भुइँमान्छे

सिनेमाका जुँगे भट्टराई

शनिबार, २१ भदौ २०७६, ०९ : ०२ हेमन्त विवश

डल्लुको गल्ली भित्रको अग्लो घर। त्यही घरको तेश्रो तलामा भाडामा लिइएको साँगुरो कोठा। जब उनी खोक्न थाल्थे बेलाबखत निस्किन्थ्यो थोत्रो दमाहामा हिर्काए जस्तो थ्वारथ्वार आवाज। दराजमाथि देखिन्थे दर्जन जति औषधिका डिब्बाहरु। कोठाभरि छरिएका थिए भेषभुषाका सामग्री। बिमारी अवस्थामा पनि तल्लिन थिए अर्डरको काममा। छेउमा आआफ्नै धुनमा मस्त थिए छोराछोरी। पछिल्लो अवस्थामा दमले च्यापिरहेको छ उनलाई। जिन्दगीको परिभाषा नै कहाँ छ र कुनै गणितीय सुत्र जस्तो, ठ्याक्कै यही हो भन्नलाई। सबैका आआफ्नै परिभाषा छन्। सुन्दर र अविष्मरणीय भोगाई त तिनैका हुन्छन् जो आर्थिक रुपले बिपन्न भए पनि चाकडी जान्दैनन्। सत्ताको अघि पछि कतै देखिँदैनन्। बिछाइ रहन्छन स्वाभिमानका पाइला संघर्षको गोरेटोमा। त्यही गोरेटोका एकजोर पाइला हुन् उद्वव भट्टराई उर्फ जुँगे भट्टराईका।

सन्तानकै रहरले तीनवटा बिहे गरेका थिए बुवा रामदत्तले। दुई आमाबाट जन्मेनन् सन्तान। कान्छी आमाबाट जन्मे ८ छोरा ४ छोरी। सबैभन्दा जेठा दाजु रुखबाट लडेर १२ वर्षकै उमेरमा धर्तीबाट बिदा भए। ६ वर्षको उमेरमा कान्छो भाइले पनि साथ छोड्यो। केही समय अघि एउटी बहिनी पनि हिँडिन् कहिल्यै नफर्किने गरी। सानोमा सल्लीकुसुममा चिप्लिए पछि दुई ढुङ्गाको कापमा अड्किएका उनलाई ठूली दिदीले देखेर हत्तपत्त ननिकालेकी भए सुनिने थिएन आज जुँगेको पनि नाम। बचेका ६  दाजुभाइमा एक प्रहरी हवल्दार थिए। जसको जिन्दगी द्वन्द्वकालमा जुम्ला काण्डमा सिद्धियो।

उनका पुर्खाको काम थियो नारदलेझैं सन्देश पु-याउने। तर त्यो सन्देश गीत रचना गरेर गाउँ गर्खा डुल्दै गाउँदै पु-याइन्थ्यो। शिवजीले दिएको भनिएको भाला माथि सिक्का अड्काएर गीत गाउँदै गाउँ डुल्ने गर्थे पुर्खाहरु। जसलाई गाउँतिर राईज्यू भनेर चिन्थे। यसरी गाउँदै हिँड्ने क्रममा कसैले हेप्यो, उनीमाथि अन्याए ग-यो भने पुतलो बान्ने गर्थे। पुतलो बान्ने भनेको आफुमाथि अन्याय गर्नेको घर वरिपरि मन्त्र पढेर सेतो धागो बान्नु भन्ने बुझिन्छ। यसरी पुतलो बानिएको घरमा अनिष्ठ हुने जनविश्वास छ।

जुँगाकै कारण रानी खोलाको सुटिङमा जाँदा भारतीय प्रहरीले १ घन्टा रोकी कागजात हेरेर पठाएछन्। ६५ दिन सिक्किम बसेर फर्किंदा पानी ट्याङ्कीमा फेरि समातेछन् तिनले। समात्नुको कारण थियो बिरप्पनसँग हुलिया मिल्न जानु। धन्न उनले भारतीय राजदुतावासबाट पनि कागज बनाएका रहेछन्।

