coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डेंगी महामारीमा प्रत्यक्ष होमिँदा

डा. शेरबहादुर पुन

हुन त, यसअघि स्वाइन फ्लुको प्रकोप हुँदा पनि हजारौंको उपचारमा मेरो प्रत्यक्ष सहभागिता रहेको थियो। धेरै अनुभव पनि बटुलिसकें। तर पहिलेका प्रकोप सामान्यतया कुनै निश्चित स्थानका हुन्थे र केही सातामा समाप्त हुन्थे। तर हाल देखिएको डेंगीको समस्या यी सबै परिस्थितिभन्दा बेग्लै छ।

हालको समस्या प्रकोप होइन, महामारी हो। सरकारले स्थिति अनियन्त्रित भएको स्विकारेको अवस्था छ, जुन पहिले कहिल्यै थिएन। यो कुनै निश्चित ठाउँमा मात्र देखिएको छैन, लगभग मुलुकको आधा भूभागमा फैलिसकेको छ। डेंगी महामारी केही सातादेखि मात्र होइन, महिनौंदेखि निरन्तर फैलिरहेको छ र तत्काल रोकिने संकेत पनि देखिएको छैन। त्यसैले यो मेरा लागि पहिलो अनुभव र त्यो पनि कीटजन्य महामारीभन्दा अत्युक्ति नहोला। वास्तवमा नेपालका लागि पनि यो यति ठूलो र लामो महामारीको पहिलो अनुभव हुनुपर्दछ।

डेंगी कीटजन्य रोग हो अर्थात् यो मानिसबाट मानिसमा नभई लामखुट्टेको टोकाइबाट सर्ने रोगमा पर्छ। यसर्थ जहाँ डेंगी फैलाउने लामखुट्टे, त्यहाँ डेंगी प्रकोप वा महामारी हुने सम्भावना सधैं रहिरहने गर्छ। तर धेरै मानिसले डेंगी संक्रमित भएको थाहा भएपछि परिवारका सदस्यलाई शरीरका तरल पदार्थबाट सर्न सक्छ भन्ने भ्रम देखिन्छ। जसले आश्चर्यचकित तुल्याएको थियो अर्थात् काठमाडौंजस्तो ठाउँमा डेंगी कसरी सर्छ भन्ने ज्ञान रहेनछ भन्ने बुझिन्छ। हुन त कुनै पनि महामारी फैलिएपछि मानिस आत्तिने र भ्रमका कुरामा बढी विश्वास गर्ने वा अनावश्यक हल्ला फैलाउने गर्छन्। यसले हालसम्मको डेंगी अभियानमा कतै न कतै कमजोरी छ भन्ने बुझिन्छ। त्यसकारण, डेंगीबारे शैक्षिक अभियानलाई व्यापक र सशक्त बनाउनुपर्ने देखिन्छ।  

काठमाडौंका लगभग सबैजसो ठाउँमा डेंगी देखिइसकेको छ। विशेषगरी नयाँबजारको खुसिबुँ, डल्लु, भोटेबहाल, स्वयम्भू, टेकुलगायत ठाउँमा भेटिएको हो। त्यस्तै ललितपुर र भक्तपुर जिल्लामा पनि देखिन सुरु भइसकेको छ।

काठमाडौंका लगभग सबै ठाउँमा डेंगी देखिइसकेको छ। विशेषगरी नयाँबजारको खुसिबुँ, डल्लु, भोटेबहाल, स्वयम्भू, टेकुलगायत ठाउँमा भेटिएको हो। त्यस्तै ललितपुर र भक्तपुर जिल्लामा पनि देखिन सुरु भइसकेको छ। सम्बन्धित मन्त्रालय तथा निकायले मात्र डेंगी महामारीलाई नियन्त्रण गर्न नसक्ने घोषणा गरिसकेको छ। यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयको समन्वयमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा डेंगी नियन्त्रणसँग जोडिएका निकाय वा मन्त्रालयले पनि  डेंगी नियन्त्रणका कार्यक्रममा सहयोगी भूमिका खेल्नुपर्छ। जस्तो उदाहरणका लागि खाल्टाखुल्टी पुर्नुपर्छ त भन्दछौं तर यसमा मुख्य भूमिका सडक विभागको हुनसक्छ। केही संक्रमित बिरामीले आफ्नो घरको केही मिटरपर खाल्टाखुल्टी भएको तर त्यो पुर्न मेरो अधिकार नहुने र गर्न नमिल्ने भएकाले लामखुट्टे फैलने क्रम जारी रहेको भनेका थिए।

