पेस्तोलसमेत बरामद गरेको थियो। बिहीबार राति सिआइबीको केन्द्रीय टोलीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाटै चार थान पेस्तोलसहित तीनजनालाई पक्राउ ग-यो। यिनीहरूले हतियार कारोबार, मिटरब्याज र विभिन्न सरकारी कार्यालय तथा अड्डा अदालतका नक्कली छापसहितको कागजपत्र बनाएर विगत ६ वर्षदेखि ठगी धन्दा गर्दै आएको खुलेको छ।

यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पछिल्लो समय व्यापक आपराधिक गतिविधि, चोरीडकैती, लुटपाटका घटना बढेपछि स्थानीयले असुरक्षा महसुस गर्न थालेका छन्। ‘पछिल्ला दिनमा दैनिक चोरी, लुटपात तथा आपराधिक क्रियाकलापले समाज त्रसित छ,’ स्थानीय गीता रावलले भनिन्, ‘आपराधिक क्रियाकलापले महिलालाई हिँडडुल गर्न झनै गाह्रो छ।’

धनगढीमा आपराधिक गतिविधि बढेको इन्सेक क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय संयोजक खडकराज जोशी बताउँछन्। ‘धनगढीमा चोरी तस्करी, बलात्कार, लुटपाट, असुरक्षाका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्,’ उनले भने, ‘यसले आपराधिक गतिविधिमा संलग्नहरूको खोजीकार्यमा प्रहरी अनुसन्धान चुस्त र दुरुस्त हुन नसकिरहेको दर्साउँछ।’

संरक्षणमा अपराध

राजनीतिक दलका केही नेता, केही प्रहरी र शक्ति केन्द्रको आडमा आपराधिक घटनामा संलग्न व्यक्तिहरू सक्रिय रहेको बुझिएको छ। स्रोतका अनुसार बिहीबार राति पक्राउ परेको गिरोहको पनि केही प्रहरी अधिकारीसँग हिचमिच थियो। प्रहरी अधिकारी र शक्तिकेन्द्रनजिक रहेकाहरूका आडमा उनीहरूले राज्यलाई नै चुनौति दिनेगरी अर्बौंको ठगी निर्बाध रूपमै गरिरहेको खुलेको छ। यस्ता लुट र ठगी गर्ने अन्य गिरोह पनि धनगढीमा सक्रिय रहेको स्थानीय बताउँछन्।

अहिले यो गिरोह सिआइबीको केन्द्रीय टोलीले समाते पनि यस्तै आपराधिक गतिविधिमा संलग्न अन्य गिरोह र व्यक्तिहरू सक्रिय रहेको जानकारहरू बताउँछन्। स्थानीय व्यवसायी कृष्णबहादुर महरा भन्छन्, ‘राजनीतिक संरक्षणमा अपराधमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।’ राजनीतिक दलको संरक्षणमा रहेका व्यक्ति र गिरोहले धनगढीमा गरेको ठगीका कारण धेरै मानिसले आत्महत्यासमेत गरेको उनी बताउँछन्। ‘कैयौं व्यक्तिको मृत्यु घटनारहस्यमय नै छ,’ उनी भन्छन्, ‘यस्ता अपराधी समात्न पनि सिआइबी टोली सक्रिय हुनुपर्छ।’

आपराधिक गतिविधि सञ्चालन गरेका गिरोह र व्यक्तिले शक्तिमा रहेका केही नेता–कार्यकर्ता तथा केही प्रहरीलाई प्रभावमा पार्ने गरेको उनको भनाइ छ। ‘केही राजनीतिक दलका नेता–कार्यकर्तालाई यस्ता व्यक्तिले पैसा, महँगो वस्तु तथा गाडीहरू उपहार दिने गर्छन्,’ उनले भने, ‘त्यस्ता व्यक्तिबाट उपहार लिएका नेता–कार्यकर्ताले पनि उनीहरूको संरक्षण गर्दै आएका छन्।’

