coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

भूत देखेँ भने त बेहोस हुन्छु होला

नेपाली फिल्म क्षेत्रमा कुनै समय चकलेटी नायकका रुपमा चिनिएका र दर्शकमाझ लोकप्रिय बनेका अभिनेता हुन् आर्यन सिग्देल। उनको पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ हो। उनीसँग नागरिक परिवारकर्मी भोला अधिकारीले गरेको क्याजुअल कुराकानीः

तपाईं अभिनेता नभएको भए के बन्नुहुन्थ्यो ?
म अभिनेता नभएको भए के बन्थेँ भन्ने कुरा मलाई पनि थाहा छैन। अगाडि जे आइलाग्थ्यो, त्यसैलाई आत्मसाथ गर्थेँ होला। यो गर्थेँ भनेर कुनै योजना बनाएको थिइनँ। अकस्मात फिल्ममा आएको हुँ। सानैदेखिको रुचिका कारण फिल्ममा आएँ। दोस्रो विकल्पको बारेमा केही सोचाइ आएन।  

अभिनय क्षेत्रमा आउनुको प्रेरणा कहाँबाट मिल्यो ?
कलेज पढिरहेको बेला एकजना सँगै पढ्ने साथीले जाउँ कतै डान्ससान्स सिकौँ भन्ने कुरा निकाल्यो। त्यो बेलामा कसैले कतै जाउँ भन्दा नाइँ भन्न सक्ने अवस्था थिएन। एकदम मिल्ने साथीले जाउँ भनेपछि नाइँ भन्नु कसरी ? उसको लहैलहैमा लागेर डान्स पनि सिकियो। अनि अभिनय गर्नका लागि घरमा ठूलो ऐना थियो। त्यसैमा हेर्दै, अभिनयको हाउभाउ देखाउन थालेँ। यसरी फिल्म क्षेत्रमा प्रवेश गरेको हो। यसको प्रेरणाको स्रोत भनेको मेरा लागि त ऐना नै हो।

अभिनेतामा परिचित भइसकेपछि के कुरा मिस गरे जस्तो लाग्छ ?
अभिनयमा व्यस्त भएपछि साथीभाइहरु अलिक कम भएजस्तो महसुस गर्ने गरेको छु। घर परिवार होस् या साथीहरु कसैलाई पनि समय दिन पाएको छैन जस्तो लाग्छ। यो क्षेत्रमा आएपछि, अझ भनुँ खुलेर जिन्दगी बिताउन पाइँदैन। पुराना कुरा सम्झेर पनि भएन। जे छु ठीकै छु। जे पाएको छु, यसैमा चित्त बुझाउँछु। यसबाट धेरै कुरा नै मिस गरेको छु। सबै भन्न पनि त सकिदैन नि हैन !  

जीवनको त्यस्तो दिन तपाई फेरि जिउन चाहनुहुन्छ ?
म यो फिल्म क्षेत्रमा आउनु अगाडि जुन स्ट्रगलको समय थियो, यो समयमा धेरै रमाइलो गर्ने मुड हुन्थ्यो, गरिन्थ्यो। साथीहरु उस्तै रमाइलो गर्ने खाल्का थिए। सबैको माया पाएको थिएँ। अहिले पनि पाएको छु तर त्यो बेलाको जस्तो रमाइलो कहिल्यै भएन। मलाई फेरि त्यस्तै माया पाउन पाए हुन्थ्यो जस्तो लाग्छ। फेरि त्यही अवस्थामा फर्कन मन लाग्छ। अरु त नर्मल नै हो। त्यो क्षण भने स्मरणीय  लाग्छ।

मनोरञ्जन क्षेत्रमा हुनुहुन्छ, के कुरा तपाईंलाई बढी मन पर्छ ?
मलाई गायन क्षेत्र पनि मनपर्ने क्षेत्र हो। मलाई गीत गाउन मन लाग्छ। गीतहरु म गुन्गुनाइरहेको हुन्छु। मैले राम्रो गीत गाउन सक्ने भएको भए अभिनयतिर हात हाल्ने पनि थिइनँ होला। मलाई त्यति साह्रो मन पर्छ। अभिनय मन नपर्ने होइन, मेरो सानैदेखिको रुचि भनेको गायन नै थियो। अब अहिले जुन क्षेत्रमा छु, यसमा आएको पोजिटिभ प्रतिक्रियाहरु पाएको छु। खुसी छु।

तपाईंलाई के कुरामा दुःख लाग्छ ?
मलाई कसैले नबुझी गलत समाचार लेखिदियो भने दुःख लाग्छ। म सिनेमाको काम गरिसकेपछि सिनेमाका कसैसँग पनि त्यस्तो भेटघाट गर्दिनँ किनभने म मेरो काम गर्छु। तर कसैकसैले कसैसँग नाम जोडेर गलत प्रचार गरिदियो भने सबैभन्दा बढी दुःख लाग्छ।

तपाईंलाई के कुराले बढी चित्त दुख्छ ?
कसैले व्यक्तिगत स्वार्थका लागि युज ग¥यो भने चित्त दुख्छ। नभएको कुरा लगाए वा आफू माथि बन्न खोज्ने मान्छेहरु देखेर सारै चित्त दुख्छ। आफूले विश्वास गरेको मान्छेले अलिक फरक व्यवहार देखाउनुहुन्छ। मान्छेले आफ्नो स्वार्थको लागि अरुलाई भाँड्न या नराम्रो देखाइदियो भने अलिक बढी चित्त दुख्छ।  

एक्लै कोठामा सुतेको बेला अचानक भुत प्रकट भयो भने के गर्नुहुन्छ ?
मलाई भुत भन्दा त यसै डर लाग्छ। झन् भुत नै भेट्टाएँ भने त म के हुन्छु होला ! त्यो पनि एक्लै रुममा बसेको या सुतेको बेला ! दिमाख कन्ट्रोल गर्न नसकेर म त बेहोस नै हुन्छु होला। मलाई भुत भने पछि साह्रै डर लाग्छ। भुत देखेपछि बेहोस भइहाल्छु। त्यसपछि सबै काम भुतले नै गर्छ।

मानौँ, नेपालको प्रधानमन्त्री बन्नुभयो। पहिला के गर्नुहुन्छ ?
प्रधानमन्त्री भएँ भने पहिलो पटक ठेकेदारहरुलाई दिएको जिम्माको काम गर्नुभएको छैन, उहाँहरुलाई कार्बाही गर्थें। संरचानाहरु पुनर्निमाण गर्नुभएको छैन। उहाँहरुलाई हटाएर अर्को कोही कसैलाई जिम्मा लगाउने काम गर्थें। देशमा  भइरहेको भ्रष्टाचारलाई रोक्ने प्रयास गर्छु। एकै दिनमा जति काम भ्याउँथे, ती सबै काम तमाम गर्थें। बाटोघाटो तपाईंले देख्नुभएकै होला। कुनै गतिलो खाल्को कालोपत्रै गरिएको छैन। आज पिच गर्‍यो, तीन चार दिनमा भत्किरहको हुन्छ। हरेक मानिसले सास्ती भोगेका छन्। प्रधानमन्त्री भएको दिन नै भ्रष्टहरुलाई खोजी गरी कार्बाही गर्न लगाउने काम गर्थें होला।

कस्तो कुराले तपाईंलाई खुसी बनाउछ ?
म त हरेक कुरामा खुशी भइरहेको हुन्छु। मलाई ससाना कुराले खुशी बनाइरहेको हुन्छ। म हरेक कुरामा खुसी भइरहको हुन्छु। यो त्यो भन्ने नै छैन।

केटीहरुको प्रेम प्रस्ताव आउँदा कस्तो लाग्छ ?
स्वाभाविक रुपमा केटीहरुको प्रेम प्रस्ताव आउँदा खुसी लाग्छ। यो त जसलाई पनि लागिहाल्छ नि, मलाई पनि लाग्छ। सबै  प्रेम प्रस्ताव स्वीकार्न पनि त सकिन्न। प्रेम प्रस्ताव पहिला आउँदा रमाइलो लाग्थ्यो। ओहो, मलाई पनि प्रेम प्रस्ताव आए हुन्थ्यो भन्ने फिल हुन्छ। तर पछि काम गर्दै जाँदा प्रेम प्रस्ताव आउनु कुनै स्वाभाविक कुरा हुन थाल्यो। बरु अहिले पो आउन छोडे त !

प्रेम प्रस्ताव कति धेरै आए त ?
प्रेम प्रस्ताव भनेर डाइरेक्ट भन्नेहरु त एकदमै कम आउँथ्यो। बाहिर त म तपाईंलाई मन पराउँछु। यताउति भनेर त निकै नै आउँने गथ्र्यो। मलाई प्रेम प्रस्ताव नै आएका छैनन् भन्न चाहिँ सक्दिन। एउटा हेन्डसम केटालाई केटीहरुले यस्तो प्रस्ताव राख्नु कुनै आपत्ति पनि होइन। हल्काफुल्का आए।

तपाईंको गोप्य कुरा जुन दर्शकले अहिलेसम्म थाहा पाएका छैनन् ?
म त कुनै पनि कुरा गोप्य राख्नै सक्दिनँ। जे कुरा पनि मिडिया भनिसकेको छु। नयाँ कुरा यो पनि छ है भनिहाल्छु। ममा गोप्य कुरा भन्ने नै छैन। म कलाकार भएँ, सेलिब्रेटी भएँ भनेर लुक्नुपर्छ भन्ने छैन। म खुला भएर जिउन चाहने मान्छे हुँ। एउटा कुरा चाहिँ भनेको छैन कि क्या हो ! म सानैदेखि कविता, गीत लेख्ने गर्छु। मेरो एउटा गीत कायरा फिल्ममा पनि राखेको थिएँ तर गोप्य भनेको आर्यनले कविता पनि लेख्छ है भन्ने हो। यो कुरा पनि मैले भनिहालेँ के कुरा गोप्य होला र अब ?

तपाईंले चाहेर पनि गर्न नसकेको काम ?
मैले धेरै प्रयास गरेर पनि गर्न नसकेको काम भनेको गायन नै हो। मैले निकै प्रयास गरेँ तर अहँ गाउनै सकिनँ।    

तपाईंको कमजोरी के हो जस्तो लाग्छ ?
म जसलाई पनि चाँडै विश्वास गर्छु। त्यसैले अधिकांश अवस्थामा यही विश्वासले धोका दिने गरेको छ। मलाई मेरो कमजोरी यही हो जस्तो लाग्छ।

केलाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
मलाई मेरो आत्मविश्वास नै आफ्नो शक्ति ठान्छु। जुनसुकै काम गर्न हिम्मत भएन भने त के काम गर्न सकिएला र ? जुन ठाउँमा छु, सायद आत्मविश्वासकै कारणले छु।

आफ्नो मनपर्ने बानी ?
मेरो कारण कसैलाई पनि अप्ठेरो नपरोस् भन्ने नै हो। अरुलाई चित्त दुखाउने काम नगरौँ भनेर हो। बाँकी त मलाई मेरो बानी सबै मन पर्छ।

मन नपर्ने बानी ?
त्यस्तो केही छैन। अरुलाई चाँडो विश्वास गर्छु। सायद यही पो हो कि !

रिल र रियल लाइफमा के फरक पाउनुभयो ?
रिल लाइफ ड्रामा हो। रियल लाइफ भनेको वास्तविक जीवन हो। यसमा कुनै दैविक चमत्कार हुन्छ न केही जादु तर रिल लाइफमा भने जे हुन्छ ।

प्रकाशित: २० भाद्र २०७६ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App