७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा लगानीका लागि रसियालाई आग्रह गरेका छन्। नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारमा रसिया सरकारले विगतमा गरेको सहयोगको स्मरण गर्दै मन्त्री पुनले थप लगानीका लागि आग्रह गरेका हुन्।   

आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि रसियाका राजदूत एलेक्सिइ ए नोभिकोभलाई मन्त्री पुनले दुई देशबीचको मैत्रीसम्बन्ध जनस्तरसम्म फैलिएर थप प्रगाढ बनेको समेत स्मरण गरे।     

भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ। रसियाले विगतमा पनि पनौती जलविद्युत आयोजना, पूर्वपश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै उनले आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।     

मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसँग आग्रह गरे।     “जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, सय मेगावाटभन्दा माथिको परियोजनाको विद्युत खरीद सम्झौता पनि सरकारले अमेरिकी डलरमा गर्ने निर्णय गरेको छ।

लगानीमैत्री वातावरण बनेको छ। यसलाई सदुपयोग गरेर नेपालमा लगानी गर्न म आग्रह गर्छु” मन्त्री पुनले भने। मन्त्री पुनले सन्देश रसियन लगानीकर्तालाई नेपालको लगानीमैत्री वातावरणको सन्देश प्रवाह गरिदिन आग्रह गरे।     

जवाफमा राजदूत नोभिकोभले ऊर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लागि वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।रासस

प्रकाशित: २० भाद्र २०७६ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App