coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दुई पटक राजनीतिको सिकार हुँदा पनि उत्साहित

काठमाडौं -  सन् २०१० मा बंगलादेशमा हुने ११औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेकी चञ्चला दनुवार महिला एकल कातातर्पmबाट तीन महिनादेखि राष्ट्रिय टोलीमा प्रशिक्षणरत थिइन् ।

सोही सागको प्रशिक्षणकै लागि चञ्चला जापान र थाइल्यान्डसमेत पुगिन् । कराते टोली वैदेशिक प्रशिक्षणबाटै बंगलादेश जाने कार्यक्रम थियो । तर, अन्तिम समयमा चञ्चलासँगै अन्य केही खेलाडी पनि बंगलादेशको सट्टा काठमाडौं फर्कन बाध्य भए । साग टोलीमा परेर पनि अन्तिम समयमा खेल्न नपाएपछि चञ्चला निकै निराश भइन् ।

तर, हिम्मत भने हारिनन् । उनले नियमित अभ्यास र मिहिनेतलाई निरन्तरता दिइन् । त्यही मिहिनेत र धैर्यको फल चञ्चलाले पुनः पाइन् । तर, त्यस पटक उनी करातेभित्रको राजनीतिको पुनः सिकार बन्न पुगिन् । उनी सन् २०१४ को इन्चोन एसियाली खेलकुदका लागि छनोट भइन् ।

विडम्बना यस पटक पनि उनले इन्चोन एसियाड खेल्न पाइनन् । उनी राज्य (राष्ट्रिय खेलकुद परिषद्)को तर्पmबाट त्यस एसियाड खेल्नका लागि इन्चोन पुगिन् । यद्यपि, उनको त्यो यात्रा दर्शक दीर्घामा मात्र सीमित भयो । आफूले १७औं इन्चोन एसियाड खेल्न नपाउने हल्ला पहिले नै सुने पनि चञ्चलाले आफ्नो तयारीमा भने कुनै कसर बाँकी राखेकी थिइनन् ।

‘मैले निरन्तर मिहिनेत गरिरहेको छु । तयारी पनि राम्रो भैरहेको छ । त्यसैले स्वर्ण जित्नेमा म विश्वस्त छु,’

‘तयारीकै दौरान हामीले आफूहरूले खेल्न नपाउने हल्ला सुनेका थियौंं,’ चञ्चलाले भनिन्, ‘गंगा अधिकारी (तत्कालीन समयमा फाइटतर्पm राष्ट्रिय टोलीकी सदस्य)लाई खेलाडीकै एक्रिडेसन कार्ड आएको थियो भने मेरो कार्ड भने अफिसियलको रूपमा आएको थियो । हामीले यसबारे जिज्ञासा राख्दा राखेप र हाम्रै संघबाट प्राविधिक गडबढीका कारण त्यस्तो भएको बताइएको थियो । तर, एसियाड खेल्न पाउने आश्वासन भने भएको थियो । तर, त्यो हल्ला त्यहाँ गएपछि यथार्थमा परिणत भयो । चञ्चलाको स्थानमा ओलम्पिक कमिटीको पहलबाट अन्य खेलाडीले नै अवसर पाए । नेपालकी विमला तामाङले महिला एकल कातामा प्रतिस्पर्धा गरिन् । साथै विमलाले कांस्य पदक पनि जितिन् । जुन, त्यो एसियाडमा नेपालले जितेको एक मात्र पदक थियो । तर, चञ्चला भन्छिन्, ‘हाम्रो तयारी निकै राम्रो थियो । तर पनि मैले र गंगाले खेल्न पाएनौं । सो एसियाडमा खेल्न पाएको भए, अझै उत्कृष्ट प्रदर्शन गर्ने थिएँ भन्ने अझै लाग्छ ।’ तथापि चञ्चलाले भनेजस्तो उत्कृष्ट नतिजा नआउन पनि सक्थ्यो । अब ती सबै अतीत बनिसके । यद्यपि, चञ्चलाको खेलजीवनमा भने त्यो दुई क्षण सदैव खड्किँदै रहनेछ ।

किनकि, राम्रो तयारी गरे पनि चञ्चलाले पहिले साग अनि एसियाली खेलकुदमा अन्तिम समयमा प्रतिस्पर्धा गर्न पाइनन् । दुवैमा राष्ट्रिय च्याम्पिननका रूपमा उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि टोलीमा स्थान बनाउन सफल भएकी थिइन् । तर दुवै पटक खेल्नबाट वञ्चित भइन् चञ्चला  ।

