हाइकिङ

तीन महादेव दर्शन

शनिबार, २१ भदौ २०७६, ११ : ५७ रामदेवी महर्जन

हरियो डाँडा। डाँडामाथि खुला चौर। थुम्का जस्तो देखिने भएकाले नामै थुम्काडाँडा। चौरमा सल्लाका रुख। सिरसिरे चिसो बतास। काभ्रेको थुम्का डाडाँबाट राम्रो दृष्य देखिन्छ। चारैतिर थुम्कैथुम्का। तलतल गाउँबस्ती। सबैभन्दा माथि नीलो आकाश। कति मिठो सौन्दर्य !
प्रकृतिभन्दा सुन्दर अरू केही छैन। प्रकृतिको सुन्दरतामा नरम्ने को होला र ! हरियाली बिछ्यौना ओढेकी प्रकृतिको सुन्दरतालाई पृष्ठभूमि बनाएर पदयात्रीहरू फोटो खिच्न मस्त भए।

हाम्रो देशलाई प्राकृतिक सुन्दरताले भरिदिएको छ। सबै ठाउँका आआफ्नै विशेषता छन्। ती विशेषता चिनेर त्यहीअनुसार काम गर्दै जान हो भने हाम्रा सबै युवा देशमै रमाउन सक्छन्। तर कस्तो अचम्म ! हामी यसलाई नचिनी भौतारिएका छौं।

यस्तै सोच्दै प्रकृतिलाई नियाल्दै थिएँ, पछाडिबाट ‘म्याम, एउटा फोटो खिचौं न’ भन्ने शब्दले झसङ्ग भएँ। फोटा खिच्नमा सबै व्यस्त। मैले पनि खिचें। क्यामेरामा मात्र प्रकृतिलाई कैद गरेर कहाँ पुग्दो रहेछ र, आँखा र मनको लेन्सले पनि खिचें त्यसलाई।

एउटै पदमार्गमा कैलाशनाथ, आशापुरेश्वर र डोलेश्वर महादेव दर्शन गर्न सकिन्छ। १९ किमि लामो पदमार्गमा प्रकृतिको सौन्दर्य र मन्दिरहरूको पवित्रतामा डुबुल्की मार्न पाइन्छ।  

काठमाडौंबाट केही पर पुग्नेबित्तिकै यस्ता सुन्दर गन्तव्य भेटिन्छन् जहाँ प्रकृतिको सुन्दर अँगालोमा परिने छ।

साउन महिनालाई हरियाली महिना भनेर चिनिन्छ। यही साउनको चौथो शनिबार २५ गते हामी प्रकृतिप्रेमी समूहको १४५ औं पदयात्रामा पुगेका थियौं साँगा भन्ज्याङमा। हाम्रो हाइकिङ गन्तव्य थियो–तीन महादेव दर्शन। एउटै रुटमा तीन महादेव कैलाशनाथ, आशापुरेश्वर र डोलेश्वर महादेव। हाम्रो रुट थियो साँगा भन्ज्याङबाट नमुना गाउँ, मगर बस्ती, खालचोक भन्ज्याङ, थुम्कीडाँडा, चतुरे हुँदै  आशापुरेश्वर र त्यहाँबाट माथिल्लो बाटो नैचाल गाउँ, पाटी भन्ज्याङ, डोलेश्वर मन्दिर हँुदै चन्द्रविनायकसम्म।

कैलाश महादेव
संसारकै अग्लो महादेव मूर्ति (१४३ फिट) मानिन्छ साँगाको मूर्ति। यसलाई कैलाश महादेव भनिन्छ। ०६७ असार ७ गते मूर्तिको उद्घाटन गरिएको थियो। उद्यमी कमल जैनको लगानीमा र्मूिर्त बनेको। मन्दिर जाने प्रवेशद्वारदेखि नै पसल छन्। मन्दिर  क्षेत्रमा प्राकृतिक उपचार केन्द्र र चिल्डे«न पार्क पनि छन्। खाजा पसल, रिसोर्ट र लजहरू छन्।

कैलाशपुरी क्षेत्र ७५ रोपनीमा फैलेको छ। महादेव मूर्तिको देब्रेपट्टि कुमार, पार्वती र गणेशका मूर्ति छन्। त्यस्तै दाहिनेपट्टि महादेवको वहान साँढे। मन्दिर नजिकै सेतो झरना बनाइएको छ।

