coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘क्षमता’ र ‘प्रतिभा’को राजनीति

यतिबेला नेपालका संगीतप्रेमी माझ झुप्री भण्डारी र भारतका संगीतप्रेमी माझ रानु मण्डल चर्चामा छन्। अछामकी दृष्टिविहीन झुप्रीको कहानी र प्रतिभा काठमान्डुसम्म आइपुगेको छ। ‘टेलिभिजन रियालिटी सो, भ्वाइस अफ नेपाल’मा मौलिक गीत गाएसँगै उनले आफ्नो गायकीको प्रशंसा र ‘दृष्टिविहीन हुनु’को दया वा संवेदना दुवै बटुलिरहेकी छन्।

त्यस्तै, भारतको एक रेलवे स्टेसनमा गीत गाएर गुजारा गर्ने रानु अकस्मात ‘म्युजिकल रियालिटी सो’ हुँदै बलिउडसम्म पुगेकी छन्। उनले लता मंगेशकरको स्वर रहेको ‘एक प्यार की नगमा’ बोलको गीत गाइरहेको भिडियो कैद गरी कसैले सामाजिक सञ्जालमा अपलोड गरेसँगै उनको चर्चा चुलियो। अन्ततः उनले बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियासँग गीत गाउने अवसर पाइन्, त्यसपछि उनको ‘डिमान्ड’ बेग्लै छ।

यी दुवैको आ–आफ्नो देशमा चर्चा हुनु (रानुको चर्चा नेपालमा पनि छ) निश्चय नै यो सकारात्मक समाचार हो, यसले मानिसहरूमा मानवीय संवेदना जगाउनुका साथै प्रतिभा कदरको भावना प्रवाह गरेको छ। यो चर्चाको पिँधमा भने यिनीहरू दुवैको दुःखपीडा र गरिबीको कहानी छ, जो मिडियामा बिक्दो छ।

यी दुवै पात्रका केही विशेषता मिल्छन्। दुवै महिला हुन् र यिनीहरूमा आ–आफ्नै शैलीको गायन प्रतिभा छ। यी दुवैले आ–आफ्नो समाज र राज्यमा भोगेको पीडा, उत्पीडन, विभेदको प्रकृति पनि मिल्दो छ। दृष्टिविहीन भएका कारण झुप्री र गरिबीका कारण रानु समाजको अमानवीयकरण अर्थात् ‘डिह्युमनाइजेसन’को चपेटामा परे। बहुसंख्यकको समाज वा राज्यमा वर्ग, जात, धर्म–संस्कृति, क्षेत्र, लिंग, रूप–रंग, अपांगता, अल्पसंख्यक आदिका आधारमा कुनै व्यक्ति वा समुदायलाई पूर्ण मानव ठानिदैन। ‘अपूर्ण मानव’को व्यवहार अर्थात् अमानवीयकरण मात्रै गरिँदैन, समाजका अन्य मानवले पाउँदै आएको सामाजिक सुविधादेखि उसलाई वञ्चित गर्न जानिदो वा नजानिदो ढंगले भूमिका खेलिन्छ। जसकारण समाजमा कतिपय व्यक्ति वा समुदाय उत्पीडनमा पर्छन्, योसँगै उनीहरूमा भएको क्षमता र प्रतिभाले प्रस्फुटन हुने आधार र अवसर पाउँदैन।

प्रतिभा र पुँजीवाद
पछिल्लो समय विश्वमै टेलिभिजन ‘रियालिटी सो’को ‘ट्रेन्ड’ छ। नक्कल र ‘फ्रेन्चाइज’ हुँदै त्यसको प्रभाव हामीसम्म आइपुगेको छ, जसले जुनसुकै वर्गका व्यक्तिको प्रतिभालाई उजागर गर्ने र अवसर दिने दाबी गर्छ। झुप्री र रानुलाई मिडियामा देख्दा, रानुले बलिउडमा राम्रै पारिश्रमिक लिएर गीत गाएको सुन्दा हामीलाई पनि ‘रियालिटी सो’माथि विश्वास लाग्न सक्छ। तर, यो पुँजीवादको विस्तार र सांस्कृतिक साम्राज्यवादको एक उदाहरण हो।