त्यस्तै, नेपालको लामो समयदेखिको समस्या सफा पानीको अभाव हो। र, धेरै दिनसम्म धेरै पानी भाँडामा संकलन गरेर राख्नुपर्ने बाध्यता पनि हो। यस्तो जम्मा गरेको पानी लार्भा उत्पादन गर्न लामखुट्टेका लागि उपयुक्त स्थान हुन्छ। पानीको अभाव कम नगरेसम्म लामखुट्टेको संख्यामा कमी आउने सम्भावना भने कमै देखिन्छ। यो समस्या समाधानको चाबी भने स्वास्थ्य मन्त्रालयसँग नभई खानेपानी मन्त्रालयसँग हुनेछ। त्यस्तै, नगरमा यत्रतत्र फालिएका गाडीका टायर, प्लास्टिकका बोतलजस्ता फोहोरहरू पनि लामखुट्टेका लार्भा हुर्कने उपयुक्त सामग्री हुन् र यसको व्यवस्थापन पनि स्वास्थ मन्त्रालयअन्तर्गत नपर्ने भएकाले सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्छ।

एक डेंगी संक्रमित व्यक्तिले आफ्नो टोलमा लामखुट्टे मार्ने फोगिंग (लामखुट्टे मार्ने धुँवा) हालेको देखेका रहेछन्। तर ती बिरामीको भनाइअनुसार सो फोगिंग नदीको किनारैकिनार मात्र प्रयोग गरेका थिए र आफ्नो घरमा पनि गर्ला कि भनेर कुर्नु मात्र परेको अनुभव सुनाएका थिए। तर डेंगी फैलाउने लामखुट्टे सामान्यतया मानिससँग घरैमा बस्ने भएकाले घरघरमा फोगिंग गर्नुपथ्र्यो। यसलाई मैले सुकिलामुकिला लामखुट्टे पनि भन्ने गरेको छु। यस्तो कार्य गर्दा स्थानीयलाई अग्रिम जानकारी दिनुपर्छ ताकि उनीहरूको उपस्थितिमा घरभित्र भएका लामखुट्टेलाई पनि नष्ट गर्न सकियोस्। तर यो विधि त्यति सहज र व्यावहारिक भने हुनेछैन, किनभने सबैको घरका भित्री कोठासम्म पुगी फोगिंग गर्न असहज भने हुन्छ नै। जसले गर्दा लामखुट्टे पूर्ण रूपमा नष्ट गर्न सकिन्न। र, प्रकोपको जोखिम पनि यथावत् रहिरहन्छ।

प्रकोप वा महामारी कहिले पनि अग्रिम जानकारी दिएर आउँदैन तर बिरामीको संख्या अप्रत्याशित रूपमा बढ्ने भएकाले बिरामीको परीक्षण गर्ने ठाउँ र जाँचका लागि कीट, भर्ना हुने ठाउँ र उपचार गर्ने स्वास्थकर्मीको अभाव पक्कै हुन सक्छ। टेकु अस्पतालमा पनि डेंगीका बिरामी बढ्दै जाँदा हाल भएको अस्पतालको भौतिक सुविधा अपुग भएको र पूर्ण रूपमा तयारी अवस्थामा पनि नभएको र प्रकोप बढ्दै गए डेंगी उपचारमा थप चुनौती देखा पर्दै नजाला भन्न सकिँदैन। यस्तो अवस्था नै नआओस् भन्नका लागि हालको सरुवारोग अस्पताललाई भौतिक रूपमा र विज्ञको आवश्यकताको आधारमा विस्तार गर्दै जानुपर्छ।

सुरुसुरुमा डेंगीले प्रकोपको रूप लिइसकेको थाहा नपाउँदा संक्रमित आफैं औषधि पसलमा गई दुखाइ कम गर्ने कडा औषधि खाने गरेको पाइएको थियो। डेंगी पहिचान नहुँदा वा शंका गर्न नसक्दा स्वास्थ्यकर्मीले समेत दुखाइ कम गर्ने कडा औषधि दिने गरेको आजको मितिसम्म पनि देखिन्छ। यस्ता औषधी संक्रमितले अत्यधिक प्रयोग गरे रक्तश्राव हुन गई मृत्युसमेत हुनसक्छ।

महामारीले समस्या मात्र दिँदैन, यसले नयाँ कुरा सिक्ने अवसर पनि दिन्छ। तर त्यसका लागि खालि कति जना संक्रमित भए, कति मरे वा कहाँकहाँ देखिए भनेर मात्र पुग्दैन। यसका लागि सबै क्षेत्रबाट सूक्ष्म तरिकाले अध्ययन अवलोकन पनि गर्नु जरुरी हुन्छ। यहाँ सबै क्षेत्र भन्नाले व्यवस्थापन, नीतिनिर्माता, चिकित्सक, अनुसन्धानकर्ता, माइक्रोबायोलोजिस्ट, कीटजन्य विशेषज्ञ, स्वास्थ्य, वातावरणविद आदिलाई भन्न खोजिएको हो।