सुदूरपश्चिम बैतडी, हालको पाटन न.पा.१ लघौती गाउँमा बिताए उनले बाल्यकाल। करिब ९ वर्षको उमेरमा देखेका हुन् विद्यालय। तर त्यो आँगनले सकेन धेरै दिनसम्म उनका पाइला बोकिरहन। उनीसँगै एउटै कक्षामा पढ्ने एक जना इन्डिएन सिपाइका छोरा थिए, जो निकै नै रवाफ देखाउँथे। उद्ववलाई हेपिरहन्थे। अति भएपछि एक दिन झगडा गर्न कस्सिएछन् उद्वव। दुबैको मुक्का हानाहान भएछ। झगडाकै क्रममा उद्ववले उसको हातमा दाँतले टोकिदिएछन्। खवर पुगेछ गोपाल ऐरी सर समक्ष। सरले उद्ववको रामधुलाई गरेछन्। त्यही दिन अन्तिम दिन बनेछ उनको स्कुले जीवनको। धेरैले सम्झाएछन्, फकाएछन् तर चलेनछ  कसैको केही सीप। उनले अन्तिम निर्णय गरिसकेका रहेछन् विद्यालय नजाने। अनि गुजारेछन् केही समय वनमा गाईबाख्रा चराएर। जंगलमा निर्धक्कसँग ठाडी भाका गाएर।

ठुल्बुवाको छोराको पछि लागेर हिँडेछन् एक दिन भारततिर। घरमा बुवा रामदत्त र आमा सरस्वतीलाई पर्न सकेनछ कैयौं रात निद्रा। सानै उमेरमा छोरोले घर छोडी हिँडे पछि कर गरिहुनन् आमाले छोरालाई फिर्ता ल्याउन। र त पत्ता लगाउँदै पुगे हुनन् रामदत्त भारतको लुधियाना। उक्त कुरा चाल पाएपछि उद्धव रातको रात हिँडेछन् अमृत सहरतिर। बुवा यतै आउँदै छन् भन्ने खवर पाएपछि तय भएछ उद्धवको यात्रा मुम्बैका लागि। केही सीप नचलेपछि बुवा खिन्न मन लिएर फर्किन वाध्य भए।  मुम्बैमा मालिकको घरमा तल्लिन बने उनी –कहिले रोटी पकाउन त कहिले पुछा लाउन अनि भाँडा माझ्न। धेरै दिनसम्म अडिएन मन त्यहाँ पनि। त्यहाँबाट हानिए सिधै गुजराततिर। गुजरातको वृन्दावन फिलिम इन्डष्ट्रिजमा मिलेछ काम गर्ने मौका। जहाँ धार्मिक फिलिम बन्ने गर्दथे। समय मिलाएर दिनेश प्रेस फोटोग्राफीमा फोटोको काम पनि सिक्न थालेछन्। भारतका बिभिन्न ठाउँमा काम गर्दै जाँदा आठ वर्ष बितेको पत्तै पाएनन्। गुजरातमा काम गर्ने क्रममा उनले जे देखे त्यो कैद गरे दिमागको कुनामा। त्यतिबेलै सकेनन् प्रयोगमा ल्याउन। उनी सरसफाइ गर्ने कामदादार मात्र न थिए।

२०३० सालमा एक दिन गुजरातका एकजना मालिकको बुद्धि भुटेर घुमाइदिन्छु भनी ल्याएछन् काठमाडौं। घुमाएस्वरुप पाए तीन हजार रुपैयाँ। होटलमा खाने बस्ने गरेर मस्तीका साथ सकिदिएछन् तीन चार महिनामै। अनि बेच्नु परेछ लगाइरहेको जाकेट र घडी।