मन्दिर क्षेत्रबाट मौसम खुलेका बेला काठमाडौं उपत्यका र हिमालको लस्कर देखिन्छ  भने तलतल हरिया खेत। हरेक दिन मन्दिरमा घुमन्तेको भीड लाग्छ। मन्दिरको फेदमा रहेको फन पार्कमा पनि पौडी खेल्नेहरू उत्तिकै देखिन्छन्।
 साउनको सेमबार भक्तजनहरूको मेला लाग्छ। मन्दिर बनेपछि साँगा भन्ज्याङ राम्रो पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। हामी भने कैलाशनाथ गएनौं। साँगा भन्ज्याङबाटै महादेव दर्शन गरेर आशापुरी लाग्यौं।

थुम्कीडाँडा
काभ्रेमा पर्छ थुम्कीडाँडा (१६५० मिटर)। पहिलापहिला यहीँ बाटो भएर पनौती, कुशादेवी हिँडिन्थ्यो। चारैतिर सुन्दर दृष्य देखिन्छ डाडाँबाट। यसको पूर्वमा  काभ्रेका बनेपा, पनौतीका साथै गाउँबस्ती र हरिया थुम्का देखिन्छ भने उत्तरमा काठमाडौं उपत्यकाको दृष्य।
त्यहाँका चौरमा बसेर खाजा खान सकिन्छ। यस ठाउँमा पिकनिक स्पट बनाउन सके पिकनिकेहरू आउँथे। थुम्कीडाँडाबाट करिब ६ किमि जंगलबाटो हिँडे पुगिन्छ आशापुरेश्वर।

आशापुरी महादेव
भक्तपुर र काभ्रेको संगममा पर्छ आशापुरी। आशापुरी महादेव दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास। मन्दिर छेउमा त्रिवेणी छ। नैचाल खोला, काँक्राबारी खोलाको दोभान छ। दोभान नजिकै धारा छन्। मन्दिरमा शिवलिंग पनि बनाइएका छन्। हरिया खेतबालीको बीचमा छ आशापुरी (१६०० मिटर)। मन्दिरको नाम आशापुरी रहनुमा किंवदन्ती छ। किवदन्तीअनुसार उहिल्यै ऋषिमुनिले आफ्नो आशा पूरा होस् भनेर महादेवको तपस्या गरेछन्।

महादेवले ऋषिलाई सुकेको मयल दिएर ‘यो जहाँ पलाउँछ र फुल्छ त्यहाँ तिम्रो आशा पूरा हुन्छ’ भनेछन्। ऋषिले धेरै ठाउँमा मयल रोप्दा नपलाएको र हाल जहाँ आशापुरी छ त्यस ठाउँमा मयल रोप्दा भोलिपल्टै पलाएर उनको आशा पूरा भएछ।
मनको आशा पूरा भएकाले यिनलाई आशापुरेश्वर भनिएको जनजागृति स्कूलका प्राध्यापक राजु बस्नेतले सुनाए।

आशापुरीमा तामाङ बस्ती छ। सबै कृिष कर्म गर्छन्। आशापुरी महादेव वरपर पिकनिक स्पट बनाएमा वनभोज खान आउनेको मेला लाग्न सक्छ। यसबाट गाउँलेका आयस्रोत बढ्छ। त्यसैगरी हरियाली डाँडामा हाइकिङ रुट बनाउन सकिन्छ। यसका लागि गाउँलेले सरोकारवालासँग समन्वय गरेर काम गर्नु पर्छ।  

पाटीभन्ज्याङ
आशापुरीबाट माथिल्लो बाटो हिँडेमा करिब ५.५ किमिमा पुगिन्छ पाटी भञ्ज्याङ। आशापुरीबाट भन्ज्याङ पुग्ने तीन बाटा छन्। पहिलो गाडी चल्ने बाटो, दोस्रो बीचको बाटो र तेस्रो माथिल्लो बाटो। माथिल्लो बाटो अलिक लामो छ। पाटीभन्ज्याङ (१८०० मिटर)मा तामाङ जातिको बसोबास छ जहाँ खाजा खाने पसल छन्। खुला ठाउँमा रहेकाले वातावरण सफा छ। यहाँबाट डोलेश्वर जाने गाडी चल्छन्। यहाँबाट ३ किमि दूरीमा डोलेश्वर महादेव र करिब डेढ किमि दक्षिणमा ऐतिहासिक गढीको पदयात्रा गर्न सकिन्छ।

