६ वैशाख २०८१ बिहीबार
राजनीति

‘प्रधानमन्त्री नियमित काम गर्न सक्षम’

फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार भएकाले उनले नियमित कामलाई निरन्तरता दिन सक्ने चिकित्सकले बताएका छन्। प्रधानमन्त्री ओली सिंगापुरबाट शुक्रबार स्वदेश फर्किएलगत्तै उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले उक्त कुरा बताएकी हुन्। डा. शाहका अनुसार उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेकाले प्रधानमन्त्री ओली नियमित कामलाई निरन्तरता दिन सक्षम छन्।

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि भदौ ५ गते उपचार गराउन सिंगापुर गएका थिए। सात चरणमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार गराएपछि ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको हो। डा. शाहले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको शरीरमा बढिरहेको ‘एन्टिबडी’ लाई वैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा पूरा भएको उल्लेख छ। उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएकाले प्रधानमन्त्री नियमित काममा फर्कन सक्ने विज्ञप्तिमा जनाइएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको चिकित्सकले बताएका छन्।

प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार गराएपछि स्वास्थ्य अवस्थामा सुधार आएकाले ण प्रधानमन्त्री नियमित काममा फर्कन सक्नुहुन्छ। डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीकी निजी चिकित्सक

वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री ओलीकोे प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार भएको र औषधिको मात्रा मिले अवस्था पनि क्रमिक रुपमा सुधार हुँदै जाने बताए। ‘यसमा बल्झिने सम्भावना हुँदैन। प्रायः सुधार नै हुन्छ। मलाई लाग्छ उहाँका निजी चिकित्सकद्वय दिव्यासिंह शाह र दिलीप शर्मासहितको संलग्नतामा भएको उपचारले अझ सुधार भएको हुनुपर्छ’, डा. काफ्लेले भने, ‘नेपालमै रोग पत्ता लागेपछि सिंगापुर गएका कारण त्यसको रिपोर्ट पनि राम्रो नै आएको छ भने अपेक्षा गरेअनुरुपकै सुधार भएको हुनुपर्छ।’ उनका अनुसार स्वास्थ्यमा सुधार आए प्रधानमन्त्री ओलीले पहिलाकै अवस्थामा काम गर्न सक्छन्। ‘औषधिको मात्रा मिलेको खण्डमा उहाँको स्वास्थ्यामा कुनै गडबडी हँुदैन। उहाँल पहिलाकै अवस्थामा काम गर्न सक्नुहुन्छ। काममा केही फरक पर्दैन’, उनले भने।

यसअघि साउन १८ मा सिंगापुर जानुअघि छाउनीस्थित सैनिक अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो। रगत, दिसा, पिसाब, पेटको अल्ट्रासाउन्ड, बायोप्सीलगायत परीक्षण गरिएपछि थप उपचारका लागि ओली साउनमा सिंगापुर गएका थिए। साउन २७ गते सिंगापुरबाट स्वदेश फर्केका ओली स्वास्थ्यमा समस्या देखिएपछि भदौ ५ गते थप उपचारका लागि त्यसतर्फ गएका हुन्। ‘उहाँले बेस्ट उपचार पाउनुभयो। अब वेट एन्ड सी मा रहनुपर्छ। अहिलेसम्मको सबैभन्दा राम्रो पद्धतिबाट उपचार भएको हो’, डा. काफ्लेले भने।

प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिईकन बालुवाटार गएका थिए। प्रधानमन्त्री बालुवाटार पुगेपछि निजी चिकित्सक शाहले स्वास्थ्य अवस्थामा सुधार आएको र नियमिति काममा फर्कन सक्ने जानकारी गराएकी हुन्।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली बालुवाटार भित्रिएलगत्तै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल भेट्न पुगेका थिए। दाहालले ओलीको स्वास्थ्य अवस्थाबारे जानाकारी लिए। २०६४ सालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित: २१ भाद्र २०७६ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App