७ वैशाख २०८१ शुक्रबार
राजनीति

नगर प्रमुखसँग जनताका गुनासैगुनासा

मुगु– गाउँ गाउँमा पुगेर घर दैलो अभियानमा जुटेका छायानाथ रारा नगरपालिकाका प्रमुखसंग स्थानीयवासीले गुनासाका चाङ लगाएका छन्। नगरपालिकाको वडा नम्बर १३ को  लह गाउँकी ६० वर्षीया पञ्चशिला रोकायाले नगर प्रमुख हरिजंग शाही गाउँमा पुग्दा दुई जोडेर भनिन, मेयर साव हाम्मा गाउँकी महिलाकन दाउरा लयाउन्या बाटो जात्ती भेई लाग्न्या छ, बाटो बनाई दियाले राम्मो हुन्या छियो। (हाम्रा गाउँका महिलालाई धेरै दुःख छन दाउरा ल्याउन वनमा जाने बाटो निकै डर लाग्दो छ बाटो बनाई दिएको भए राम्रो हुने थियो।)

रोकाया जस्तै रुगा गाउँका स्थानीय बलबहादुर बुढथापाले लामो समयदेखि स्थानीयले नदिको पानी खाई रहेको, स्वास्थ्य चौंकी गाउँमा नरहेको, गाउँमा सडक पुगे पनि नदिमा पुल नबन्दा आवत जावतमा समस्या रहेको, सिचाई तटबन्दको उतिकै आवश्यक रहेको गुनासो गरे। बुढथापा मात्रै हैनन् मालिका आधारभुत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर शाहीले विद्यालयको भवन जिर्ण भएको कक्षा कोठासमेत अभाव हुँदा पठन पाठनमा समस्या आएको बताए। उता वडा नम्बर १३ कै थार्प गाउँका स्थानीयले पनि उस्तै गुनासो गरे।

स्थानीयले स्वास्थ्य चौकिका लागि जग्गा उपलब्ध गराई सकिएकाले भवन छिटो बनाउन माग गरे भने गाउँमा रहेको फेज नेपाल नामक गैरसरकारी संस्थाद्धारा सञ्चालित स्वास्थ्य क्लिनिकबाट प्रसुति सेवा सञ्चालन गर्न दिनु पर्ने बताए। तिर्प , लह र लापु गाउँका स्थानीयले आफनो बन जंगल नभएकाले काठ दाउराको समस्या रहेको, लेकमा जाने, मसानघाट जाने बाटो नभएकाले बाटो निर्माण गरि दिनुपर्ने,  विद्यालयमा भवन अभाव, घेरबार नभएको, गाउँमा घट्ट नहुँदा समस्या रहेकाले मिलको व्यवस्था गरि दिन पनि नगर प्रमुख शाहीसँग अनुरोध गरे।

गाउँ घुम्ने क्रममा सथानीयले समस्या नै समस्या देखाएपछि नगर प्रमुख शाहीले  नगरभित्रका ८७ वटा गाउँ बस्ति सबैमा धेरै समस्या रहेका र ति समस्यालाई एकै साथ समाधान गर्न नसकिने भएकाले आफ्नो कार्यकालभित्र क्रमिक रुपमा समस्या समाधान गरि सक्ने भएकाले धैर्य गर्न अनुरोध गरे भने समय समयमा सबै गाउँमा भेट गर्न आई रहने प्रतिबद्धता जनाए।

यसरी गाउँको गुनासहरु आउन थालेपछि स्थानीय निर्वाचन भएको दुई वर्ष बढि भए पनि छायानाथ रारा नगरपालिकाका प्रमुखसहितको जन प्रतिनिधिहरुको टोली अहिले गाउँ गाउँमा गएर जनताका समस्याहरुबारे जानकारी लिन थालेका छन्।

निर्वाचित भए लगत्तै स्थानीय निकायले पुर्णता पाएको र नयाँ संरचना अनुसार काम गर्दा केही कठिन भएको तथा गाउँ गाउँमा विकास निर्माणका योजना सञ्चालन भए पनि सबै गाउँ बस्तिमा पुग्न नसकेपछि स्थानीय जनताको गुनासो बढि आएपछि अहिले नगर प्रमुख नै गाउँ गाउँमा घरदैलो अभियानमा लागेको छायानाथ रारा नगरपालिकाले जनाएको छ। गाउँमा पुगेपछि नगर प्रमुखले हालसम्म नगरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिताका बारे जानकारी तथा अनुगमन गर्ने स्थानीयका गुनासा र सुझाव लिने गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ललितजंग मल्लले बताए।

एकै पटक नगरपालिकाका सबै गाउँमा पुग्न सकिदैन्। समय मिल्नासाथ कुनै न कुनै बस्तिमा पुगेर जनताका दुःख सुख बुझ्ने गरेको नगर प्रमुख शाहीले बताए।  गाउँमा सञ्चालित योजना सम्पन्न गर्दा नगरका कर्मचारीले, जन प्रतिनिधिले दुःख दिए नदिएको, सम्झौता अनुसारको रकम पाए नपाएको विषयमा जानकारी लिएको र योजनाहरुलाई दिर्घकालिन बनाउन पनि सुझाव पाएको शाहीले बताए।

प्रकाशित: २० भाद्र २०७६ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App