यो संसार क्षमतावान् र प्रतिभावान्हरूले हाँकिरहेका छन्, प्रतिभा र क्षमता नभएकाहरू नै पछाडि परेका हुन्, गरिब र मागेर खाने भएका हुन् भन्ने मिथकले हामीलाई भ्रष्ट बनाइसकेको छ।

पुँजीवादले यो भ्रम फैलाउँछ– दुनियाँमा जो–कोही क्षमता र प्रतिभाका कारण एक्लै धनी वा सफल हुन सक्छ, यो विश्व क्षमतावान् र प्रतिभाशालीले नै हाँकिरहेका छन्। यहीँनेर पुँजीवादले यो तथ्य लुकाइरहेको हुन्छ– पुँजीवाद लगानीमा चल्छ, लगानीले नाफा खोज्छ र नाफा दिएको वा कमाएको हदसम्म मात्रै कुनै पनि व्यक्तिको क्षमता र प्रतिभा मान्य हुन्छ, नत्र कुनै काम छैन। रानुले जस्तै गीत गाउने अरु आए, कुनै कारणवश उनीहरूले रानुको ठाउँ लिए र रानुको गायकी बजारमा बिकेन भने उनलाई कसैले अवसर दिनेवाला छैन। त्यसपछि के उनी फेरि रेलवे स्टेसनमा पुग्ने ? उनीप्रति राज्यको कुनै दायित्व छैन ? हिजो आफैँ लगानी गर्ने हैसियत भएको भए उनले बुढेसकालमा रोटीका लागि रेलवे स्टेसनमा गीत गाएर बस्नुपर्दैनथ्यो, जवानी छँदै अगाडि बढ्ने प्रयत्न गर्थिन्।

पुँजीवाद मात्रै यस्तो आर्थिक प्रणाली हो, जसले संसारमा सबैलाई अगाडि बढ्ने अवसर दिन्छ, यही गलत बुझाइले मानिसहरूको विवेकलाई यसरी भुटिरहेको छ, अधिकांशले राज्यसँग सामाजिक न्याय नामको दायित्व पनि हुन्छ भन्ने भुलेका छन्। परिणामतः लाखौँ अपांगता भएकाहरू र गरिबहरूको जीवनमा फेरबदल आउन विशेष खालको प्रतिभा वा क्षमता हुनैपर्छ भन्ने झुटो विश्वासले मानिसमा घर गरिरहेको छ। पुँजीवादी विश्वको सिद्धान्त र आदर्श यही हो, मानिसहरूको दुःख वा सुखको पछाडि केवल व्यक्तिगत वा पारिवारिक कारण जिम्मेवार हुन्छ। त्यसमा इतिहास, समाज वा राज्यको कुनै भूमिका र दायित्व हुँदैन। त्यसैले पुँजीवादी देशहरूले टेलिभिजन ‘रियालिटी सो’मा आउने प्रतियोगीको संक्षिप्त भावुक कथा पनि प्रस्तुत गर्छन्, ताकि त्यसले दर्शकको संवेदना शोषण गरोस्, सम्मोहित बनाओस्– यो संसारमा हरेकसँग आ–आफ्नै दुःखसुख र संघर्षको कहानी छ, प्रतिभा र क्षमता भएकाले नै प्रगति गर्ने हुन्।

झुप्रीमा झट्ट प्रस्तुत गर्न सकिने गायन वा अरु कुनै जन्मजात प्रतिभा नभए पनि उनको आत्मसम्मान र आधारभूत आवश्यकता परिपूर्तिमा राज्य जिम्मेवार हुनैपर्छ। यहाँ विशेष प्रतिभा नभएका वा प्रतिभा भएर पनि प्रस्फुटन गर्न नपाएका थुप्रै अपांगता भएका व्यक्ति छन्। त्यसैले अपांगता भएकाहरूलाई मात्रै होइन, गरिबीको चपेटामा र ऐतिहासिक उत्पीडनमा परेकाहरूलाई राज्यले आत्मसम्मान र आधारभूत आवश्यकता पूर्ति गर्नैपर्छ। किनभने, उनीहरू पछाडि पर्नुमा इतिहासमा कहीँ न कहीँ राज्य जिम्मेवार थियो।

