coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जनयुद्धको चित्र

ज्ञानु अधिकारी

‘उज्यालोको खोजीमा सङ्घर्षका पाइला’ माओवादी जनयुद्धमा केन्द्रित कृति हो। खिमा रिजालद्वारा लेखिएको कृतिमा जनयुद्धले छोडेर गएका डोबलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ। यसमा बाइस निबन्ध छन्।
यसले जनयुद्धमा सहभागी नारीको सङ्घर्ष र अनुभूतिलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको छ। ‘कालिका चौकी आक्रमण, जनयुद्धले जन्माएको गुमनाम योद्धा, रोमाञ्चक जेलब्रेक, एउटा असल साथी गुमाउँदा, सुमित्रा घिमिरेलाई सम्झँदा’ जस्ता संस्मरणमा जनयुद्धमा नारीले देखाएको अदम्य साहस र वीरतालाई मिहिनरुपमा देखाइएको छ। कृतिले नेपालका महिला छापामारले विश्वलाई नै चकित पार्ने गरी गरेका युद्धकालीन गतिविधिलाई उजागर गरेको छ। साथै जनयुद्ध सफल पार्न योगदान दिने योद्धाहरु गुमनाम हुँदै गएका सन्दर्भलाई यसमा प्रस्तुत गरिएको छ।

यसमा महिला योद्धाको साहस, समर्पण र बहादुरीको मूल्याङ्कन गरिएको छ। ‘ऐतिहासिक सहयात्रा, तुहिएको मेरो पत्रकारिता, कहिल्यै नमेटिने युद्धको डोब, आक्रमणको निशाना र परिस्थितिको सामना गर्दा’ शीर्षकमा लेखकले भोगाइ र अनुभूति व्यक्त गरेकी छिन्। त्यस्तै युद्धमैदानमै झाङ्गिएको प्रेम र विवाहको सन्दर्भ, घर परिवार, समाज र राजनीतिक क्षेत्रका मान्छेबाट पाएको चोट, धोका र विश्वासघात आदिलाई प्रस्तुत गरिएका छन्। तिनमा एउटी नारीलाई स्वतन्त्र र स्वाभिमानी भएर हिँड्न खोज्दा आइपर्ने बाधा देखाइएका छन्। खास गरी एकल महिलालाई ठूलाठालुमा गनिने पुरुषबाटै कसरी यौन दुव्र्यवहार र आपत्तिजनक व्यवहार हुन्छ भन्ने कुरालाई निडरतासाथ पोखिएको छ। केही संस्मरणहरुमा पुरुषसत्ताको मनोमानीपूर्ण व्यवहारप्रति आक्रोस छ।

पुस्तकमा निस्वार्थ मनले होमिएका युद्धका असली नायकको चर्चा गरिएको छ। जनयुद्ध सफल बनाउन जीवन उत्सर्ग गरेर गएका र अहिले गुमनाम भएका पात्रहरुलाई कतै आफ्नै नेतृत्व वर्गले अनि राष्ट्रले बिर्सदै जाने हो कि भन्ने आशंका पनि गरिएको छ। त्यसैले यहाँ त्यस्ता पात्रहरुले नयाँ नेपालका लागि देखेको सपना र उनीहरूले गरेको त्यागका बारेमा उल्लेख छ।

खिमा रिजालले जनयुद्धमा नारीले निर्बाह गरेको भूमिकाको सम्मान गरेकी छिन्।   

अहिले सत्ता र शक्तिमा पुगेका जनयुद्धका नेतृत्व वर्गको प्रशंसा गर्नुभन्दा जनयुद्धका खास मान्छे र तिनको योगदानलाई मूल्याङ्कन गरी स्थान दिनु यस कृतिको महत्वपूर्ण पक्ष हो। अद्भूत कलाकार सम्झिएर, युद्धमा भेटिएकी आमा, युद्धका अविस्मरणीय पात्रहरु आदि यस्तै किसिमका संस्मरण हुन्।

ज्ञानु अधिकारी

जनयुद्धले समाजमा नारीप्रति हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन ल्याउनाका साथै आम नेपाली नारीमा अन्यायका विरुद्ध बोल्ने क्षमता र आत्मविश्वास बढाएको यथार्थ प्रस्तुत गरिएको छ। युद्धपछिका दिनमा भने क्रमशः राज्यले मात्र नभई पार्टीले समेत नारीले बनाएकोे गौरवपूर्ण इतिहास बिर्सदै गएको, उनीहरूको साहसिक र उदाहरणीय कार्यको कदर नगरेको र नेतृत्व तहमा नारी सहभागिता कम हुँदै गएको प्रति लेखकले असन्तुष्टि व्यक्त गरेकी छिन्। साथै नारीमाथि हुने यौन शोषणलाई पनि विषय बनाइएको छ। राजनीतिक क्षेत्रमा जतिसुकै ठुला क्रान्ति गरे पनि मानिसको सोच र व्यवहारमा परिवर्तन आउन नसकेको उनको विचार छ।

लेखकले कतै आफूलाई सहिद पत्नीका रुपमा, कतै जनयुद्धको सहभागीका रुपमा, कहिले एकल महिलाका रुपमा, कतै पढ्दै गरेकी विद्यार्थीका रुपमा र कतै पुरुष प्रताडित नारीका रुपमा पस्केकी छिन्। साथै जीवनमा अघि बढ्ने क्रममा आफूलाई गहिरो प्रभाव पारेका र जीवनका विभिन्न मोडमा प्रेरणा दिएका व्यक्तित्वको स्मृतिलाई पनि मार्मिक ढङ्गमा प्रस्तुत गरेकी छिन्।

यो दस वर्षे जनयुद्धमा नारीले निर्बाह गरेको योगदानको स्मरण गरी लेखिएको कृति हो। पुस्तक भुँडीपुराण प्रकाशनले छापेको हो।

प्रकाशित: २१ भाद्र २०७६ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App