coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

१५ अर्ब लगानीमा गरुड सिमेन्ट

काठमाडौं – सिमेन्ट उद्योगीले स्वदेशी बजारको मागभन्दा उद्योगको उत्पादन क्षमता ५० प्रतिशत धेरै बढी भइरहेको बताइरहँदा सिमेन्टमा धमाधम नयाँ लगानी थपिएको छ। ग्यास उद्योग तथा पेट्रोलियम कारोबार गरिरहेका शिवप्रसाद घिमिरे नेतृत्वको गरुड सिमेन्ट उद्योग प्रालिले १५ अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग निर्माण गर्न लागेको हो।

दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने योजनासहित उद्योग निर्माण गर्न लागेकोे गरुड सिमेन्ट उद्योग प्रालिका कार्यकारी अध्यक्ष घिमिरेले बताए। ‘क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने योजना हो,’ उनले भने, ‘करिब १५ अर्ब रुपैयाँ लगानी गर्दैछौं।’

उद्योगको चुनढुंगा खानी काभ्रेको खानीखोला गाउँपालिकाको मिल्चेमा र उद्योगको प्लान्ट सिन्धुलीको हरिहर गाउँपालिकामा राख्ने कम्पनीले जनाएको छ। काभ्रे खानीखोलामा जग्गा किनेर चुनढुंगाको गुणस्तर र परिमाण परीक्षण गरिरहेको घिमिरेले बताए। ‘करिब सात वर्गकिलोमिटरमा चुनढुंगाको वास्तविकता पत्ता लगाउन कोर ड्रिलिङ भइरहेको छ,’ उनले भने। कम्पनीले व्यक्तिका केही जग्गा खरिद गरिसकेको छ। थप किन्ने प्रक्रियामा रहेको छ।

प्लान्ट स्थापनाका लागि सिन्धुलीको हरिहरपुर गाउँपालिकामा ४० बिघा जमिन आवश्यक पर्नेमा २० बिघा जमिन खरिद गरिसकेको घिमिरेले बताए। आगामी तीन महिनाभित्र अध्ययनसहित अन्य सबै काम सकाएर निर्माण सुरु गर्ने घिमिरेले बताए। ‘निर्माण सुरु गरेको डेढ वर्षमा सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ,’ घिमिरेले भने।

उद्योगले अत्याधुनिक प्रविधि प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने योजना बनाएको छ।  विदेश निर्यात गर्ने लक्ष्यसहित सिमेन्टमा लगानी गरेको अध्यक्ष घिमिरेले बताए। उद्योगका लागि २२ मेगावाट विद्युत आवश्यक पर्ने भए पनि सात मेगावाट विद्युत् कोइलाको हिटबाट उत्पादन गर्ने घिमिरेले जानकारी दिए।

उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरणका लागि प्रस्ताव माग गरिसकेको घिमिरेले बताए। ‘युरोप, भारतका केही कम्पनीले चासो देखाएका छन्,’ घिमिरेले भने, ‘जर्मनी प्रविधिलाई प्रयोगमा ल्याउने योजना बनाएका छौं।’ उद्योगमा प्रत्यक्ष रुपमा करिब सात सयजनाले रोजगारी पाउने कम्पनीको दाबी छ। स्वदेशमात्र नभएर भारत र चीनको बजारलाई पनि लक्ष्य गरेर उद्योग स्थापना गर्न लागेको घिमिरेले बताए।

उक्त उद्योगमा घिमिरेसहित रामज्योति इन्भेस्टमेन्ट कम्पनी साझेदार छ। घिमिरेका अनुसार अन्य स्वदेशी तथा विदेशी लगानीकर्तासँग पनि छलफल भइरहेको छ।’ विदेशबाट पनि लगानी ल्याउन प्रयास गरिरहेका उनले बताए। प्रमुख लगानीकर्ता घिमिरे हुन्। घिमिरेले यसअघि ग्यास, पेट्रोल पम्प, ढुवानी, हाइड्रो, चिया, निजी विद्यालय, कत्था, पेट्रोलियम ढुवानी, ट्रेडिङमा मोटरसाइकल, फर्निस आयल, बिटुमिन, अक्सिजनलगायतको क्षेत्रमा लगानी गरेका छन्।

अहिले मुलुकमा ६१ उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन्। तीमध्ये ४० ग्रान्डिङ र २१ वटा एकीकृत उद्योग छन्। अहिले सिमेन्टको बजार वार्षिक एक करोड मेट्रिक टन छ भने उत्पादन क्षमता एक करोड ५० लाख टन छ। संघका अनुसार केही उद्योग निर्माणाधीन भएकाले अबको दुई वर्षमा सिमेन्टको उत्पादन क्षमता दुई करोड ५० लाख पुग्नेछ। सिमेन्ट मात्र नभएर क्लिंकरको बजार माग एक करोड टन र उत्पादन क्षमता दुई करोड पुग्ने संघले जनाएको छ। सिमेन्ट उद्योगमा दुई सय अर्ब रुपैयाँ लगानी पुगेको छ भने वार्षिक डेढ सय अर्ब रुपैयाँको कारोबार हुन्छ। केही नयाँ उद्योग पनि पाइपलाइनमा रहेको संघले जनाएको छ।

सिमेन्ट उद्योगमा बैंकहरुले पनि मोटो रकम लगानी गरेका छन्। यहाँको चुनढुंगा प्रयोग गरेर उत्पादन हुने भएकाले विदेशी लगानीकर्ता पनि सिमेन्ट उद्योगमा लगानी गर्न उत्सुक छन्। स्वदेशी उद्योगले सिमेन्टमा विदेशी लगानी आवश्यक नरहेको भन्दै लबिङ पनि सुरु गरेका छन्।

यहाँको उत्पादन बजारले नथेग्ने भएपछि सरकारले चालु आर्थिक वर्ष ०७६/७७ को बजेटमा सिमेन्टलाई निर्यातजन्य उद्योगको रुपमा राखेको छ। निर्यातजन्य उद्योगको रुपमा राखे पनि निर्यात गर्न उत्पादन लागत घटाउनु पर्छ। अहिले नेपालको सिमेन्ट दक्षिण एसियामा नै महँगो छ। सिमेन्ट उद्योगका संख्या बढेपछि प्रतिस्पर्धा पनि बढेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले भने स्वदेशी सिमेन्ट उद्योगले गुणस्तर बढाउनुपर्ने जनाएको छ।

प्रकाशित: २० भाद्र २०७६ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App