राज्यको उत्पत्ति भएदेखि नै राज्यका सेवा–सुविधा र सम्पत्तिमा अधिकार सत्ताधारीहरूले लिँदै आए। परिणामतः राज्यमा सीमित वर्गले अवसर लिँदै र ठूलो तप्का किनारीकृत हुँदै आयो। क्रमशः जमिनदार र भूदासहरू, कलकारखाना र कामदारहरू, शासक र शोषितहरू देखापर्न थाले। समाजको माथिल्लो तहमा परेकाहरूले क्षमता बढाउन र प्रतिभा देखाउन पाए।

हाम्रो भूगोलको इतिहासमा लिच्छविकालदेखि नै हिन्दूहरू, त्यसमा पनि उच्च जातका पुरुषहरूले राज्यका सेवा–सुविधा र सम्पत्तिमा अधिकार जमाए। अन्ततः देशमा दलित, महिला, जनजाति लगायत अल्पसंख्यकहरू उत्पीडनमा परे।

त्यसैले हामीले विश्वमै न्यायका लागि नबोले पनि कम्तीमा देशभित्रका झुप्रीहरू लगायत उत्पीडित वर्गको न्यायका लागि आवाज उठाउनुपर्नेछ। तर, हामी क्षमता र प्रतिभाको जञ्जालमा यसरी फसिरहेका छौँ– प्रतिभा र क्षमता नभएकै कारण मानिस पछाडि परेका हुन्, गरिब र मागेर खाने भएका हुन् भन्ने मिथकले हामीलाई भ्रष्ट बनाइसकेको छ।

साम्राज्यवाद
दोस्रो विश्वयुद्धपछि दुनियाँमा एक राज्यले अर्को राज्यमाथि शासन गर्ने परिपाटी हट्दै गयो। तर, आजको विश्वमा आर्थिक, राजनीतिक, भाषिक र सांस्कृतिक साम्राज्यवादलाई बढावा दिने थुप्रै साधन छन्। टेलिभिजन, पत्रपत्रिका, पुस्तक, फिल्म, कला–साहित्य, सामाजिक सञ्जाल आदिका माध्यमबाट वस्तुको मात्रै होइन, विचारधारा, विवेक र धर्म–संस्कृतिको पनि ‘ब्रान्ड’ बनाइएको छ र अविकसित राष्ट्रहरूमा प्रभुत्व जमाइएको छ। यस्तो किसिमको साम्राज्यवाद विशेषतः विकसित राष्ट्रहरूबाट अविकसित राष्ट्रहरूतिर, पश्चिमी राष्ट्रहरूबाट पूर्वीय राष्ट्रतिर फैलिरहेको हुन्छ।

इडवार्ड सइदले आफ्नो पुस्तक ‘ओरियन्टलिजम्’ अर्थात् प्राच्यवाद (पश्चिमा राष्ट्रले पूर्वीय राष्ट्रहरूलाई हेर्ने दृष्टिकोण)मा लेखेका छन्, ‘प्राच्यवाद पूर्व र पश्चिमको असमान भौगोलिक विभाजन मात्रै होइन, समग्र स्वार्थको एउटा शृंखला हो, जसलाई विद्वतापूर्ण खोज, भाषाशास्त्रीय पुनर्संरचना, मनोवैज्ञानिक विश्लेषण, भूदृश्य र समाजशास्त्रीय वर्णनको माध्यमद्वारा अगाडि सारिएको छ।’

पश्चिमाहरूले आफूहरूलाई सुसंस्कृत, सभ्य र उच्च ठान्दै पूर्वमाथि विभिन्न तवरले शासन गरिरहेको सइदको निष्कर्ष छ। इटालीका विद्वान् एन्टोनियो ग्राम्सीले प्रयोगमा ल्याएको सांस्कृतिक प्रभुत्व (कल्चरल हेजेमोनी) शब्दलाई सइदले थप अथ्र्याउने प्रयास गर्दै लेख्छन्, ‘कुनै विशेष समाजमा केही खास सांस्कृतिक रूपहरूले अरुमाथि नियन्त्रण कायम गर्छन्। ...सांस्कृतिक नेतृत्वको यही रूप ग्राम्सीको सांस्कृतिक प्रभुत्व हो, जसले प्राच्यवादलाई स्थिरता र शक्ति प्रदान गर्छ।’