त्यसपछि नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण जित्ने आफ्नो लक्ष्यले पूर्णता नपाउने भन्दै चञ्चलाले खेलजीवन पूर्णविराम लगाउने सोच बनाइन् । तर, उनका श्रीमान् र केही  प्रशिक्षकहरूले राम्रो खेलाडी भएकाले हिम्मत नहार्न भन्दै हौसला दिए । साथै, खेल जीवनलाई अभैm निरन्तरता दिन हौस्याए । अन्ततः चञ्चलाले हिम्मत पाइन् र अझै अगाडि बढ्ने निर्णय लिइन् ।

तर, चञ्चलाले सोचेजस्तो अभैm पनि बन्न सकेन । १२औं दक्षिण एसियाली खेलकुदमा खेल्ने चञ्चलाको सपना थियो । तर,  भारतमा सम्पन्न १२औं सागमा कराते खेल नै समावेश भएन । तेस्रो पटक पनि उनको सपनामा तुषारापात भयो । घरेलु मैदानमा २० वर्षपछि फर्किएको सागमा पनि यस पटक करातेको प्रतिस्पर्धा हँुदै छ ।
१३औं साग यस पटक नेपालमा मंसिर दोस्रो साताबाट आयोजना हुँदै छ । आफ्ना लागि सागमा पहिलो सहभागिता भए पनि सुखद नतिजाका साथै स्वर्ण जित्ने सपना पूरा गर्न चञ्चला आतुर छिन् । त्यसका लागि उनले देशभित्रकै अन्तिम छनोट पार गर्न गत शुक्रबार महिला एकल कातामा एनआरएनकी सुभद्रा श्रेष्ठलाई पछि १३औं सागमा प्रतिस्पर्धाको बाटो खुला बनाइसकेकी छन् ।

‘मैले निरन्तर मिहिनेत गरिरहेको छु । तयारी पनि राम्रो भैरहेको छ । त्यसैले स्वर्ण जित्नेमा म विश्वस्त छु,’ चञ्चलाले भनिन्, ‘घरेलु मैदानमा हुने यो प्रतियोगिता सम्भवतः मेरो अन्तिम प्रतियोगिता हुन सक्छ । सहभागी सबै राष्ट्र उत्कृष्ट भए पनि भारतीय खेलाडी बलियो प्रतिस्पर्धी बन्न सक्छन् । तर, हामी पनि कम छैनौं । सोहीअनुरूप तयारी गरिरहेका छौं ।’ उनले अन्त्यमा भनिन्,‘म मिहिनेत र भगवानमा विश्वास राख्छु ।त्यसैले सफल हुनेमा विश्वस्त छु ।’

खेलजीवन
चञ्चलालाई यस खेलमा लाग्न त्यति सहज भने थिएन । तर पनि उनका बुबा झपकबहादुर दनुवारले चञ्चलालाई खेल सुरुआत गर्नका साथै अगाडि बढाउन सहयोग गरिरहे । झपकबहादुरले नै उनलाई पाँचखाल डोजोमा अभ्यासका लागि पु¥याएका थिए ।
उनी यस खेलमा लागेको घरमा बुबाबाहेक अन्यले त्यति राम्रो मान्दैनथे । तर, पनि चञ्चला निरन्तर यस खेलमा लागिन् । सोही डोजोबाट राष्ट्रिय स्तरका प्रतियोगिता खेल्दा खेल्दै चञ्चला काठमाडौं आइपुगिन् । काठमाडौंमा उनले कमलपोखरी डोजोबाट खेलिन् । वि.सं. २०६६ सालमा प्रहरी सेवामा प्रवेश गरेयता भने उनले नेपाल पुलिसबाट खेल्दै आएकी छिन् ।
छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण जिते पनि पारिवारिक कारणले सातौं राष्ट्रिय खेलकुदमा भने चञ्चला अनुपस्थित थिइन् । आठांै राष्ट्रिय खेलकुदमा उनले स्वर्ण जित्दै आफू अझै लयमा रहेको प्रमाणित गरेकी थिइन् ।
 

प्रकाशित: २० भाद्र २०७६ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App