८ वैशाख २०८१ शनिबार
अर्थ

दशैं, तिहारमा सुपथ मूल्य पसल संचालन गरिने

काठमाडौं- सरकारले दशैं, तिहारजस्त चाडपर्वलाई लक्षित गरेर आगामी भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर यही भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो। शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै विभागमा महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सो सुपथ पसल संचालन गर्ने निर्णय गरिएको पनि बताए। सुपथ पसल संचालनका लागि सरकारले आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको छ।

विभागले यस वर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका  दरले छुट दिने व्यवस्था पनि गरेको छ। त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरुमार्फत गर्न लागिएको पनि विभागका महानिर्देशक गौचनले जानकारी दिए।

विभागले चाडपर्वका बेला कालाबजारी हुन नदिन बजार अनुगमनको कामलाई तीव्रता दिइएको दावी पनि गरेको छ। महानिर्देशक गौचनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा अर्को हप्ताबाट ८ वटा टोली परिचालन गर्न लागिएको पनि समितिलाई जानकारी दिए।

बैठकमा समितिका सदस्यहरुले बजार अनुगमनको काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। समितिकी सदस्य सुजाता परियारले बजार अनुगमन गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरिन्। उनले तीजमा सारी किन्दा आफै ठगिएको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न किन प्रभावकारी कदम चाल्न नसकेको ? भनि सरकारलाई प्रश्न गरिन्।

त्यसैगरी समितिका अर्की सदस्य दिल कुमारीले बजारमा खाद्य बस्तुहरुको मूल्य दोब्बर हुँदा पनि सरकारले ती विक्रेताहरुलाई कार्वाही गर्न नसकेको उल्लेख गर्दै आपत्ति जनाइन्। उनले बजार अनुगमन गरेर बस्तुको विक्री मूल्य सुपथ बनाउन पनि सरकारलाई सचेत गराइन्।

समितिका सदस्यहरुले उपभोक्तालाई मारमा पार्ने व्यापारीहरुलाई कडा कार्वाही गर्न पनि सरकारलाई सचेत गराएका थिए।

प्रकाशित: २० भाद्र २०७६ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App