आज आर्थिक, सांस्कृतिक साम्राज्यवादका कारण गरिब राष्ट्रहरूले आफ्नो उत्पादनमा जोड दिन सकिरहेका छैनन्। कृषिप्रधान भनिएको हाम्रो देशमा स्वदेशी उत्पादनले भन्दा विदेशीले बजार लिइरहेको छ। आफ्नो मौलिक संस्कृति र कला–साहित्यको प्रवद्र्धन गर्न, आफ्नो राष्ट्रभित्रको विशेष समस्यालाई केलाउन र समाधान खोज्न पनि हामीले मौलिक मत र मानक निर्माण गर्न सकेका छैनौँ, आयातित मानक र सिद्धान्तमै अल्झिरहेका छौँ। हामीले भर्खरै सामाजिक न्यायमा आधारित अर्थात् समाजमा विद्यमान विभेद हटाउने हेतुले संविधान त बनायौँ, त्यस अनुरूपको विचार र बाटो बनाउन हाम्रो विवेकले भ्याइरहेको छैन।

विभेदको अन्तर्सम्बन्ध
विभेदकारी व्यवहार सधैँ बहुसंख्यकले अल्पसंख्यकलाई, सत्ताधारीले नागरिक वा सीमान्तकृतलाई, धनीले गरिबलाई, शारीरिक रूपमा ठिकठाकले अपांगता भएका व्यक्तिलाई, निरोगीले रोगीलाई एक–अर्कासँग सम्बन्धित भएर मात्रै गर्छन् भन्ने होइन। समाजमा विभेद थुप्रै कारक तत्वसँग सम्बन्धित भएर देखापर्छ। जस्तोः देशमा महिलाको जनसंख्या पुरुषको भन्दा बढी भए पनि पुरुषवादी समाजका कारण पुरुषले नै महिलालाई विभेद गरिरहेका हुन सक्छन्। महिलाहरूभित्रै धनी, गरिब, जात, धर्मका आधारमा एक–अर्कालाई विभेद हुन सक्छ। अपांगता भएको व्यक्तिले अन्य व्यक्तिलाई धन–सम्पत्ति, धर्म–संस्कृति, जात, लिंग आदिका आधारमा विभेद गर्न सक्छ।

हिन्दू वर्ण–व्यवस्थामा आधारित समाजमा गरिब तर कथित उच्च जातको व्यक्तिले धनी तर कथित तल्लो जातको व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछुत गर्न सक्छ। यसको विपरीत धनी तल्लो जातको व्यक्तिले धन–सम्पत्तिकै आधारमा हेप्न सक्छ। त्यस्तै, कथित उच्च जातिहरूभित्रै र दलित समुदायभित्रै अस्पृश्यताको व्यवहार हुन सक्छ।

विभेदकारी व्यवहार विशेषतः तीन कारक तत्वसँग अन्तर्सम्बन्धित हुन्छ— १) सम्पत्ति। २) सत्ता। ३) सोच वा मानसिकता।

सम्पत्तिले मानिसको भौतिक आवश्यकता पूर्ति गर्छ। सम्पत्तिकै माध्यमबाट मानिसले गाँस–बास–कपास लगायत विलासी साधनहरू, केही हदसम्म मानिसको मत, माया र साथ पनि किन्न सक्छ। त्यसैले सम्पत्ति स्वयंमा एक शक्ति हो, यसले सम्पत्ति नहुनेहरूलाई अनेक प्रकारले विभेद (शासन) गरिरहेको हुन्छ।

विभेदको अर्को कारक तत्व हो– सत्ता। देशको प्रशासनिक संयन्त्रमा आधिकारिक व्यक्तिको रूपमा रहनु मात्रै सत्ता प्राप्त गर्नु होइन, सत्ता समाजको स–साना तहमा निर्माण भएको हुन्छ। त्यस्तो सत्ताधारी व्यक्तिले वर्ग, जातजाति, धर्म–संस्कृति, लिंग, क्षेत्र, अपांगता आदिका आधारमा आफूलाई अरुभन्दा उच्च ठानेर अरुलाई विभेदकारी व्यवहार गरिरहेको हुन्छ।

