१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुपाल्चोक ६८ औं खुला दिसामुक्त जिल्ला

सिन्धुपाल्चोकलाई खुला दिसामूक्त जिल्ला घोषणा गर्नुअघि शुक्रबार सदरमुकाम चौतारामा निकालिएको -याली ।  तस्बिरः ध्रुव/नागरिक

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक खुला दिसामुक्त ६८ औँ जिल्ला बनेको छ। खानेपानीमन्त्री बीना मगरले सदरमुकाममा आयोजित विशेष समारोहबीच शुक्रबार खुला दिसामूक्त जिल्ला घोषणा गरेकी हुन्।

‘नेपाललाई नै खुला दिसामूक्त मुलुक बनाउन सिन्धुपाल्चोकले एउटा ईँटा थपेको छ,’ घोषणासभालाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘दक्षिण एशियामै नेपाललाई पहिलो खुला दिसामूक्त मुलुक बनाउने लक्ष्यमा सरकार जुटेको छ।’ यसअघि ६७ जिल्ला खुला दिसामूक्त घोषित भइसकेको जानकारी दिँदै उनले आउँदो असोज १३ गते मुलुक घोषणाको तयारी भइरहेको बताइन्।

मुलुकभित्र सञ्चालित सरसफाइ गतिविधि र अभियानको मन्त्री मगरले प्रसंशा गरिन्। सरसफाइ अभियानमा नेपालले दक्षिण एसियाका मुलुकलाई उछिनेको दाबी गर्दै उनले भनिन्, ‘अनुदान दिएर शौचालय बनाइरहेको छिमेकी भारत सरकार हामीभन्दा पछाडि छ। बिनाअनुदान स्वतस्फूर्त जनस्तरबाट शौचालय बनाएर नेपाल दक्षिण एशियामै पहिलो खुला दिसामूक्त मुलुक घोषित हुने संघारमा छ।’

खुला दिसामूक्त राष्ट्र घोषणा गरेपछि पूर्णसरसफाइ सुनिश्चित मुलुक बनाउन कार्यक्रम अघि बढाइने उनले जनाइन्। ‘तर खानेपानी, ढल, वातावरण र व्यक्तिगत आनीबानी सफाइद्धारा पूर्णसरसफाइमा पुग्न भने चुनौति छ,’ मन्त्री मगरले औँल्याइन्। सरफाइका लागि खानेपानी पहिलो सर्त हुने उल्लेख गर्दै उनले आधारभूत खानेपानी सुनिश्चितताका लागि सरकारले विभिन्न कार्यक्रम अघि सारेको बताइन्। सन् २०३० भित्र नेपाललाई पूर्णसरसफाइ पहूँच भएको मुलुक बनाउने लक्ष्यमा सरकार दृढताका साथ बढेको बढ्ने मन्त्री मगरको भनाई थियो।

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले जिल्लाका सबै ८८ हजार घरधुरीमा शौचालयको पहूँच पुगेको बताए। ‘जिल्लामा खुला दिसा हुने अवस्था अब छैन्।’

उनका अनुसार यसअघि जिल्लाका सबै १२ स्थानीय तह खुला दिसामूक्त घोषित भएका थिए। २०७२ जेठमा सिन्धुपाल्चोकलाई खुला दिसामूक्त जिल्ला घोषणा गरिने तयारी थियो। तर त्यसअघि नै २०७२ वैशाख १२ गते निम्तिएको भूकम्पले त्यसलाई बिथोल्यो। २०६९ जेठबाट खुला दिसामुक्त अभियान थालिएको थियो। ९९ प्रतिशतभन्दा बढी घरमा शौचालय पहूँच स्थापित भएपछि भूकम्प निम्तिएको थियो। 

तथ्यांक अनुसार भूकम्पले ६० प्रतिशत शौचालय क्षतिग्रस्त बनायो। २०६८ को राष्ट्रिय जनगणनाअनुसार जिल्लाको घरधुरी संख्या ६६ हजार ६ सय ८८ रहेकोमा अभियानअघि शौचालय पहूँच ३६ प्रतिशत मात्र थियो। झण्डै २७ हजार घरमा मात्र शौचालय थिए।

मन्त्री मगरले सरकारका तर्फबाट सिन्धुपाल्चोक खुला दिसामूक्त जिल्ला बनेको प्रमाणपत्र समन्वय समिति प्रमुख तामाङलाई हस्तान्तरण गरिन्। घोषणासभाअघि विभिन्न झाँकी, बाजागाजासहितको ¥यालीले सदरमुकामका बजार परिक्रममा गरेको थियो।

प्रकाशित: २० भाद्र २०७६ १५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App