coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुआब्जा वितरण अन्तिम चरणमा

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने जग्गालाई सुरक्षित गर्न तारबार गरिँदै। तस्बिरःनागरिक

बारा – टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने नम्बरी जग्गा, त्यहाँका घर–टहराको मुआब्जा वितरण, नदी नियन्त्रण र तारबार गर्ने लगायतको कार्य अन्तिम चरणमा पुगेको बताइएको छ।

विमानस्थलले ओगट्ने एक सय १० बिघा नम्बरी जग्गामध्ये ६३ बिघाभन्दा बढीको मुआब्जा वितरण गरिएको र बाँकी जग्गााधनीलाई मुआब्जा वितरण अन्तिम चरणमा रहेको सम्बद्ध अधिकारीहरूले जनाएका छन्।

अहिलेसम्म मुआब्जा वितरण, नदी नियन्त्रण र तारबार गर्ने लगायत काममा ६० करोड जति खर्च गरिएको छ। मुआब्जा लिन आउने सूचना निकालेयता एक सय ३९ जनाले मुआब्जा लिइसकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यावन्यन एकाइ कार्यालय सिमराले जनाएको छ।

कार्यालयका इन्जिनियर विजय यादवले विमानस्थलको लागि अधिग्रहण गरिएको लगभग ६३ बिघा नौ कट्ठा जग्गाको एक सय ३९ जग्गाधनीलाई लगभग ४३ करोड मुआब्जा वितरण गरिएको बताए। बाँकी नम्बरी जग्गाधनीलाई पनि मुआब्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको यादवले जानकारी दिए।

विमानस्थलले ओगट्ने ऐलानी र निजी जग्गा सुरक्षित राख्न तारबार र तटबन्ध बनाउँदा १४ करोड खर्च गरिएको इन्जिनियर यादवले जानकारी दिए। गत आर्थिक वर्ष २०७५/७६ मा तारबारतर्फ दुई करोड ७८ लाख र नदी नियन्त्रणतर्फ तीन करोड ८३ लाख खर्च भएको उनको भनाइ छ।

विमानस्थलको क्षेत्रफल ६३ वर्ग किलोमिटरमा फैलिएको र यसले ११ हजार आठ सय ७५ बिघा जग्गा ओगटेको एकाइ कार्यालयका प्रमुख ओम शर्माले बताए।

६३ वर्गकिलोमिटरमध्ये ३५ वर्गकिलोमिटरमा तारबार गत आर्थिक वर्षमै गरिएको र बाँकीको तारबार अन्तिम चरणमा रहेको शर्माले बताए। ‘अहिले विमानस्थल निर्माण गर्न आवश्यक पर्ने ११ हजार आठ सय ७५ बिघा जग्गाको चार किल्ला पहिचान गरी तारबार गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ शर्माले भने, ‘तारबार भइरहेको जग्गामध्ये एक सय १० बिघा मात्रै नम्बरी रहेको छ।’

टाँगिया बस्तीले ओगटेको ऐलानी जग्गा हजार बिघाभन्दा वढी रहेको र त्यसलाई स्थानान्तरण गर्न मुख्य चुनौती रहेको शर्माले बताए। टाँगिया बस्ती कोल्हवी सार्ने र विमानस्थल निर्माणको लागि पूर्वाधारको काम चालु आर्थिक वर्षदेखि नै सुरु गरिने शर्माले बताए।

टाँगिया बस्ती सारेपछि सो स्थानमा सजिलै चार किलोमिटर लामो धावनमार्ग निर्माण गर्न सकिने अवस्था रहेको उनले बताए। विमानस्थलको लागि अधिग्रहण गरिने जग्गामध्ये एक सय १० बिघामात्रै व्यक्तिको नम्बरी पर्ने यकिन गरिए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना समेत रहेको आयोजनाका अधिकारीहरूले बताएका छन्।

जग्गा तथा होटल व्यवसायी इच्छाबहादुर वाग्लेले टाँगिया बस्तीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने हल्ला धेरै वर्षदेखि चले पनि त्यसअनुसार काम नभएको गुनासो गरे।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए विदेशी पर्यटक सुरुमै २ नम्बर प्रदेश घुम्ने भएकोले यस क्षेत्रमा लगानी बढ्ने र रोजगारी सिर्जना हुने व्यवसायी वाग्लेले बताए।

विदेशी पर्यटक ठूलो संख्यामा प्रदेश नम्बर २ मा भित्रिन थालेपछि यस क्षेत्रमा ठुलठूला होटल निर्माण हुने, पर्यटक घुमाउन गाइड चाहिने भएकाले यसले यस प्रदेशमा लगानी बढेर रोजगारीका अवसर सिर्जना हुने वाग्लेले बताए।

देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा २०५१ सालदेखि नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने चर्चा चलेको छ। यसलाई छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने वाग्लेले बताए।

सात खर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन हुने अनुमान रहेको आयोजनाका अधिकारी बताउँछन्।

प्रकाशित: २० भाद्र २०७६ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App