मानिसले विभेद गर्नुको अन्तिम तर्क आस्था–विश्वास र मानसिकतामा गएर ठोकिन्छ। व्यक्तिको मानसिकताबारे यो उदाहरण हेरौँ–
अस्ति भर्खरै, मेरो चिनजानको बाहुन साथीका बुवा स्याङ्जाबाट काठमाडौं आउँदा बसमा झोला साटियो। झोलामा खीर, कुराउनी, घिउ लगायत दुग्धजन्य परिकार थियो। आफ्नो झोलामा कुनै महŒवपूर्ण कागजात वा पैसा लगायत सम्पत्ति नभएको र साटिएर आएको झोलामा पनि त्यस्तो कुनै चिज नभएपछि त्यो परिकार खाने सल्लाह भयो। तर, खानुअघि शंका गरियो, ‘कुन जातले बनाएको होला ? दमाई–कामी जस्ता पानी नचल्ने जातको घरमा पकाएको त होइन होला ?’

साथी यो घटना सुनाउँछ, ‘अन्ततः मेरो बुवा यो निष्कर्षमा पुग्नुभयो– गाउँका दलितहरू गरिब नै हुन्छन्, अचेल गाई–भैँसी पालेर यत्तिका घिउ जम्मा गर्ने पक्कै पनि बाहुन–क्षत्री हुनुपर्छ। यही ठानेर उहाँले ती परिकार खानुभयो। यद्यपि, उहाँ रोजगारीका लागि देश–विदेश घुमेको मान्छे हुनुहुन्छ।’

यहाँनेर, साथीको बुवामा समाजले सिकाएको जातीय मानसिकता देखिन्छ। विज्ञान–प्रविधि, नयाँ व्याख्या–विश्लेषण, कानुनी व्यवस्था आदिमा संसार जति अगाडि बढे पनि मानसिकताका हिसाबले मानिस निकै पछाडि हुन सक्छ।

अधिकांश समाज विशेषतः व्यक्तिहरूको धार्मिक आस्था, सामाजिक मूल्य–मान्यता र राज्यको कानुनमा बाँधिएको हुन्छ। त्यसैले एउटा व्यक्तिको आस्था, मानसिकता र चेतना निर्माणमा आर्थिक अवस्था, सामाजिक नियम, धर्म–संस्कृति, राज्यको कानुनसँगै व्यक्तिगत चिन्तन–मनन, अध्ययन, अनुभव र बाह्य समाजको भूमिका रहन्छ। एउटा व्यक्तिको मानसिकता निर्माणमा मात्रै होइन, राज्यकै कानुन निर्माण प्रक्रियामा त्यस राज्यको राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक इतिहास र विश्व परिवेशले भूमिका खेल्छ।

नेपालीले घाँटी छोएर हात फुक्ने, बिजुली बत्ती बालेर नमस्ते गर्ने, देउता रिसाउँछन् भनेर जातीय भेदभाव तथा छुवाछुत गर्ने, छाउपडी मान्ने, आ–आफ्नो धर्म–संस्कृति अनुसार मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतमा पुगेर श्रद्धा भाव व्यक्त गर्ने– यी सबै हाम्रो मानसिकताका कारण व्यवहारमा व्यक्त भएका घटना हुन्। हामीकहाँ वर्ण–व्यवस्थाको लामो अभ्यासका कारण गैरदलितले दलितलाई र पुरुषवादी चिन्तनका कारण पुरुषले महिलालाई अमानव ठान्ने, हिन्दू धर्म–संस्कृतिको लामो शासकीय अभ्यासका कारण हिन्दू धर्मावलम्बीले अन्य धर्म–संस्कृतिका व्यक्तिलाई हीन देख्ने मानसिकता निर्माण भएको छ। २०२० अघिसम्म राज्यले जात अनुसारको कानुन बनाएकाले पनि हामी जातीय, धार्मिक मानसिकतामा अभ्यस्त हुँदै आयौँ। त्यसैले आजको हाम्रो प्रयास या लडाइँ आफ्नो परम्परागत मानसिकतालाई बदल्नु हो।