डोलेश्वर महादेव
डोलमा बसेका महादेव हुनाले डोलेश्वर महादेव भनिएको। यसलाई केदारनाथको शीर पनि भनिन्छ। डोलेश्वरबारे किंवदन्ती छ। किंवदन्ती अनुुुसार महाभारत युद्धपछि पाण्डव स्वर्ग जान लाग्दा केदारनाथ दर्शन गर्न गए। केदारनाथले आफ्ना सन्तान नाश गरेर आएका पाण्डवलाई दर्शन दिएनन्। उनी  साँढेको रूप धारण गरी त्यहाँबाट भागे। यो कुरा थाहा पाएर भागेका साँढेको पुच्छर भिमसेनले समातेर ताने। तान्दा साँढेको शिर उछिट्टियो। त्यही उछिट्टिएको शिर डोलेश्वर महादेव हुन् भन्ने मानिन्छ। यसलाई भारत, उत्तराखण्डस्थित केदानाथको शिर भाग मानिएको छ। केदारनाथधामका पिठाधिशले ०६६ भदौ ६ मा डोलेश्वर नै केदारनाथको शिर भएको घोषणा गरेका थिए। ०६७ भदौ १८ देखि त्यहाँ नियमित चण्डी पाठ हुँदै आएको छ।

मन्दिरभित्र कालो पत्थरको शीला छ जसलाई चाँदीको नागले बेरिएको छ। मन्दिर बाहिर महादेवका बहान नन्दीको मूर्ति छ। वरपर त्रिशुल, नाग, डमरु, पित्तलका बज्र  र अन्य देवीदेवताका मूर्ति छन्। मन्दिरको चारैतिर ढोका छन्। त्यहाँ वर्षको तीन पटक–वैशाख÷जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वार्षिक उत्सव भदौ ६ गते र शिवरात्रिका दिन मात्र भक्तजनले शिवलिंग छोएर पूजा गर्न पाउँछन्। अरू बेला पूजारीमार्फत् पूजा सामान चढाइन्छ।

मन्दिर पुर्ननिर्माण हुँदै छ। ‘दुई तले प्यागोडा शैलीको मन्दिर बनाउँदै छौं’, स्थानीय कन्चन थापा भन्नुहुन्छ, ‘हामीले मन्दिर अगाडि धर्मशाला र गणेश मन्दिर बनाइसकेका छौं।’ ५ वर्षभित्र मन्दिर निर्माण सकिनेछ।

स्वच्छ वातावरण भएको महादेवस्थान बाटोघाटोको राम्रो व्यवस्था र प्रचार हुन सके प्रख्यात बन्न सक्छ। हामी साउनको अन्तिम शनिबार पुगेका बेला मन्दिरमा मेला लागेको थियो।

डोलेश्वरसम्मै सार्बजनिक गाडी चल्छन्। सूर्यविनायकबाट डोलेश्वर मुन्तिरसम्म बस चल्छन्। बसपार्कबाट १० मिनेट हिँडेमा मन्दिर पुगिन्छ।

चन्द्रविनायक
डोलेश्वरबाट करिब १ किमि मुन्तिर छ चन्द्रविनायक मन्दिर। ठूलो ढुङ्गाको शिलामा गणेश आकारको कालो पत्थर छ। किंवदन्तीअनुसार पाण्डवहरू शिव दर्शन गर्न आउने क्रममा यहाँ पुग्दा पहिला गणेशको दर्शन गरेर गएका थिए। गणेशको दर्शन गरेको ठाउँमा रहेका गणेशलाई नै चन्द्रविनायक भनिन्छ। यहाँ मन्दिर बनाइएको छ। चन्द्र विनायकबाट सूर्यविनायक करिब ३ किमि दूरीमा छ।

