१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विनाशको कारक बन्दै विकासे सडक

ओखलढुंगा - जिल्लाका आठ स्थानीय तहका ७५ वटै वडामा सडक सञ्जाल पुगेको छ। सडकले स्थानीयलाई आवतजावत र सामान ढुवानीमा सहज बनाएको छ। तर एकातिर विकासको मुख्य पूर्वाधारका रूपमा सडकको विकास आवश्यक रहेछ भन्ने जनताले सहसुस गरेका छन् भने अर्कातिर वर्षाको समयमा ठूलो परिमाणमा जनधनको क्षति भएपछि सडकका कारण विपद् बढी हुने रहेछ भन्ने कुरा पनि महसुस गरेका छन्।

यसका साथै हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकका कारण स्थानीयले भोग्नुपरेको सास्तीले सडक आवश्यक तर सकस पनि त्यत्तिकै भन्न थालेका छन्। असार अन्तिममा परेको अबिरल वर्षाका कारण ओखलढुंगामा मानवीय र भौतिक क्षति दुवै ग-यो। पाँचजनाले बाढीपहिरोमा परेर ज्यान गुमाए। सयौं घर जोखिममा परेका छन्। धेरै ठाउँका खेतीयोग्य जमिन ढाँडमा परिणत भएको छ। विपद्मा बढी क्षति हुनुको कारण कतै न कतै सडक पाइएको छ। जिल्लाका अधिकांश गाउँमा पुगेका सडक वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका कारण वर्षाको समयमा क्षति बढी भएको हुनसक्ने सरोकारवालाको बुझाइ छ। यसका केही उदाहरण छन्।

मानवीय क्षति
सिद्धिचरण नगरपालिका–६ जन्तरखानी नलिडाँडादेखि मोलुङ गाउँपालिका–७ पात्ले जोड्न नयाँ सडक खनिँदै छ। असार अन्तिममा परेको अबिरल वर्षाका कारण सडकबाट गएको पहिरोले घर पुरिएर सिद्धिचरण नगरपालिका–६ जन्तरखानीकी ४८ वर्षीया कान्छीमाया श्रेष्ठको ज्यान गयो। सडक किनारमा थुपारिएको माटोको ढिस्को बगेर घर बगाएपछि उनको ज्यान गएको हो। पहिरोले घरसँगै ज्यान गएपछि उनका पाँच छोरीको बिचल्ली भएको छ।

पहिरोमा श्रेष्ठको एउटा भैंसी, दुईवटा खसी र ६ वटा कुखुरासमेत मरेका थिए। सडक खन्दा थुपारिएको माटोको ढिस्को वर्षाको भलले बगाउँदा श्रेष्ठको घर पुरिएर उनको मृत्यु भएको स्थानीय युद्धबहादुर मगरको भनाइ छ। मगरका अनुसार प्रदेश सरकारको २० लाख बजेटले जन्तरखानी ठाडेडाँडा–नलिडाँडा हुँदै पात्ले जोड्न सो सडक खनिएको हो।

यसका साथै घरमाथिबाट आएको पहिरोले घर पुरिँदा पात्लेको एकै घरका आमाछोरीको ज्यान गयो। जिल्लाको मोलुङ गाउँपालिका–७ पात्लेमा घरमाथिबाट आएको पहिरोले घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनकी छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको थियो। सडकको माथिल्लो ढिस्को भत्किएर एक्कासि खसेको पहिरोले घर पुरिएपछि शेर्पा आमाछोरीको ज्यान गएको हो।

पहिरोको सुरुवात सडकबाटै भएको मोलुङ गाउँपालिका–७ पात्लेका वडाध्यक्ष हेम सुनुवारले जानकारी दिए। खिजिदेम्बाबाट ताल्कोट बजार वडा कार्यालय जोडिएको ग्रामीण सडकका कारण पहिरो गएर घर पुरिएको स्रोतले जनाएको छ। बाढीमा परेर सुनकोसी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भयो। उनको ज्यान जानुमा पनि कतै न कतै मोटरबाटो पाइन्छ।

सुनकोसी गाउँपालिका–४ मोलुङ दोभानदेखि सोही गाउँपालिका–१ बलखु जोडिएको सडकबाट आएको बाढीले राईलाई बगाएको स्थानीय बुद्धिमान राईले बताए। निकै ओरालो गरी खनिएको सडकबाट आएको भल काट्न खेतमा गएका राईलाई झोडाले मोलुङ खोलामा पु-याउँदा उनको खोलाले बगाएर ज्यान भएको प्रत्यक्षदर्शी बुद्धिमान राईको भनाइ छ। सडकबाट आएको ढुंगामाटोसहितको बाढीले राईलाई खोलामा पु-याएको थियो। गत वर्ष राँगादिपमा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको ज्यान गएको थियो। सडककै कारणले पहिरो गएर घर पुरिएको थियो।

प्रकाशित: २१ भाद्र २०७६ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App