यी सबै विधामा काम गर्दै आइरहेकाहरूलाई एक ठाउँमा ल्याई अनुसन्धान गर्नसके हाम्रो देशका लागि सुहाउँदो योजनाका खाका तयार गर्न सकिन्थ्यो र त्यो बढी प्रभावकारी पनि हुनेथियो। हामीले हाल पनि विदेशबाट आयातित महामारी हुनुका कारण, बच्ने उपाय र योजनामा निर्भर रहँदा प्रभावकारी ढंगबाट प्रकोप या महामारीलाई नियन्त्रणमा ल्याउन सकिरहेका छैनौं। जस्तै, काठमाडौंमा घरैपिच्छे इनारहरू छन्, यी हाम्रा लागि अति आवश्यक पनि छन् तर बिरामीको भनाइअनुसार त्यहाँ अत्यधिक लामखुट्टेका लार्भा छन् र त्यसलाई कसरी नष्ट गर्ने भन्ने अनुभव रहेनछ। अर्थात् हामीले अहिलेसम्म फोगिंग (धुँवा) मात्र गर्ने गरेकाले, इनारमा प्रयोग गर्दा कसरी गर्ने, त्यो पानी त्यसपछि प्रयोग गर्न मिल्ने कि नमिल्ने र मिल्छ भने पनि कति दिनपछि प्रयोग गर्ने र त्यतिन्जेल पानीको आपूर्ति कसरी र कहाँबाट गर्ने भन्ने प्रश्नवाचक चिन्ह खडा भएका छन् र यसको सम्बोधन सम्बन्धित निकायले गर्नुपर्छ।

यो नितान्त नेपालको स्थानीय समस्या हो भने पनि हुन्छ। यस्ता थुप्रै समस्या थाहा पाउन प्रत्यक्ष बिरामीसँग अन्तरक्रिया गर्न जरुरी हुन्छ र समस्याको पहिचान गरी त्यसको विश्लेषणपछि प्राप्त निचोडलाई व्यवहारमा लागू गर्नुपर्छ। यस्ता उपाय नेपाललाई मात्र होइन, दक्षिण एसियाली देशहरू वा विश्वका लागि नै चासो र उदाहरणीय हुन सक्छ।

स्वास्थ्यकर्मी उपचारमा पहिलो पंक्तिमा बसी उपचार गर्नुपर्ने र विशेष उपचार कवच पनि नभएकाले पक्कै पनि उनीहरू भने सुरक्षित हुने छैनन्, तर योभन्दा अगाडि फ्लुको प्रकोपमा पनि उपचारमा व्यस्त भई अनुभव भने सँगालेका छन्। तर यो डेंगी महामारीले भने बेग्लै अवस्था सिर्जना गरेको देखिन्छ। अर्थात्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका झन्डै एक दर्जन चिकित्सक तथा कर्मचारी बिरामीको उपचारका क्रममा डेंगी संक्रमित भए, जुन अघिल्ला प्रकोपहरूमा देखिएको थिएन। अझ अचम्म त फ्लु सजिलै खोकेर सर्ने रोग हो र पनि हामी कहिल्यै पनि विशेष मास्क नलगाई उपचार गर्दा पनि यतिका संख्यामा बिरामी भएका थिएनन्।

अझ डेंगीको सिजन दुई÷तीन महिना बाँकी भएकाले थप स्वास्थकर्मी संक्रमित हुँदैनन् भन्न सकिँदैन। त्यसैले सरुवा रोगको उपचार गरिरहेका अस्पतालले पहिले आफू सुरक्षित अवस्थामा बस्नुपर्छ अनि मात्र सावधानीपूर्वक उपचार गर्नुपर्छ भन्ने पाठ यो महामारीले सिकाएको छ।

अन्त्यमा, हालको डेंगी महामारीलाई चुनौतीका साथै सिक्ने अवसरको रूपमा लिन सक्नुपर्छ। यसका लागि माथि उल्लेख गरेझैं सबै सेक्टरका अनुभवी विज्ञलाई एक ठाउँमा ल्याउनुपर्छ र नयाँ शिराबाट मुलुकमा देखिएको समस्याको अध्यन अनुसन्धान गरी निष्कर्षका आधारमा योजना तयार पार्ने र त्यसैअनुरूप लागू गर्नुपर्छ। यसका लागि अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्न अति जरुरी छ।  

डाक्टर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ।

प्रकाशित: २१ भाद्र २०७६ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App