काठमाडौंमा त्यतिबेलै सडक किनारमा बसेको माग्नेले हात थापेछ। उनले झपार्दै भनेछन् –हट्टाकट्टा भएर पनि पैसा माग्छस्। कमाउन सक्दैनस्।‘  समयको खेल न हो जिन्दगी। कतिबेला कुन मोडमा कुन पीडा भोग्नु पर्ने हुन्छ कसलाई के थाहा। कहिल्यै कल्पना नगरेको दिन आइदिएछ उनको जीवनमा। त्यही माग्नेको बोरा ओढेर सडक किनारामा सुत्नु परेछ उनले पनि। नौ दिनसम्म खाने कुरा केही पाएनछन्। नौ दिनको दिन वसन्तपुरको बाटो छेउमा सुतिरहँदा एउटा सर्प लुगाभित्र छिरेर डल्लो परेछ। उनलाई लागेछ यसले पक्कै पनि टोकेको हुनु पर्छ। अब बाँचिन्न होला। असाध्यै भोक लागेपछि नजिकको पसलमा पुगेर एक ढिक्का नून मागेर पानीसँग खाएछन् र मनमनै सोचेछन् मरेपछि सबैलाई उतै त लग्छन् अब पशुपतितिर जान्छु। पशुपतितिर जान पाइला चाल्दै गर्दा बाटोमा भेटाएछन् १२५ रुपैयाँ। पैसा भेटाए पछि सबै कुरा बिर्सेर उनी हानिएछन् होटलतिर र अर्डर गरेछन् मासुभात। मासुको झोलसम्म पिए पनि सकेनछन् दुई गासभन्दा बढी निल्न। नौ दिनसम्म मुखमा अन्न राख्न नपाएका उनलाई नशा लागेजस्तो भएछ।

उनी सम्झिन्छन्, एक दिन इन्द्रचोकमाथि मन्दिरमा सुतिरहेका बेला टाउकोको छेवैबाट सर्प गएको रहेछ। एक नेवारले उक्त घटना देखेर नजिकै आई भनेछन् – ए उठ नाग गयो तँलाई दायातिर पारेर, अब तेरो राम्रो हुन्छ।‘ नभन्दै त्यही दिन रिक्सावाला साथी भेटियो। ऊसँग दोस्ती बढ्न थाल्यो। अनि ४ दिनमै सिके रिक्सा चलाउन। दिनभरि रिक्सा चलाएर कमाएको पैसा साँझ रिक्सावाललाई बुझाउनु पथ्र्यो। खाने बस्ने व्यवस्था भने त्यही साथीकोमा हुन्थ्यो। एक दिन सानो गौचरतिर बिदेशी लगेर जाँदा हातको इशारामा रु २५ भाडा मागेछन्। हातको इशाराले ओरालोमा गाह्रो हुन्छ भनेछन् तर ती विदेशी उत्रेनन्। जे परे पर्ला भनेर लगेछन् रिक्सा। नभन्दै ओरालोमा अचानक रिक्सा पल्टिएछ। उनी भन्छन् –त्यस्तो चोटपटक त केही लागेको थिएन। कुन्नि के सोचेर बिदेशीले दिएर गयो सय डलर। त्यो पैसा ल्याएर हानिए क्यामेरा पसलतिर र किनेँ एउटा क्यामेरा। फेरि पनि बचेको थियो केही पैसा। अनि केही दिनमा खिचापोखरीस्थित दास फोटो स्टुडियोको ल्याबमा काम गर्न थालेँ।‘

