coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

घरभित्र बसेर समुद्रको यात्रा

ओस्लोको ओपेरा हाउसबाट भेटिने नर्थ सीभित्र थियो पानीजहाज । देख्दा लाग्यो यो त ठूलो घर पो रहेछ । आकार साह्रै ठूलो, अझ भनौं ठूलै खालको विल्डिङभन्दा पनि ठूलो लामो आकारको ।

हामी बोडिन पासपछि नवौं तलामा पुग्यौँ जँहा हाम्रो कोठा थियो । जब जहाजमा छिरियो, त्यसपछि यात्रा जस्तो लागेन । कोठाभित्र रहँदा घरमा छौं जस्तो लाग्थ्यो । कोठाबाट बाहिर निस्कँदा कुनै होटलमा छौं जस्तो । हामी चढेको जहाज १२ औं तलाको थियो । जहाँ कौशीमा गएर रमाइलो दृश्य नियाल्न सकिन्थ्यो ।

कौशीबाट समुद्रको बीचबाट देखिने दृश्य नियाल्दा साह्रै रोमाञ्चक लाग्थ्यो । पानी जहाजले बनाएको पानीभित्रको बाटो हेर्दा जहाज हिँडिरहेको जस्तो लाग्यो । नत्र जहाजभित्र हामी छौं, जहाज समुद्रमाथि अडिएको छ जस्तो अनुभूत हुन्थ्यो ।

कौशी भन्दा तल्लो तला ११ औं तलामा पौडीपोखरी थियो । पौडीपोखरीसँगै रेष्टुरेन्ट ।
यात्रा थियो हाम्रो नर्वेदेखि डेनमार्कसम्मको । कौशीमा उक्लेर वा रेष्टुरेन्टमा बसेर कफी पिउँदा नर्वेतिर हेर्दा उज्यालो देखिन्थ्यो । डेनमार्कतिर भने अँध्यारोजस्तो । ओस्लोबाट हामी अपराह्नको ४ बजे जहाज चढेका थियौं । राति १० बजेसम्मै नर्वेतिर उज्यालै देखिरह्यो । किनकि, नर्वेमा राति मात्रै घाम अस्ताउँछ । जुन महिनामा त राति १२ बजेसम्मै उज्यालो हुन्छ । हाम्रो यात्रा जुनको दोस्रो सातामा थियो ।

१६ घण्टापछि हामी डेनमार्कको राजधानी कापेनहेगन पुग्यौं । कोपनहेगन  नर्वेको राजधानी ओस्लोजस्तो शान्त थिएन । ओस्लोको भन्दा ठूला विल्डिङ र भीडभाड बाक्लो थियो । पर्यटकहरुको घुइँचो त्यत्तिकै थियो । कोपनहेगन घुमघामपछि फेरि हामी सोही पानीजहाजमा नर्वे फर्कियौँ । हामी चढेको पानी जहाजको नाम डिएफडिएस थियो ।

जहाँ १८ सय यात्रु बोक्न सक्थ्यो । तर, पानी जहाज यात्रुभन्दा पनि कार्गोका लागि बढी प्रयोग गरिन्छ । हामी चढेको पानी जहाज पनि ५ तलासम्मको कार्गोका लागि प्रयोग गरिएको रहेछ । सयौंको संख्यामा गाडी बोक्न सक्ने ।

छैटौं तला र सातौं तलामा रेष्टुरेन्ट, होटल र ड्युटी फ्रि सप अनि बच्चाको खेल मैदान थियो । आठौं नवौं तला भने यात्रुका कोठाका लागि प्रयोग गरिएको थियो ।

जहाजमा यात्रा गर्ने यात्रुले कोठा अनिवार्य लिनुपर्छ । कोठामा दुई, चारवटा बेडरुम हुन्छन् । जहाजभित्र पसेपछि घरमै जस्तो हुन्छ । यात्राको अनुभूत कतै हुन्न । न हल्लिन्छ, न केही आवाज सुनिन्छ । त्यसैले यात्रा होइन, समुद्रमाथिको घरमा बसेको जस्तो अनुभूत हुन्छ । यसैले होला पानीजहाजको यात्रालाई संसारकै आरमदायी यात्रा भनिएको ।

नेपाली जहाँ पुगे पनि आफ्नै देशको याद आउने । हामीले पनि नेपाललाई खुबै सम्झियौँ । नेपालले पनि पानीजहाज सञ्चालन गर्ने कुरा दुई वर्षयता चल्दै आएको छ । यात्राको क्रममा लाग्यो, कहिले हामी नेपाली यसैगरी नेपालको पानी जहाजमा चढ्न पाइएला ?

आशा गरौं, हाम्रा प्रधानमन्त्रीको सपना चाँडै पूरा हुनेछ । हामी नेपालकै पानीजहाजमा आरामदायी यात्रा गर्नेछौं ।
 

प्रकाशित: २० भाद्र २०७६ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App