coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
मुख्य समाचार

सेनाद्वारा १५ दिनमै चार भवन हस्तान्तरण

तौथलीमा निर्मित सामुहिक आवास भवन गाविस सचिवलाई हस्तान्तरण गर्दै गोरखबहादुर गणका गणपति राजाराम बस्नेत ।

सिन्धुपाल्चोक–भूकम्प प्रभावितलाई बर्खा अगावै छानोमूनि ल्याउने उद्देश्यअनुरुपमा सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा नेपाली सेनाले चारवटा सामूहिक आवास भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।
जिम्मेवारीपछि निर्माण थालेको दुई सातामै भवन सम्पन्न गरी सेनाले समुदायलाई हस्तान्तरण गरेको हो । शुक्रबार एकै दिन सेनाले जिल्लाका विभिन्न स्थानमा बनेका सामुहिक आवास भवन हस्तान्तरण गरेको थियो। तौथली, भीमटार, भोटेरौर र तिपेनीमा आवास भवन बनेका हुन्।

जिल्ला दैवी प्रकोप उद्दार समितिको जेठ २० गतेको वैठकले जिल्लाका १० स्थानमा सामूहिक आवास भवन निर्माण गर्ने निर्णय गर्दै चारवटाको जिम्मेवारी सेनालाई दिएको थियो। निर्णयको भोलिपल्टै सेना निर्माणको लागि खटिएको थियो। मुख्य संरचना निर्माण थालेको दुई सातामै भवन सम्पन्न गरेर सेनाले स्थानीयलाई बुझाएको हो।

सेनाले निर्माण गरेको भवन फलामे ट्रस्ट, जस्ता र पानीरहित (वाटर प्रुफ) ‘भिनिजस’ पाताको हो । निर्मित भवन १२÷१२ कोठाको रहेको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । उनका अनुसार भवनमा आवश्यक संख्यामा शौचालय र ‘बाथरुम’ छन्। ‘महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, बाथरुम छन्,’ उनले भने।

कोठाबाहिर निकालिएको बरन्डामा भान्छाकोठा छ। प्रत्येक कोठाको लागि भान्छाको व्यवस्था छ। एक परिवारकालागि एककोठा उपलब्ध हुनेगरी भवन निर्माण गरिएको हो। जस्ताको छानो र जस्ताकै बारभित्र पानीरहित भिनिसपाता ठोकिएको छ। भवनको भित्र सेतो र बाहिर सेनाको हरियो रंग दलिएको आभास चिटिक्क छ। सेनाकै डिजाइनमा भवन निर्माण गरिएको हो। मल्लकालीन सहर तौथलीमा चौतारास्थित गोरखबहादुर गणले र भोटेचौरमा सुन्दरीजलका सेनाले सामुहिक आवास भवन बनाएका हुन्। त्यस्तै भीमटारमा भक्तपुरस्थित बीरदल गण र भोटेनाम्लाङमा मेलम्चीस्थित भीमकाली गुल्मका सेना भवन निर्माणमा खटिएका थिए ।

तौथलीको आवास भवन एक कार्यक्रमबीच गोरखबहादुर गणपति राजाराम बस्नेतले हस्तान्तरण गरे। गाउँका बयोवृद्ध  ९२ वर्षीय लक्ष्मण कुशुलेले आवास भवन उद्घाटन गरेका थिए। यो भवन निर्माणका लागि सहसेनाले बालकृष्ण थापाको नेतृत्वमा ४५ सदस्यीय सेना टोली खटिएको बस्नेतले बताए। ‘१५ दिनमै भवन निर्माण सम्पन्न गर्यौँ,’ उनले भने। गाविस सचिव पशुपति गैँडाले भवन बुझ्दा स्थानीय भूकम्प प्रभावितले निर्माणमा खटिएका सेनालाई फूलमाला पहिर्याएर सम्मान गरेका थिए। यहाँ प्रत्येक चार कोठाका महिला/पुरुषका लागि तीन/तीनका दरले ६ शौचालय र ६ बाथरुमको व्यवस्था छ ।

निर्माण जिम्मेवारी पाएका गोरखनाथका गणपति बस्नेतले सबै भवनको प्रत्येक कोठामा सोलार बत्ती जडान गरेको जानकारी दिए। जिल्ला दैवीप्रकोप उद्दार समितिका संयोजक प्रजिअ दुवाडीले सामूहिक आवासमा छिट्टै भूकम्प प्रभावित राखिने बताए। ‘प्राथमिकताका आधारमा प्रभावितलाई राख्छौँ,’ उनले भने ।


चार सामूहिक आवास बन्दै

सिन्धुपाल्चोकमा बन्ने १० सामुहिक आवास भवनमध्ये उद्धार समितिले सहरी विकास तथा भवन निर्माण डिभिजनलाई चार र नेपाली सेनालाई चारवटाको जिम्मेवारी दिएको थियो। सेनाले भवन बनाएर समुदायलाई हस्तान्तरण गरिसक्दा डिभिजन कार्यालयले भर्खर निर्माण चरणमै जुटिरहेको छ।

टेण्डर प्रक्रियामा जानुपर्दा निर्माणमा ढिलाई भएको डिभिजन प्रमुख डा. युवराज पौडेलले बताए। ‘निर्णयपछि सेना सिधै निर्माणमा गयो । हामी टेण्डरमा जानैपर्ने बाध्यता छ,,’ उनले भने । डिभिजनलाई बाह्रविसे, जलवीर, चौतारा र मेलम्चीमा आवास भवन बनाउने जिम्मेवारी दिइएको छ ।

टेन्डर प्रक्रिया टुंगिएर निर्माण चरणमा प्रवेश गरेको डा. पौडेलले जानकारी दिए । ‘जग खन्ने काम भइरहेको छ । एक महिनाभित्र भवन निर्माण सक्छौँ,’ उनले भने। उनका अनुसार बाह्रविसे र मेलम्चीमा १६÷१६ तथा चौतारामा २० र जलवीरमा १२ कोठा भएको ‘प्रिफ्याव’ भवन बन्ने छ ।

सामूहिक आवास भवन बनाउने दुई स्थान भने अझै छनोट भइसकेको छैन । स्थान छनोटपछि भवन निर्माण थाल्ने तयारी छ। भूकम्पको वर्षपछि पनि टेन्ट र त्रिपालभित्रै रहेका प्रभावितलाई बर्खा अगावै छानोमूनि ल्याउन सरकारले सामुहिक आवास बनाउने निर्णय गरेको थियो। प्रभावितले आफ्नो बन्दोबस्ती गरेपछि निर्मित संरचना सामुदायिक प्रयोजनमा छोडिने नीति सरकारले लिएको छ।

 

प्रकाशित: १५ असार २०७३ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App