०३२ सालमा माइकल हरिश चन्दले रेडियो नेपालमा गीत गाउने माहोल बनाइदिए। त्यसताका चन्द रेडियोमा अँग्रेजी समाचार वाचक थिए। रेडियोमा नातीकाजी, कोइली देवी, रतन बेहोशी लगायतसँग उनको भेट हुन्थ्यो। उनले रेडियोमा गीत रेकर्ड गर्ने मौका पाए। त्यहाँ उनले चारवटा गीत रेकर्ड गराए। डेउडा सुनिसकेपछि मौलिकताको सिलसिलामा ट्युनिङ गर्नु पर्छ, मौलिकता हराउन दिनु हुन्न भनेर नातीकाजीले अरु संगीतकारलाई भनेको कुरा सम्झिन्छन् उद्धव। रहर हुँदाहुँदै पनि सकेनन् उनले रेडियोमा अरु गीत रेकर्ड गराउन। त्यति बेला रेडियोमा गाउनु भन्दा पहिले शब्द देखाउनु पथ्र्यो। सेन्सरबोर्डबाट पास भएपछि बल्ल गीत गाउन पाइन्थ्यो। कनिकुथि बाह्रखरी लेख्न सक्ने उध्दवलाई डोटेली भाषाका शब्दहरु नेपालीमा उल्था गरी पेश गर्नु पर्दा असजिलो महशुस भएपछि छोडिदिएछन् रेडियो जान।

घर छोडेको १० वर्ष वितिसकेको थियो। आकाशवाणीको जमाना थियो। पठाएनछन् आकाशवाणी पनि कहिल्यै। दस वर्ष पछि आएछ गाउँको याद र यात्रा तय गरेछन् बैतडीका लागि। त्यसबेला काठमाडौंबाट बैतडी सात दिनमा पगिन्थ्यो त्यो पनि भारतको बाटो भएर। १० वर्ष पछि गाउँ फर्किदा वरपरकाले उनलाई देखेर गर्दा रहेछन् कानेखुसी। कोही त सामुन्नेमै भन्न थालेछन्– पञ्चवली भाकल गरी गाथमा सुन चढाए पछि बल्ल फर्कियो घरमा। देउताले यसको मन फर्काएरै छाडे। घरपुग्दा उनको गोजीमा एक पैसा पनि बचेको थिएन। थियो त साथमा केवल एउटा मादल। कसैले दश वर्षको कमाइ भनुन् या अरु केही भनुन् साथमा त्यही एउटा मादल थियो। मादल बजाएर गाउँघरमा सबैलाई मख्ख पार्न थालेछन् उनी। अहिले ती दिन सम्झिदै भन्छन्– म पनि कस्तो मान्छे। केही त लगिदिनु पथ्र्यो घरमा।

फकिरको जस्तो जिन्दगी बिताइरहेका उनी कहाँ सक्थे र धेरै दिन गाउँमा बस्न। केही दिनमै फर्किएछन् काठमाडौं। एकदिन भेट भएछ गोपाल भुटानीसँग। भुटानीले फाट्टफुट्ट काम मिलाइ दिन थाले फिलिममा। उनी भन्छन् – त्यतिखेर ज्वाइन्ट भेन्चरका फिलिम बन्थे। एउटा फिलिम चार पाँच वर्षमा तयार हुन्थ्यो। काम नभएको समयमा भुटानीको होटलमा काम गर्थे। सुरुमा कालीमाटीमा थियो भुटानीको होटेल। त्यहाँ छोडेर पकनाजोलमा सुरु गरे। त्यहाँ पनि छोडेर अन्तमा माइतिघर मण्डलानेर सुरु गरे। होटलमा चिया, समौसा, जेरी आदि पकाउनु पथ्र्यो। खायोपियो मस्तराम। न कसैको जिम्मेवारी लिनु परेको थियो। न कमाउने सोच नै थियो।

