coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चिनियाँ व्यवसायीलाई उपराष्ट्रपतिकाे आग्रह : लगानीको पर्याप्त प्रतिफल पाइन्छ, ढुक्क भएर पूँजी परिचालन गर्नुस्

फाइल तस्बिर

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गरेका छन्। 

बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा शनिबार आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, “लगानीकर्ताको रकम र प्रतिफलको सुरक्षाको सुनिश्चिताका लागि नेपालमा पर्याप्त ऐन कानून छन्।” 

उपराष्ट्रपति पुनले नेपालमा पर्यटन, जलविद्युत्, खनिज पदार्थको उत्खनन, जडीबुटीको व्यावसायिक खेती तथा प्रशोधन, यातायातको सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार, कृषि प्रविधि र औजार उत्पादनलगायत अनेकन क्षेत्रमा लगानी गर्न सकिने बताए। उनले भने, “लगानीको राम्रो प्रतिफल प्राप्त हुन्छ, ढुक्क भएर पैसा हाल्नुस्।”

उपराष्ट्रपति पुनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा मात्र नभई कृषि अनुसन्धान, प्रयोगशाला, सेवा व्यवसाय, विद्युतीय सवारीसाधन, केवलकार र सुरुङमार्ग निर्माणमार्फत पनि यातायात क्षेत्रमा लगानीका प्रशस्त अवसर छन् भन्दै चीनसँगको साझेदारी र सहकार्यबाट नेपालको समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गरे।

कृषि नेपालको प्राथमिकताको क्षेत्र भएको तर, दुई अर्ब अमेरिकी डलर बराबरका कृषि उपज वर्षेनी आयात हुने गरेको कटु यथार्थ सुनाउँदै उनले कृषि उपजको आयात प्रतिस्थापन गर्न यस क्षेत्रमा पर्याप्त लगानी गरे प्रतिफल सुनिश्चित हुने बताए। उपराष्ट्रपति पुनले जैविक फलफूल र सागसब्जीको विश्वबजारमा ठूलो माग रहेको बताउँदै कतार र संयुक्त अरब इमिरेट्समा नेपाली जैविक उत्पादन निर्यात हुनेको जानकारी पनि दिए।

नेपाल र चीनबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई ६४ वर्षदेखिको कूटनीतिक माध्यमले अझ सुदृढ र सवल तुल्याएको बताउँदै उनले बेला–बेलामा दुवै देशबाट उच्चस्तरमा हुने भ्रमण आदानप्रदानले पारस्परिक मैत्रीलाई थप प्रगाढ बनाएको उल्लेख गरे।

प्रकाशित: २१ भाद्र २०७६ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App