हामी बसबाटै अग्लो महादेवको दर्शन गर्दै साँगा भन्ज्याङ पुगेका थियौं। भञ्ज्याङमा केहीबेर पदयात्रा गन्तव्य र पदयात्रा नियमको जानकारी गराएर अघि बढ्यौं। छेउछाउमा मकैबारी। बाटैमा नमुना बस्तीका पुरानो शैलीमा बनेका घर। १२ वैशाखको भुइँचालोले यसलाई पनि क्षति पु¥याएको रहेछ।

यहाँबाट साँगा महादेव र काठमाडौंको पूरा दृष्य देखिन्छ। हामी त्यहाँबाट मगर बस्ती हुँदै खालचोक भन्ज्याङ पुग्यौं। साँगा भन्ज्याङबाट करिब ३ किमि दुरीमा छ खालचोक।

हाम्रो पूर्व निर्धारित योजनाअनुसार खालचोकबाट सिधा आशापुरी जाने थियो तर हामीले बाटो परिवर्तन ग¥यौं। हामी खालचोक भन्ज्याङबाट पूर्व बाटो लाग्यौं। बाटोबाटै देख्यौं पहाडी सुन्दरता। चर्को घाममा हरियाली र सुन्दर दृष्यले गर्मी बिर्साइदियो।

हामी खालचोक भन्ज्याङबाट खालचोक गाउँ, थुम्का डाँडा, चतुरे हुँदै  आशापुरेश्वर पुग्यौं। आशापुरीको जनजागृति स्कूलमा स्वस्थवद्र्धक खाजा खायौं। खाजा पछि १ घण्टा अन्तरक्रिया गरेर डोलेश्वर हुँदै चन्द्रविनायकसम्म पदयात्रा ग¥यौं।

हामी त पुग्यौं तीन महादेव पदयात्रामा। हामी सबैले सके हप्तैपिच्छे नसके महिनाको एक पटक मात्र यसरी पदयात्रा गर्दा देशलाई बुझ्न सकिन्छ। आन्तरिक पर्यटन पनि विकास हुन्छ। हाम्रो घुम्ने बानीले नेपाल भ्रमण वर्ष २०२० लाई पनि टेवा पुग्छ। तपाई पनि यात्रामा निस्कने कि !

कसरी पुग्ने
काठमाडौंबाट साँगा भन्ज्याङ २० किमि, गाडीमा। त्यहाँबाट नमुना बस्ती, मगर गाउँ, खालचोक भन्ज्याङ, थुम्कीडाँडा, चतुरे गाउँ हुँदै आशापुरेश्वर र त्यहाँबाट पाटीभन्ज्याङ डोलेश्वर हुँदै चन्द्रविनायकसम्म पदयात्रा। चन्द्रविनायकबाट सूर्यविनायकसम्म पदयात्रा गर्न पनि सकिन्छ। साँगा भन्ज्याङ– खालचोक भन्ज्याङ ३ किमि, खालचोक– आशापुरेश्वर ७ किमि जंगल र बस्तीको बाटो, आशापुरी– पाटीभन्ज्याङ ५.५ किमि माथिल्लो बाटो, पाटीभन्ज्याङ– डोलेश्वरबाट ३.५ किमि र डोलेश्वर– चन्द्रविनायक १ किमि। जम्मा पदयात्रा दूरी २० किमि। समय ६ घण्टा।

जनजागृति विद्यालयका दुःख

विज्ञान प्रयोगशाला, कम्प्यूटर र पुस्तकालयको पनि खाँचो देखिन्छ।
आशापुरी नजिकैको जनजागृति आधारभूत विद्यालमा दुईतले भवन छ। भवनअघि सानो चौर छ जहाँ विद्यार्थीलाई खेलाउन खेलौना राखिएको छ। तामाङ बस्तीका कृषकका बालबालिका पढ्छन् त्यहाँ। कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा ८० विद्यार्थी भएको प्रधानाध्यापक राजु बस्नेत बताउँछन्। निम्न आयस्रोत भएका अभिभावकका बढी त्यहाँ पढ्छन्।

विद्यालय ०६६ सालदेखि सञ्चालनमा आएको। बस्नेतका अनुसार पचास प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाइएको छ। कृषि कर्ममा व्यस्त हुने भएकाले अभिभावकहरू बालबच्चाको रिपोर्ट कार्डसम्म लिन आउन भियाउँदैनन्।