हलिउडको मेनका फिलिममा हवल्दार बनेर खेलेको कुरा सम्झिदै उद्धव सुनाउछन्– ‘भवानीजंग, जखम, मोनिका, खोज, खुदागवा जस्ता चलचित्रमा पनि काम गरेँ। नेपाली चलचित्र क्षेत्रमा प्राविधिकका रुपमा २०३९ सालमा प्रवेश गरेँ। पहिलो चलचित्र थियो सन्तान। जुन ०३९ सालमा सम्झौता भएर ०४३ मा मात्र तयार भएको थियो। मुनामदन, भानुभक्त, राजमति, लर्डबुध्द, बुध्दको पाइला, प्रेमपिण्ड, श्री स्वस्थानी, कीर्तिपुर, नेपालको राजपरम्परा, पृथ्वीनारायण, सेतोबाघ, जय बाबा पशुपतिनाथ लगायतका चलचित्रमा पनि भेषभूषा मेरै हो। पछिल्लो समयमा कला निर्देशक भएर काम गरेँ।’

चलचित्रमा काम गर्दाका तिता अनुभव पनि छन् उनीसँग। कतिपयले काममा  लगाए तर पैसा दिएनन्। उनी भन्छन् – एक लाख रुपैयाँ थियो उठ्नु पर्ने। त्यति बेलाको एक लाख भनेको मेरा लागि ठूलो रकम थियो। कतिपय प्रोड्युसर धर्तीबाटै बिदा भैसके। अब यो बुढसकालमा कसको नाम लिउँ। अब त माया मारिसके त्यो पैसाको।‘ उनका अनुसार मञ्जु राणा र नीर शाहले भने राम्रै पैसा दिएछन्। गोबिन्द भन्ने भाइको हातमा समयमै पठाइ दिँदारहेछन् शाह र राणाले पैसा। उनी सम्झिन्छन् ०३५ सालमा कालीमाटी बस्दा ३० रुपैयाँ कोठा भाडा तिर्नु पथ्र्यो।

०३९ मा नेपाली चलचित्रमा प्राविधिकका रुपमा प्रवेश गरेका जुँगे ०४३ मा पुनः घरतिर हिँड्छन्। घरमा आमाबुवा लगायत सबैले कर गरेपछि मञ्जुर हुन्छन् बिहे गर्न। १५ वर्षकी लक्ष्मीसँग बिहे गरेर एक्लै फर्किन्छन् काठमाडौं। बिहे गरेको चार वर्ष पछि बोलाए श्रीमतीलाई। १९ वर्षको उमेरमा लक्ष्मीले छोरो जन्माइन। त्यस पछि दोस्रो सन्तानका रुपमा पाइन छोरी। मौलाना बनेर हिँडिरहेका जुँगेको जिन्दगीमा थपिदै गयो जिम्मेवरीको भारी। पालैपालो फेरि जन्मे दुइ छोरा। सानोतिनो कमाइले गुजरा गर्न कठिन थियो। काममा बिहानै निस्किनु पथ्र्यो अनि राती अवेरसम्म फर्किसकेका हुन्नथे। उनी जाँदा पनि सुतेकै हुन्थे छोराछोरी। आउदा पनि सुतिसकेका हुन्थे। दिउँसो आमालाई तेस्र्याउँदा रहेछन् प्रश्न – हाम्रा ड्याडी खोइ ?

जेठो छोरो कम्प्युटर साइन्समा स्नातक गरिरहेका छन्। माइलो १२ कक्षामा अध्ययनरत छन्, कमेडी गर्न रुचाउँछन्। कान्छो ७ कक्षामा छन्। अनि छोरी १२ कक्षमा अध्ययनरत छन्। ६ जनाको परिवार उनीमाथि नै निर्भर छ। तर उनी बिमारी छन्, पहिले जस्तो काम गर्र्न सक्दैनन्। खान लाउन निकै गाह्रो छ। यहाँ एकेडेमी छन्, संस्कृति मन्त्रालय छ, चलचित्र बोर्ड छ। तर ती सबै पहुँचवालाका लागि मात्र भैदिन्छन्। चलचित्र बोर्डले उनी लगायत आनन्द थापा, भुवन चन्द र सुभद्रा अधिकारीलाई ०७० बैशाख महिनादेखि मासिक ५ हजार रुपैयाँ वृत्ति उपलब्ध गराउने निर्णय ग¥यो। २१ महिनासम्म उपलब्ध पनि गरायो। ०७१ पुसदेखि दिन नसकिने भनी रोकिदियो। हाल आएर फेरि त्यसलाई निरन्तरता त दियो  तर बीचको समयको मासिकवृत्ति रकम दिएन। बरु स्याङ्जाका छोल बहादुर शाहीले बेलाबखत उनलाई उपचारका लागि खर्च पठाइरहे।

