coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुई वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र

बागलुङ- आउँदो दुई वर्षभित्र सबै नेपालीको हात हातमा राष्ट्रिय परिचयपत्र पुग्ने भएको छ। गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार यही वर्ष ७७ वटै जिल्लाबाट परिचयपत्र वितरण शुरु हुनेछ।     

बिहीबार यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अभिमुखीकरणमा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दिनमा ४० हजार परिचयपत्र छाप्ने गरी उपकरण र जनशक्ति थप गर्न लागिएको बताए।     

“अहिले परीक्षण स्वरुप एउटा यन्त्रबाट मात्र परिचयपत्र छापिने गरेको छ, क्षमता बढाएपछि लगातार २० घण्टासम्म छपाइ हुन्छ”, उनले भने। उपकरण र जनशक्ति थप्दा प्रतिघण्टा दुई हजारका दरले परिचयपत्र छापिनेछ। विभागमा हाल कम्प्युटर इञ्जिनीयर सहित ३० जना प्राविधिक कार्यरत छन्।    

निर्देशक न्यौपानले सरकारले पनि दुई वर्षभित्रै परिचयपत्र वितरणको काम सक्न मन्त्रालय र विभागलाई कार्यादेश दिएको उल्लेख गरे। “चालु आवको नीति, कार्यक्रमले चार वर्षको लक्ष्य राखेको थियो, पछि बजेटमा दुई वर्षमै सक्ने गरी व्यवस्था भयो”, उनले भने।     

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूले परिचयपत्र लिने क्रममा दुई वर्षभित्रै सबै नागरिकको हातमा परिचयपत्र पुर्‍याइने बताएका थिए। राष्ट्रिय महत्वको कार्यक्रम भएकाले परिचयपत्र वितरणको काममा ढिलो गर्ने छुट विभागलाई नभएको निर्देशक न्यौपानेको भनाइ थियो। विभागले पहिलो चरणमा १५ जिल्लामा नमूना कार्यक्रम स्वरुप परिचयपत्र वितरण गर्न शुरु गरीसकेको छ।     

गएको मङ्सिरमा पाँचथर, फिदिम नगरपालिका–४ की १ सय १ वर्षीया भगवतीदेवी भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेका थिए। दोस्रो चरण अन्तर्गत बागलुङलगायतका जिल्लामा परिचयपत्र वितरणको काम शुरु हुने निर्देशक न्यौपानले बताए।     

“दशैँ, तिहारको बीचमा विवरण सङ्कलनका लागि कम्प्युटर अपरेटर नियुक्ति गर्ने तयारी छ”, उनले भने, “प्रत्येक वडावडामा पुगेर विवरण सङ्कल गर्छौं।” जिल्ला प्रशासन कार्यालयमा भने स्थायी विवरण दर्ता एकाइ स्थापना हुनेछ। यस्तै आवश्यकता अनुसार घुम्ती विवरण दर्ता एकाइ पनि स्थापना गर्न सकिने विभागले जनाएको छ। त्यसरी सङ्कलित विवरण प्रशोधनका लागि गृहमन्त्रालयमा रहेको भण्डारण कक्षमा पुग्नेछ।     

प्रशोधनपछि छपाइ र त्यसपछि बल्ल परिचयपत्र वितरण गरिनेछ। परिचयपत्र वितरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था छ। बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले स्थानीय तहसँगको समन्वयमा विवरण सङ्कलनको काम अघि बढाइने बताए।     

“विभागको निर्देशन अनुसार परिचयपत्र व्यवस्थापन सम्बन्धी काम अघि बढ्छ”, उनले भने, “आउँदो वर्षभित्र जिल्लाका सबै नागरिकको हातमा परिचयपत्र पुग्नेछ।” सरकारले हरेक नागरिकलाई वैयक्तिक र जैविक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र वितरणको नीति केही वर्षअघि नै लिएको थियो।     

परिचयपत्र प्रणालीमा वैयक्तिक र जैविक गरी दुई खाले विवरण हुनेछन्। वैयक्तिक विवरणमा जन्म, परिवार, विवाह, बसाइँसराइलगायत र जैविक विवरणमा औँठा छाप, आँखाको रेटिना, फोटो र हस्ताक्षर रहनेछ। राष्ट्रिय परिचपयपत्र बहुउपयोगी मानिएको छ। एउटा व्यक्तिले एकभन्दा बढी परिचयपत्र बोक्नुपर्ने बाध्यताको अन्त्य हुने विभागका निर्देशक न्यौपानेले बताए।

“सरकार, नागरिक र निजी क्षेत्रसमेतलाई परिचयपत्रले फाइदा गर्छ”, उनले भने, “यसले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई पनि सघाउने विश्वास छ।”     

राष्ट्रिय परिचपयपत्र प्रणालीले नागरिकको सही पहिचान, प्रशासनिक र दोहोरो खर्चमा कटौती, सुशासन प्रवद्र्धन, जनविश्वासमा वृद्धि, समय, स्रोतसाधनको बचत, सुलभ तथा छरितो सेवा, गोपनीयताको रक्षा आदिमा फाइदा पुग्ने जनाइएको छ।

राष्ट्रिय परिचयपत्रबाट बैंक खाता खोल्न, कर तिर्न, राहदानी बनाउन, निर्वाचनमा मतदान गर्न, शैक्षिक संस्थामा भर्ना हुन पनि सकिनेछ। सार्वजनिक सेवाका क्षेत्रमा कागजविहीन विद्युतीय सेवा सञ्चालनमा पनि परिचयपत्रले टेवा पुर्‍याउने देखिन्छ।रासस

प्रकाशित: २० भाद्र २०७६ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App