coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्वोच्चलाई कार्कीका ज्वाइँको जवाफ- 'सही सूचना दिँदा असहयोग हुन्छ?'

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका ज्वाइँ प्रबल थापाले ससुराको मुद्दाको म्याद तामेलीमा आफूले अवरोध नगरेको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्।

अदालतको म्याद तामेलीमा असहयोग गरेको आरोपसहित कारबाही माग राखेर कार्की, उनका ज्वाइँ थापासमेत चार जनाविरुद्ध रिट दायर भएपछि सर्वोच्चले प्रतिवादीलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो।

कार्कीले तीन दिनअघि अदालत उपस्थित भई लिखित जवाफ बुझाएका थिए। थापाको लिखित जवाफमा घटना भएको दिन आफू कार्कीको घरसँगै जोडिएको काका ससुराको घरमा काम विशेषले गएको र त्यहीबेला म्याद बुझाउन आएका कर्मचारीलाई भेटेको उल्लेख गरेका छन्।

थापाले अदालतका कर्मचारीलाई आफूले कार्की आफ्नो घरमा नभई अख्तियार परिसरमा रहेको सरकारी निवासमा बस्ने सत्यतथ्य जानकारी दिएर सहयोग गरेको दाबी गरेका छन्। 'मैले दिएको जानकारीलाई अन्यथा अर्थ लगाई म्याद तामेलीमा अवरोध गरेको आरोप लगाउनु सर्वथा झुट हो', थापाको जवाफपत्रमा उल्लेख छ, 'मैले उहाँ (कार्की) टंगालस्थित आयोगको आवासगृहमा बस्ने भएकाले त्यहीं लगेर बुझाउन नम्र बोलीमा भनेको हुँ।'

उनले आफूले म्याद तामेलीमा कुनै अवरोध नगरेको दाबी गर्दै भनेका छन्, 'मैले कार्की आयोगकै परिसरमा रहेको सरकारी आवासगृहमा बस्नुहुन्छ। त्यहाँ म्याद बुझ्ने मानिस छन् भनेको हुँ।  यस कुराले प्रस्तुत मुद्दाको म्याद तामेलीमा सहयोग पुग्न गएको छ। सही जानकारी दिँदा म्याद तामेलीमा कसरी असहयोग भयो?'

थापाले म्याद तामेलीमा असहयोग गरेको समाचारसँगै उनको तस्बिरसमेत पत्रपत्रिकामा छापिएको थियो। कार्कीको बानेश्वरस्थित घरमा गएको अदालतको टोलीलाई थापाले म्याद तामेलीको सूचना टाँस्न नमिल्ने भन्दै धम्काएका थिए। वडा कार्यालयमा पनि गएका उनले कार्की नभएको घरमा म्याद तामेलीको सूचना टाँस्न नमिल्ने तर्क गर्दै विवाद गरेका थिए।

अख्तियारमा कार्कीको नियुक्ति र उनको योग्यतामाथि प्रश्न उठाउँदै  सर्वोच्चमा मुद्दा हालेका अधिवक्ता ओमप्रकाश अर्यालले उक्त मुद्दाको पुनरवलोकन हुने निर्णयको म्याद तामेलीमा असहयोग गरेको भन्दै कार्कीसमेत चार जनाविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए।

अवहेलना मुद्दामा प्रतिवादी बनाइएका चारै जनालाई सात दिनभित्र लिखित जवाफसहित आफैं अदालत उपस्थित हुन आदेश भएकोे थियो। अदालतले दिएको समयभित्रै सवै प्रतिवादी लिखित जवाफसहित हाजिर भएका छन्।

प्रकाशित: ३ मंसिर २०७३ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App