८ वैशाख २०८१ शनिबार
अन्य

पोखरामा कलात्मक रेष्टुराँ

पोखराको बैदामेताल (फेवाताल) किनारामा दर्जनौं रेष्टुराँ छन्। जसरी तिनले फरकफरक स्वादका परिकार पस्कन्छन्, त्यसै गरी तिनको आन्तरिक सजावटमा पनि विविधता पाइन्छ। त्यस्तै एउटा फरक रेष्टुराँ सञ्चालनमा आएको छ– नगेन आर्ट लाउन्ज बार।

हल्लनचोकमा खुलेको रेष्टुराँमा कलाको सुगन्ध भेटिन्छ। पिँढीमा एक जना कलाकार मुहारचित्र बनाइरहेका भेटिन्छन्। भित्र रिसेप्सनदेखि सबैतिर भित्तामा चित्र सजाइएको छ। साँझ परेपछि माथिल्लो तलामा बसेर अर्का चित्रकार त्यसैगरी ग्राहकका पोट्रेट बनाउँछन्।

कलाकार नगेन सिंह ठकुरीको सक्रियतामा हल्लनचोकमा खुलेको ‘नगेन आर्ट लाउन्ज बार’ का भित्ताभरि चित्रैचित्र छन्। त्यहाँ पुग्दा मिठो अनुभूति हुन्छ।  

त्यहाँ पुग्दा कलाप्रेमीका आँखा र मन रमाउँछन्। त्यति मात्र होइन, त्यहाँ पाइने परिकार पनि कलात्मक देखिन्छन्। ग्राहकहरू हेर्नेबित्तिकै वाउ ! भन्छन्। पहिला आँखा र मनले भोजन गर्छन्। अनि स्मार्ट फोनले तस्बिर खिचेर काँटाचम्चा उठाउँछन्। 

चर्चित कलाकार नगेनसिंह ठकुरीको परिकल्पनामा उनकै चालीसौं जन्म दिनका अवसरमा ३० जेठ ०७६ देखि खुलेको रेष्टुराँ आफैंमा एउटा आकर्षक गन्तव्य बनेको छ।
रेष्टुराँमा रात परेपछि लाइभ म्यूजिक सुन्न पाइन्छ। अर्को कुरा, त्यहाँ पुगेर जन्म दिन मनाउनेहरूले उपहार पाउँछन्। ‘जसको जन्म दिन हो, उसलाई एउटा पेन्टिङ उपहार दिन्छौं’, कलाकार ठकुरी भन्छन्, ‘हाम्रो रेष्टुराँ कलाको सम्मान गर्छ।’ 

त्यहाँ उनले बनाएका चित्र मात्र होइन, मुलुकका थुप्रै मुर्धन्य कलाकारका चित्र पनि प्रदर्शनीमा राखिएको छ। कलाकारहरू रागिनी उपाध्याय, ठाकुरप्रसाद मैनाली, केके कर्माचार्य, किरण मानन्धर, गेहेन्द्र मानन्धर, विपिन घिमिरे, राधेश्याम मुल्मी, सुषमा राजभण्डारी, रमेश खनाल, धनु याख्खा लगायतका ७६ चित्र सजाइएको छ।

यसो भनौं रेष्टुराँ एउटा चित्रालय पनि हो। यसलाई ग्यालरीका रूपमा सजाइएको छ। बेलाबेलामा स्वदेशी तथा विदेशी कलाकारका चित्र प्रदर्शन गर्ने योजना छ। ठकुरी त्यहीँ बसेर बालबालिका र विदेशीलाई चित्र बनाउन पनि सिकाउँछन्।

यतिबेला उनको समूह ‘नगेन आर्ट होटल’ खोल्ने तयारीमा जुटेको छ। होटलका भित्तामा पनि चित्र सजाइने छ। उनीहरू नयाँ दिल्लीमा ‘नगेन दोहोरी साँझ’ खोल्ने गृहकार्य पनि गरिरहेकै छन्।  

उनले विसं २०६० देखि चित्रकलालाई मानव भोजन बनाउनु पर्छ भन्ने अभियान चलाएका। ‘मान्छे सुत्दा, उठ्दा, हिँड्दा, खाँदा जताततै चित्रकला हुनुपर्छ। हजुरबाले किनेर घरमा टाँसेको चित्र नातिका आँखाले पनि हेर्न पाउँछन्’, उनी प्रस्टीकरण दिन्छन्, ‘हरपल हाम्रा आँखाले चित्र भोजन गर्नु पर्छ।’

बागलुङको राङखानीमा जन्मेका ठकुरी स्कुल पढ्दैदेखि चित्र बनाउँथे। कला क्रान्तिमा हिँडेका उनले धेरै चेलाचेली जन्माइसके। विशेषतः इरोटिक चित्रकारका रूपमा चिनिएका उनी सिर्जनशील छन्। गोथिक ट्रयांगल थ्यौरीअन्तर्गत चित्र बनाउँछन्।

उनको महत्वाकांक्षी मिसन छ–विश्व कलायात्रा। ६ कात्तिक ०६७ मा लुम्बिनी पुगेर उनले ‘विश्व कलायात्रा’ घोषणा गरेका थिए। विश्व यात्रामा निस्कनुअघि नेपाल घुम्ने। त्यसपछि संसार घुम्ने र अन्त्यमा चन्द्रमामा पुगेर चित्र बनाउने उनको योजना।

उनी ४७ जिल्ला घुम्न भ्याइसके। ‘अबका दस वर्ष पैसा कमाउँछु’, उनी सुनाउँछन्, ‘५० वर्षको उमेरदेखि विश्व कलायात्रामा निस्कन्छु।’ कलायात्राका लागि उनलाई शुभकामना !

प्रकाशित: २१ भाद्र २०७६ ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App