भीड मनोविज्ञान
सुगाको बथान उडिरहँदा दिशा बदलिइरहन्छ। तपाईंले देखेको र ख्याल गरेको हुनुपर्छ, एक बथान सुगा पश्चिमबाट पूर्वतिर उडिरहेका छन् भने दक्षिणतिरको सबैभन्दा छेउको एउटा सुगा मोडिएर वा दिशा बदलेर दक्षिणतिरै लाग्न सक्छ। अथवा, उत्तरतिरको सबैभन्दा छेउको सुगा मोडिएर उत्तरतिरै लाग्न सक्छ। एउटा मोडिँदा सबै सुगा उसको पछाडि लाग्छन्। यसरी मोडिने कार्य कहिलेकाहीँ दुवै छेउका सुगाले एकैचोटि पनि गर्न सक्छन्। यसो गर्दा उत्तर वा दक्षिण लाग्ने सुगाहरू कहिलेकाहीँ आधाआधाजसो बाँडिन सक्छन्, कहिलेकाहीँ धेरथोर हुन सक्छन्, कहिलेकाहीँ मोडिने क्रममा कुनै एक छेउको सुगा एक्लिन पनि सक्छ। सुगाहरूको यस्तो गतिविधि वा व्यवहारको पछाडि कस्तो मनोविज्ञानले काम गरेको होला ? यसमा अन्तःप्रेरणा (इन्स्टिङ्क्ट)को केही न केही भूमिका रहने मान्न सकिन्छ।

चाल्र्स डार्विनले प्राणीहरूमा कैयौँ अद्भुत अन्तःप्रेरणा हुने मानेका छन्। उनी आफ्नो पुस्तक ‘द ओरिजिन् अफ स्पेसिज्’मा लेख्छन्, ‘म अन्तःप्रेरणाको कुनै परिभाषा दिने प्रयत्न गर्दिनँ। स्पष्ट छ, यो शब्द अन्तर्गत साधारणतया कैयौँ अलग–अलग किसिमका मानसिक क्रियालाई राखिन्छ।’ उनले कोइली चरीले संसारको जुनसुकै ठाउँमा गए पनि अन्तःप्रेरणावश अन्य चराहरूको गुँडमै अण्डा पार्न प्रेरित हुने उल्लेख गरेका छन्। अन्तःप्रेरणावश नै सही, सुगाहरू उड्दा दिशा बदल्ने यो व्यवहारलाई ‘सुगा मोड तथ्य’ मान्न र यसलाई भीडको मनोविज्ञानसँग जोडेर हेर्न सकिन्छ।

मानिसले नजानिदो ढंगले पुराना मानसिकतालाई बोकेर हिँडेको हुन्छ। जसलाई बदल्न नसक्नु एकातिर छ, अर्कोतिर ऊ हल्लाको पछि कुदिरहेको हुन्छ। जसरी एक छेउको सुगा मोडिएपछि अरुले उसलाई पछ्याउँछन्, त्यसरी नै कुनै हल्ला सुनेपछि व्यक्ति त्यसकै पछि कुद्न सक्छ। एकैचोटि थुप्रै हल्ला आयो भने कुनै व्यक्ति आफ्नो नजिकको भीडको पछाडि कुद्न सक्छ। यसो हुनुको गल्तीको मनोविज्ञान यही हो कि मानिसले हल्लाको सत्यतथ्य जाँच्दैन। यसमा व्यक्तिको रिस, आवेग, उत्तेजना र भावुकताले निर्णय गरेको हुन्छ। एक–दुईजनाले ‘यही ठीक’ भनेको भरमा भीडले त्यसमा तर्क गर्दैन। यसले गर्दा मानिसले न्याय वा अन्याय, सही वा गलत छुट्ट्याउन सकिरहेको हुँदैन। यसमा ‘सिंक्रोनाइजेसन’ अर्थात् एकै समय घट्ने घटना र त्यसको तालमेलले काम गरेको हुन सक्छ।

मानिसहरू हल्लाको पछाडि कुद्दा पनि प्रायजसो आफ्नो पुरानो संस्कार र मानसिकतालाई दख्खल पु¥याउँदैनन्, आफ्नो मानसिकता बमोजिमकै हल्लाको पछि लाग्छन्। जस्तोः कुनै बसमा सवार यात्रुमध्ये एउटाले अर्को व्यक्तिलाई पाकेटमारको आरोप लगायो भने त्यहाँ रहेको भीडले आरोपित व्यक्तिलाई कुटपिट गर्न सक्छ, भलै वास्तविक पाकेटमार ऊ नभएर अर्कै भए पनि। यहाँ, भीडको पूर्वाग्रह के रहन्छ भने, पाकेट मार्नु गलत हो। त्यस्तै, कसैलाई गाई काटेको ‘अपराध’मा भीडले कुटपिट गर्न सक्छ। यस्तो भीडमा ‘गाई मार्नु पाप हो’ भन्ने मानसिकता निर्माण भएकाहरू बढी संलग्न हुन सक्छन्।