उनको लामो जुँगा देखेर बाटोमा कतिपय युवायुवती फर्किफर्की हेरिरहन्थे। हुँदाहुँदा त्यही जुँगा नै उनको परिचय बन्न पुग्यो। जुँगाको कुरा उठाउने बित्तिक्कै उनले पुलुक्क हेरे छेवैमा बसेकी श्रीमतीलाई र मुसुक्क मुस्कुराए। लक्ष्मी भाउजुले हाँस्दै सुनाइन रोचक घटना। एक दिन उनी जुँगा काटेर साँझपख डेरामा पुगेछन्। तीन छोरा र एक छोरी मध्ये चिनेनछन् कसैले पनि। सरासर कोठाभित्र को मान्छे आयो भनी डराएछन्। अहिले त्यो घटना सम्झिदा हाँस्छन् सबै जना।

जुँगाकै कारण रानी खोलाको सुटिङमा जाँदा भारतय पुलिसले १ घन्टा रोकी कागजात हेरेर पठाएछ। ६५ दिन सिक्किम बसेर फर्किदा पानी ट्याङ्कीमा फेरि समाते छ। समात्नुको कारण थियो बिरप्पनसँग हुलिया मिल्न जानु। ३ घन्टासम्म केरकार गरेछ। धन्न उनले भारतीय राजदुतावासबाट पनि कागज बनाएका रहेछन्। त्यही  कागज हेरेपछि सरी भन्दै छोडेछ।

अचेल उनी गाउँघरको खुब याद गर्छन्। आमाको याद आउँछ बेलाबखत। आमा बित्दा खवर त पाए तर ढीला। सुटिङ चलेको थियो। घर जान पाएनन्। ०५८ सालमा भाइ बिते त्यतिबेला पनि जान पाएनन्। अब बुढेशकालमा गाउँ गएर काम गर्न सक्ने कुरा भएन। उनी भन्छन् –केटाकेटी काठमाडौंमा जन्मे यतै हुर्के। यी पनि पहाड गएर काम गर्न सक्लान जस्ता छैनन्। सकुन्जेल यतै काम गर्छु, त्यसपछि के हुन्छ थाहा छैन। धेरै मान्छेसँग चिनजान भयो। बिदेशमा सिकेर स्वदेशमा काम गरे यसैैमा सन्तुष्ट छु। बिना बस्त्र आएँ बिना बस्त्र जाने त हो।‘ 

हिन्दी, अँग्रेजी, पाकिस्तानी, बंगलादेशी नेपाली गरी उनले सयवटा भन्दा बढी चलचित्रमा ड्रेसम्यानको काम गरे। कतिपयमा अभिनय समेत गरे। लामो समय कला निर्देशक भएर काम गरेका उनले चैतुवा काफल र हितको कली नामक दुईवटा डेउडा गीतका एल्बम समेत प्रकाशित गरे। लालजोडी चलचित्रमा शालिक उनैले बनाएका हुन्। श्रीपेच दाह्री, जुँगा लगायतको गन्ती नै छैन्। देखेको कुरा जस्ताको तस्तै उतार्छन्। धेरैले उनलाई सोध्छन् – तपाई ललितकला पढेको हो ? उनी मुस्कुराउँदै जवाफ दिन्छन् – हैन म घरकला पढेको हुँ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad