७ वैशाख २०८१ शुक्रबार
खेल

नाडालको लय कायमै

न्युयोर्क – अर्जेन्टिनी डिएगो स्क्वार्चम्यानलाई ६–४, ७–५, ६–२ ले हराउँदै युएस ओपनको सेमिफाइनल प्रवेश गरेसँगै राफेल नाडालले आफू अझै स्वाभाविक लयमा रहेको प्रतिक्रिया दिएका छन् ।

विश्व नम्बर २ नाडालले सेमिफाइनलमा इटालीका माटियो बर्नटानीसँग प्रतिस्पर्धा गर्नेछन् । तीन पटकका युएस ओपन च्याम्पियन नाडाल यस जितसँगै १८औं ग्रान्ड स्लाम उपाधिको नजिक पुगेका छन् ।

बिहीबार बिहान भएको खेलमा दुई पटकका युएस ओपन क्वार्टरफाइनलिस्ट स्क्वार्चम्यानको चुनौती पन्छाउन नाडालले तीन घण्टा खर्चिएका थिए । युएस ओपनमा नाडालले सोझो सेटमा जित हात पारेको यो आठौं पटक हो ।

नाडालले घुँडाको चोटका कारण गत वर्ष योहान मार्टिन डेल पोर्टोसँगको खेल बीचमै छोडेका थिए । बिहीबार पनि तेस्रो सेटमा हातमा चोट लागे पनि उनी तुरुन्तै कोर्टमा फर्कंदै सहजै नतिजा आफ्नो पक्षमा पार्न सफल भएका थिए ।

‘मलाई राम्रो लागिरहेको छ । लामो सयम खेल चलेकाले म थकित थिएँ तर पनि स्वाभाविक प्रदर्शनबाट पछि हटिनँ,’ नाडालले भने, ‘म अहिले पूर्ण रूपमा फिट छु  । आशा छ, यो लय उपाधि यात्रासम्म कायम रहनेछ ।’

‘लगातार दुई खेल अनि कठिन प्रतिद्वन्द्वी । त्यसै कारण पनि खेलाडी थकित देखिए,’ नाडालले थपे । नाडाल ग्रान्ड स्लामको सेमिफाइनल प्रवेश गरेको यो ३३औं पटक हो । रोजर फेडेरर ४५आंै पटक ग्रान्ड स्लामको सेमिफाइनल प्रवेश गरेका छन् भने नोभाक जोकोभिच ३६ पटक अन्तिम ४ मा प्रवेश गरेका थिए । नाडाल युएस ओपनको सेमिफाइनल प्रवेश गरेको यो आठांै पटक हो ।

पूर्वविजेतामध्ये यस प्रतियोगिताको शीर्ष ४ मा स्थान बनाउने नाडाल एक मात्र खेलाडी हुन् । फेडेरर क्वार्टरफाइनलबाट बाहिरिएका थिए भने जोकोभिचले चोटका कारण खेल छोडेका थिए ।

‘यो मेरा लागि महत्वपूर्ण जित हो । म आजको जितमा रमाउन चाहन्छु । अर्को खेलमा कस्तो रणनीतिका साथ कोर्टमा उत्रने भोलि मात्र सोच्नेछु,’ नाडालले भने, ‘मैले यस वर्ष ४ वटा ग्रान्ड स्लामको सेमिफाइनल प्रवेश गरें । यो पनि एउटा उपलब्धि हो ।’ यता १९७७ पछि युएस ओपनको सेमिफाइनल प्रवेश गर्ने पहिलो खेलाडी बन्ने क्रममा बर्नटानीले फ्रान्सका गेल मोन्फिल्सलाई ३–६,६–३,६–२,३–६,७–६(७÷५) ले हराए ।

 

प्रकाशित: २० भाद्र २०७६ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App