काठमाडौं - लेखनमा महिलाको सहभागिता बढेसँगै लिङ्गका आधारमा हुने विभेद घट्दै गएको अनुभव लेखक र प्रकाशकले गर्न थालेका छन्। पुरुष स्रष्टाका तुलनामा नारी कम भए पनि नारी सिर्जना उत्तिकै सशक्त र उल्लेखनीय रहेको यस क्षेत्रका अनुभवीहरूको धारणा छ।
बुक पब्लिसरकी प्रमुख कार्यकारी कल्पना ढकाल भन्छिन्, ‘प्रायः महिलाहरू घरधन्दामै व्यस्त हुँदा समय अभावका कारणले सिर्जना कर्म कम हुने भएकाले स्वाभाविक रूपमा पछि परे पनि पछिल्लो समय नयाँ पुस्ताका लेखकहरूले राम्रो काम गरिरहेका छन्।’
पहिला महिला भएकै कारण पुस्तक छपाउन गाह्रो पर्नेहरूका लागि प्रकाशन गृहहरू बढ्दै गएपछि यस्तो समस्या कम हुन थालेको उनको भनाइ छ।‘महिला भएका कारण पुस्तक छपाउन हिच्किचाउनुपर्ने अवस्था छैन,’ कल्पना भन्छिन्, ‘स्तरीय लेखन भएका महिलाका लागि अहिले वातावरण राम्रो छ।’
आफूले पनि महिला लेखकका पुस्तक छाप्न गृहकार्य गरिरहेको तर सोचेजस्तो पुस्तक हात नपरेको उनले बताइन्। मदन पुरस्कार विजेता नीलम कार्की ‘निहारिका’ भन्छिन्, ‘अहिले महिला र पुरुष लेखक बीचमा हुने विभेद धेरै हटिसकेको छ। महिला भएकै कारण पुस्तक प्रकाशन गर्न गाह्रो हुने अवस्था छैन।’ यही कारणले नै आफ्ना १० वटा पुस्तक बजारमा आइसकेको उनले उदाहरण दिइन्।
‘बजारमा महिला लेखकको बुक नै प्रकाशित गर्न पाइएन भनेर गुनासो गर्ने प्रकाशकको संख्या नै बढी देख्छु,’ नीलम भन्छिन्, ‘स्तरीय लेखनलाई अहिले हातहातै उठाउने प्रकाशकहरू पनि छन्। एक किसिमको प्रतिस्पर्धा नै भएकाले पनि पुरुष वा महिला लेखकको भेद हराइसकेको छ।’
नीलमको कुरामा सहमत ढकाल भन्छिन्, ‘सबै काममा पहिलेदेखि नै पुरुष अगाडि छन्। त्यसैले स्तरीय लेखनमा पुरुषहरू पनि अगाडि हुनु स्वाभाविक हो तर पनि पछिल्लो समय महिला पुरुष सबै बराबरजस्तै भएका छन्। त्यसैले महिला या पुरुष लेखक भनेर खासै विभेद गरेको पाइँदैन।’
उनी यतिबेला चार जना महिला लेखकका सिर्जना प्रकाशन गर्ने तयारीमा रहेको र थप लेखिकाहरूको खोजीमा रहेको बताइन्।‘सानै सही यसरी हामीले पुस्तक ल्याउँदा महिलाहरूलाई हौसला नै हुनेछ भन्ने लागिरहेको छ,’ कल्पना थप्छिन्,’ त्यसैले हामीले बढीभन्दा बढी महिला लेखकहरू खोजिरहेका छौँ।’ २० वर्ष उमेरबाटै कलम चलाउन सुरु गरेकी कवि सरिता तिवारीले प्रकाशकहरूले सधैँ राम्रो चिज खोज्ने भएकाले राम्रा विषयवस्तु र खारिएको प्रस्तुति लिएर जाँदा प्रकाशकहरूले पत्याउने धारणा राख्छिन्।
उनका हालसम्म तीन कविता संग्रह प्रकाशित छन्। तिवारीले उदाहरण दिँदै भनिन्, '२०५७ सालमा पहिलो र २०६७ सालमा दोस्रो कविता संग्रह आफैँले छापेँ। जब पाठकहरूले यी दुवै संग्रहमध्ये ुअस्तित्वको घोषणाुले बजारमा चर्चा कमाउन थाल्यो, तेस्रो संग्रहका लागि प्रकाशक आफैँ आए। ‘स्तर भएकै कारणले हुनसक्छ, आउँदो पुस्तक निबन्ध संग्रह पनि प्रकाशक आफैँले निकाल्ने तयारी थालिसकेका छन्,’ उनले भनिन्।
हिमाल बुक्सका वसन्त थापा पनि साहित्यमा महिला र पुरुष बीचको विभेद हटिसकेको बताउँछन्। ‘हामीले जुनसुकै लेखकले लेखेको बुक पनि कुन स्तरअनुसार लेखिएको छ, त्यो राम्रोसँग हेर्छौं,’ उनले भने, ‘महिला लेखक नै बजारमा कम भएका कारण पुरुषको तुलनामा कम छापिएको सत्य हो तर विभेद गरेको घटना भने विरलै होला। त्यो पनि गरेको पाइँदैन।’
अझ उनी एक कदम अघि बढेर केसम्म भन्छन् भने,‘बजारमा महिलाले लेखेका वा पुरुषले लेखेका पुस्तकमा स्तरको हिसाबले कुनै फरक छैन। उत्तिकै सशक्त लेखन महिला लेखकको पनि भएकाले पछिल्लो समय उनीहरूको माग क्रमशः बढिरहेको छ। त्यसो त नेपाली समाज पुरुष प्रधान समाज भएकै कारण महिलाहरू हरेक क्षेत्रमा पछि नै छन्।
प्रकाशित: २० भाद्र २०७६ ०६:४४ शुक्रबार