विद्यालयमा ७ शिक्षक छन्। सरकारी दरबन्दीका एक जना मात्र हुन्। ‘निजी स्रोतमै शिक्षक व्यवस्था गरेकाले तलब खुवाउनै समस्या छ’, प्रधानाध्यापक बस्नेत भन्छन्, ‘हामी सरकार र सहयोगीबाट सहयोग पायौं भने कक्षा १० सम्म चलाउने थियौं।’
त्यहाँ विज्ञान प्रयोगशाला, कम्प्यूटर र पुस्तकालयको खाँचो देखिन्छ।

राजधानीबाट २४ किमि दुरीमा भए पनि आशापुरेश्वर क्षेत्रमा धेरै विकासका भएको छैन। गाउँमा करिब तीन सय धुरी थिए। भुइँचालोले क्षति भएपछि कतिपय बनेपा र भक्तपुरतिर बसाइँ सरेका रहेछन्।

हामी हाइकिङ मात्र गर्दैनौं, बेलाबेलामा यस्ता ठाउँमा सहयोग पनि गर्छौं। पहिलो पटक यस ठाउँमा हाइकिङ गर्दा हामीले हाइकर्ससँग उठाएर २५ हजार रुपैयाँ सहयोग गरेका थियौं।

स्वास्थ्य र शिक्षा सबैको अधिकार हो। शिक्षा र स्वास्थ्य राम्रो भएमा देश स्वतः राम्रो हुन्छ। तर, काठमाडौं नजिकैको स्कूलको अवस्था यस्तो देख्दा दुःख लाग्यो। अझ दुर्गम गाउँको हालत के होला ? त्यसैले सरकार, गाउँपालिका लगायत सरोकारवाला र अन्य मनकारीहरूले गच्छेअनुसार सहयोग गरेर बालबालिकालाई शिक्षाको ज्योति दिन सहयोग गरौं।

सहयोग खाँचो
राजु बस्नेत
प्रधानाध्यापक
काठमाडौंबाट नजिक भए पनि हाम्रो गाउँमा धेरै विकास हुन बाँकी छ। हाम्रो विद्यालयमा ७ शिक्षक छन्। सरकारी दरबन्दीका एक जना मात्र हुन्। निजी स्रोतमै शिक्षक व्यवस्था गरेकाले तलब खुवाउनै समस्या छ। सरकार र सहयोगीबाट आर्थिक तथा भौतिक सहयोग पायौं भने हामी कक्षा १० सम्म चलाउने थियौं।  
सम्पर्क  : ९८४१३९४८७२  


जनबोली
विधान आचार्य त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक हुनुहुन्छ। उहाँ बेलाबेलामा हाइकिङ गर्नु हुन्छ। ‘शरीर जति निस्क्रिय रह्यो उति रोगी हुन्छ। सहरीकरण बढेसँगै जीवनमा जटिलता थपिन्छन् र शारीरिक सक्रियता घट्दो र मानसिक तनाव बढ्दो हुन्छ’, विधान भन्नु हुन्छ, ‘यस्तो अवस्थामा पदयात्राबाट एकातिर आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन सहयोग पुग्छ भने अर्कोतिर महत्वपूर्ण ठाउँको पर्यटकीय भ्रमण पनि हुन्छ। प्रकृतिप्रेमी समूहको पदयात्रामा स्वास्थ्य लाभसँगै गीत, कविता सुनाउने जस्ता अन्य क्षमता विकासमा पनि सहयोग पुगेको छ।’
...
संगीता श्रेष्ठ गृहिणी हुनुहुन्छ। भक्तपुरबाट पहिलो पटक पदयात्रामा आउनु भएकी उहाँले समूहमा हिँड्न पाउँदा रमाइलो मान्नु भयो। ‘हिँड्दा शरीर बलियो हुन्छ। स्वच्छ हावामा हिँड्दा स्वस्थ भइन्छ। साथै प्रकृतिको नजिक पुग्न सकिन्छ’, संगीता भन्नु हुन्छ, ‘गृहिणीहरू धेरै समय घरमा बिताउँछन्। त्यसैले महिनाको एक पटक मात्र भए पनि स्वच्छ वातावरण भएका गाउँपाखामा हिड्नु पर्छ। यसो गर्दा फ्रेस भइन्छ। जाँगर बढ्छ। नयाँ ज्ञान पनि पाइन्छ।’








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad