१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दूधको भाउ ६ रुपैयाँ बढ्यो

काठमाडौं – सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिए। ‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौं,’ भट्टराईले भने, ‘अब त्यसलाई संस्थानले कार्यान्वयन गर्छ।’

उत्पादन लागतका आधारमा उचित मूल्य नपाएको भन्दै मूल्य नबढाए आन्दोलन गर्ने किसानले चेतावनी दिएपछि सरकारले स्वीकृति दिएको हो।

७० रुपैयाँ लिटरमा बिक्री हुँदै आएको दूधको उपभोक्ता मूल्य ७६ रुपैयाँ पुग्नेछ। संस्थान सञ्चालक समितिको बैठकले मन्त्रालयको स्वीकृतिका आधारमा शनिबारदेखि लागू हुने गरी मूल्य बढाएको जनाएको छ। किसानले अहिलेसम्म फ्याटका आधारमा दूध प्रतिलिटर ४६ रुपैयाँदेखि ५० रुपैयाँमा बिक्री गर्दै आएका थिए। बढेको ६ रुपैयाँमध्ये ६९ प्रतिशत किसानले र ३१ प्रतिशत दूध बिक्रेताले पाउने छन्।

लागतका आधारमा प्रतिफल नपाएको भन्दै किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले दूधको मूल्य सिफारिस गर्न कार्यदल गठन गरेका थिए। कार्यदलको सिफारिस अनुसार दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाउन स्वीकृति सहप्रवक्ता तेजप्रसाद सुवेदीले भट्टराईले बताए।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएको थियो। पशुआहारा ढुटो, दाना, चोकर र कृषि श्रमिकको ज्याला बढेकाले लागतको आधारमा प्रतिफल पाउन नसकेको किसानको गुनासो थियो। २५ रुपैयाँमा आउने चोकरको मूल्य प्रतिकिलो ४० रुपैयाँ पुगेकोले लागतका आधारमा मूल्य नपाएको किसानको गुनासो थियो।

दूधको मूल्य बढेकोमा पशुपालक किसान र सम्बद्ध सहकारीले सकारात्मक प्रतिक्रिया दिएका छन्। ‘सरकारको यो निर्णय कार्यदलकै सिफारिस अनुसार आएको हुनाले सकारात्मक रुपमा लिएका छौं,’ केन्द्रीय दुग्ध सहाकरी संघका अध्यक्ष नारायण देवकोटाले भने ‘वर्षा (फ्लस) सिजनमा यो दर ठिक छ, हिउँदे (लिन) सिजनमा अझै बढ्नु आवश्यक छ,’ देवकोटाले भने। बढेको रकम सबै किसानले पाउनुपर्ने पनि उनले बताए।

‘हामी सहकारीहरु मध्यस्थकर्ता मात्र हौं, हाम्रो माग दुग्ध उत्पादक किसान मर्कामा नपरुन् भन्ने हो,’ देवकोटाले भने। 

सहकारीले प्रतिलिटर दुई रुपैयाँ ३० पैसा संस्था सञ्चालन खर्च पाउँदै आएका छन्। देवकोटाले आफूहरु दूधको मूल्य बढाउनभन्दा पनि उत्पादन लागत घटाउन सरकारबाट आवश्यक पहल हुनुपर्ने पक्षमा रहेको बताए। अहिले बढेको मूल्य मापदण्ड अनुसार चार फ्याट र आठ एसएनएफका आधारमा तय भएकोले त्यो मात्रा घटबढ हुँदा मूल्यसमेत घटबढ हुने भन्दै देवकोटाले यो मापदण्ड अनुसारको मूल्य निर्धारणले किसान र बिक्रेतामा गुणस्तर कायम राख्न दबाब पुग्ने बताए।

प्रकाशित: २० भाद्र २०७६ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App