संरक्षणमा रहेका आपराधिक गिरोहबाट सञ्चालित व्यक्तिहरू विभिन्न स्थानमा गुन्डागर्दी, लुटपाट र चोरी तस्करी गर्ने गरेको स्रोत बताउँछ। बिहीबार समातिएका सञ्जय रानाकै केसमा पनि विगतका दिनमा प्रहरीले समात्न नसक्नुमा केही प्रहरीको साँठगाँठ र संरक्षण रहेको आशंका तेर्सिएको इन्सेकका क्षेत्रीय संयोजक जोशी बताउँछन्। ‘त्यत्रो अकूत सम्पत्ति देख्दादेख्दै प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सकेन,’ उनले भने, ‘जिम्मेवार निकायका केही व्यक्तिको साँठगाँठ र संरक्षण हुँदा अपराधले मौलाउने मौका पाउँछ।’

कैलालीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदीप गिरी भने सञ्जय राना समात्नु ठूलो सफलता भएको बताउँछन्। ‘हामी यो समूहको ठगी मात्र नभई अन्य अपराधको कनेक्सन पनि केलाइरहेका छौं,’ उनी भन्छन्। कतिपय प्रमाण नपुगेर पनि आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई समात्न गाह्रो हुने गरेको उनको भनाइ छ। धनगढीमा लागूऔषध दुव्र्यसनी बढेकाले चोरी र लुटपाटका घटना भइरहेका र तिनलाई नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको उनी बताउँछन्। हातहतियार प्रयोग गरेर हुने लुटपाटका घटना त्यति धेरै नभएको उनको दाबी छ।

ठूला अपराधका दोषी समातिँदैनन्
२०७० मंसिरमा नबिल बैंकको महेन्द्रनगर शाखाबाट धनगढी ल्याइँदै गरेको करोडभन्दा बढी रकम कैलालीको अत्तरियाबाट लुटियो। घटनाको सात वर्ष बितिसक्दा पनि अहिलेसम्म लुटेरा पत्ता लाग्न सकेको छैन। यस्तै २०७४ जेठमा धनगढी बुद्धचोकस्थित आफ्नै घरमा ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षीया पत्नी कुन्तादेवीको बीभत्स हत्या भयो। दिनदहाडै घरभित्रै हत्या गरेर त्यो रातभरि त्यही घरमा विभिन्न मानिसलाई बोलाएर नाचगान तथा भोजभतेर गरियो। दोस्रो दिन बिहान मात्रै वृद्ध दम्पतीको खोजी गर्दा घरको कोठाभित्र बीभत्स हत्या गरेको अवस्थामा शव भेटिए। नाटकीय ढंगले वृद्ध दम्पतीको हत्या गर्ने योजनाकार अहिलेसम्म पत्ता लाग्न सकेको छैन। वृद्ध दम्पती हत्याको विश्वसनीय कारणसमेत खुल्न सकेको छैन।

२०६९ मंसिर २५ गते राति धनगढी तारानगरका ओमप्रकाश पन्त आफूलाई ज्यानको खतरा भएको भन्दै घरबाट भागे। लगत्तै उनकी बहिनीले प्रहरीलाई खबर गर्दा बेवास्ता गरियो। दोस्रो दिन बिहान धारिलो हतियारले घाँटी रेटिएर मृत अवस्थामा उनी उत्तरबेहडीमा फेला परे। यो घटना पनि रहस्यमै छ। ‘संरक्षणमा हुने अपराध ठूलो चुनौती बन्दै गएको छ,’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्,‘सबैले चनाखो भएर आवाज नउठाउने हो भने यसले चिन्ताजनक अवस्था लिन सक्छ।’

ठगीबाटै कैयौंको उठीबास

मिटरब्याज र नक्कली कागजात बनाउँदै जग्गा बन्दगी राखेर ठगी गर्ने गिरोहका कारण धनगढीमा कैयौं स्थानीय घरबारविहीन बनेका छन् भने कैयौंले आत्महत्यासमेत गरेका छन्। धनगढी उपमहानगरपालिका–१२, वडा ७, वडा ३ लगायत विभिन्न स्थानमा ठगी गिरोहले जमिन हडपेको स्थानीय बताउँछन्। उनीहरूले मिटरब्याज खेलाउन नक्कली कागजात बनाई जमिन बन्धकी राख्नेजस्ता ठगी धन्दा गर्दै आएका छन्।

प्रकाशित: २२ भाद्र २०७६ ००:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App