योसँगै गरिब देशका नागरिकले विकसित देशबाट आएका फेसन, ट्रेन्ड, ब्रान्ड, फ्रेन्चाइज, कपीराइट आदिलाई राम्रो मानेर पछ्याउन सक्छन्। यसो गर्दा उक्त देशसँग मौलिक उत्पादनको बाटो र आफ्नो सांस्कृतिक पहिचानको पाटो कमजोर बन्दै जान्छ, उसले जानिदो वा नजानिदो ढंगले एक प्रकारको उपनिवेश स्विकार्न पुगेको हुन्छ।

यहाँनेर, विदेशी संस्कृति वा ट्रेन्ड पछ्याउने मात्रै होइन, आफ्नै देशभित्र पनि बहुसंख्यक र सत्ताधारीका जस्तासुकै कुरा (हुन सक्छ राष्ट्रवादी र सांस्कृतिक प्रभुत्वको मिथक) पत्याउन थाल्छौँ भने हामीसँग न्याय र मौलिकता बाँकी रहँदैन। जस्तो ः हिन्दूहरूको प्रभुत्वका कारण अन्य जनजातिले आफ्नो धर्म–संस्कृति भुल्न सक्छन्।

हामी न्यायप्रेमीले विदेशी विचारधारा होस् वा स्वदेशी, आफ्नै धर्म–संस्कृतिको विषय होस् वा अन्य, आफूले आस्था राख्ने नेता वा पार्टीका कुरा होस् वा आस्था नराख्ने पार्टी र नेताको कुरा, त्यसलाई एकपटक जाँच्ने ल्याकत राख्नुपर्छ। समाज, देश र विश्वकै न्यायमा आधारित कुरालाई स्विकार्नुपर्छ र आफूलाई मात्रै फाइदा र न्याय हुने तर अरुलाई बेफाइदा र अन्याय हुने विषयलाई दुत्कार्नुपर्छ।

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले घोषणा गरेजस्तो देश र संसारकै न्यायका लागि त निजी सम्पत्ति उन्मूलन हुनुपर्छ र सम्पत्तिको राष्ट्रियकरण हुनुपर्छ। व्यक्ति र राष्ट्र एक्लै धनी हुने होडबाजीका कारण नै संसारमा धनी र गरिबको खाडल बढ्दो छ। तर, तत्कालै माक्र्स र एंगेल्सको सोचसम्म समाज वा राज्य पुग्न नसक्ला। त्यसैले सुरुवाती चरणमा कम्तीमा सबैलाई समान र निःशुल्क शिक्षा, समान स्वास्थ्य, सम्पत्तिका मालिकहरूलाई सम्पत्ति बढेकै आधारमा प्रगतिशील कर, श्रमिकलाई न्यायोचित तलब–सुविधा र सामाजिक सुरक्षाको प्रत्याभूति, महिलालाई सम्पत्तिमा हक, गरिबीको रेखामुनिकालाई भत्ता वा रोजगार, उत्पीडित वर्गलाई राज्य संयन्त्रमा समावेश यस्तै सामाजिक न्यायको बाटोमा हामी हिँड्नैपर्छ। यसका लागि हामीले सबैको कुरा सुन्नुपर्छ र यसको विरुद्धमा कसैको हल्ला सुन्नुहुँदैन।

संसारमा सामाजिक न्याय स्थापित छ, मानिसहरूले आत्म–सम्मानसहित आधारभूत आवश्यकता पूर्ति गरेका छन् भने झुप्री र रानुले मात्र होइन, उत्पीडित वर्गका लाखौँले प्रतिभा प्रस्फुटन गर्ने अवसर पाउँछन्। सबैको आ–आफ्नो प्रतिभा–क्षमता प्रस्फुटन हुन पायो भने हामी भौतिक र मनोवैज्ञानिक दुवै किसिमले सुख प्राप्त गर्न सक्छौँ।

प्रकाशित: २१ भाद्र २०७६ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App