८ वैशाख २०८१ शनिबार
राजनीति

‘प्रधानमन्त्री बदल्नु हुँदैन, पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छ’

फाइल तस्बिर

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए। 

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरु भैसकेको स्पष्ट पारे। उनले भने, ‘हाम्रो पार्टी अहिले सत्तामा छ। वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन्। सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ। त्यसैले एक व्यक्ति एक प्रमुख जिम्मेवारी दिनुपर्छ।’

ज्ञवालीले पार्टी र सरकारबीच अन्तरसम्बन्ध रहेको सुनाए। तर, पार्टी र सरकार चलाउने अलग–अलग विधान रहेको उनको भनाई छ। उनले अहिले पनि पार्टीका नेता तथा कार्यकर्ताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको सुनाउँदै ज्ञवालीले यसले राम्रो नतिजा नदिने टिप्पणी गरे। 

उनले नेकपाभित्र अब चीन र रुसजस्तो एकै व्यक्तिले पार्टी र सरकार चलाउन नहुने धारणा राखे। उनले भने, ‘हामी चीन र रुसलेजस्तो चलाउन सक्दैनौं। सरकार चलाउनको लागि प्रधानमन्त्रीको अत्यन्तै धेरै व्यस्तता हुन्छ। त्यसैले अब प्रधानमन्त्री सरकारमा मात्रै केन्द्रित हुनुपर्छ। पार्टीको जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ। उहाँलाई सरकार चलाउनमा पार्टीभित्रबाट भरपुर सहयोग र समर्थन गर्नुपर्छ।’ 

पार्टीको महाधिवेशन नहुञ्जेलसम्म नेकपाभित्र दुई अध्यक्ष बाध्यता भएको उनको भनाई छ। ‘केन्द्र, प्रदेश र स्थानीय तहमा पनि एक व्यक्ति, एक प्रमुख जिम्मेवारी नियमलाई लागु गर्नुपर्छ’, उनले भने। ज्ञवालीले अब आउने स्थायी समिति र केन्द्रिय समितिको बैठकमा ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्थाबारे निर्णायक छलफल हुने सुनाए। उनले थपे, ‘यस विषयमा सचिवालय बैठकको प्रस्ताव हेर्न बाँकी छ।’

उनले वर्तमान प्रधानमन्त्री ओली संसदबाट निर्वाचित प्रधानमन्त्री भएकोले र उनले दुई वटा बजेट ल्याएकोले बजेट कार्यान्वयन लगायतका काम गर्न पनि प्रधानमन्त्रीबाट ओलीलाई बदल्न नहुने जिकिर गरे। उनले भने, ‘सरकारको नेतृत्व ओलीजीले गर्ने हो र प्रचण्डजीलाई पार्टी चलाउन एकल अधिकार दिनुपर्छ। प्रधानमन्त्रीमा ओलीजीलाई पार्टीभित्रबाट भरपुर सहयोग गर्नुपर्छ।’

नेता ज्ञवालीले प्रचण्डलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइए राम्रोसँग सञ्चालन हुने र यसले राम्रो नतिजा दिने पनि विश्वास दिलाए। त्यस्तै, उनले वर्तमान सरकारले राम्रै काम गरिरहेको पनि सुनाए। 

सत्तारुढ दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संविधान संशोधनसहित दुई बुँदे सहमति गरेर सरकारमा सहभागी भएको सुनाउँदै उनले कुन विषयमा संविधान संशोधन गर्ने भन्ने कुराको आवश्यकत्ता हेरिने पनि जिकिर गरे। सरकारमा बस्ने वा छोड्ने ? भन्ने कुरामा उपेन्द्र यादवले आफ्नो निर्णय गर्नसक्ने पनि उनको तर्क छ। उनले भने, ‘कतिञ्जेल सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा त्यो त उपेन्द्रजीले जान्ने कुरा हो।’

प्रकाशित: २१ भाद्र २०७६ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App