८ वैशाख २०८१ शनिबार
समाज

डेंगी र स्क्रबटाइफसबाट चारको मृत्यु

चितवन - चितवनमा पछिल्लो डेढ महिनामा डेंगी र स्क्रबटाइफस संक्रमणबाट चारजनाको मृत्यु भएको छ। कडा ज्वरो आएपछि भरतपुरमा उपचार गराउन आएका ती चारजनाको फरकफरक समयमा मृत्यु भएको प्रदेश ३ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार मृत्यु हुनेमा स्क्रबटाइफसबाट संक्रमित रौतहटका एक पुरुष र नवलपरासीकी एक महिला छन्। त्यस्तै डेंगी संक्रमणबाट भरतपुर शुक्रनगरका एक पुरुष र डेंगी तथा स्क्रबटाइफस सक्रमणबाट पोखरा बसपार्क बस्ने एक महिलाको मृत्यु भएको हो।

चालु आर्थिक वर्षमा चितवनका स्वास्थ्य संस्थामा स्वास्थ्य उपचार गराउन आएका एक हजार नौ सय ८ जना ज्वरोका बिरामीमध्ये ६ सय २३ जनामा डेंगी संक्रमण भएको भेटिएको छ। संक्रमितमा चार सय ५५ जना चितवनका, ६६ जना मकवानपुरका, १० जना नवलपरासी र ९२ जना अन्य जिल्लाका छन्। चितवनका संक्रमितमा भरतपुरका चार सय १४, रत्ननगरका २०, खैरहनीका ५, राप्तीका एक, कालिकाका ८, माडीका ५ र इच्छाकामना गाउँपालिकाका २ जना छन्।

भरतपुर अस्पतालमा मात्रै पछिल्लो डेढ महिनामा ६ सय ८२ जना ज्वरोका बिरामीको जाँच गर्दा १६७ जनामा डेंगी पाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए। जसमध्ये अस्पतालमा भर्ना भएर उपचार गराएका ८५ जना घर फर्केका छन्। केही बिरामीको अस्पतालमा उपचार भइरहेको छ।

गत आवको तुलनामा यो वर्ष चितवनमा डेंगी संक्रमित बढेका छन्। गत आर्थिक वर्षमा ३१ जनामा डेंगी संक्रमण पाइएको थियो। चालु आवको हालसम्म ६ सय २३ जनामा डेंगी संक्रमण भएको छ। आव ०७४/०७५ मा १ हजार २९१ जनामा परीक्षण गर्दा ५९ मा डेंगी संक्रमण पाइएको थियो। त्यस वर्ष डेंगीका कारण एकजनाको मृत्यु भएको थियो। आव ०७३÷०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६ सय ८७ जनामा डेंगइ संक्रमण भएको पाइएो थियो। त्यस वर्ष पनि १ जनाको डेंगीका कारण ज्यान गएको थियो। बीचका दुई वर्षमा कम देखिएको डेंगे यो वर्ष धेरै फैलिएको छ। विशेषगरी भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा यसको संक्रमण बढी पाईएको छ।

भरतपुर अस्पतालले डेंगी परीक्षण निःशुल्क गरेपछि परीक्षण गर्ने किटको अभाव भएको डा. तिवारीले बताए। उनका अनुसार अहिले दैनिक दुई सयसम्म किट आवश्यक पर्छ।

डेंगीबाट दनुवारको मृत्यु

सिन्धुपालचोक – डेगी संक्रमणबाट बिहीबार सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–१२, भीमटारका ६० वर्षीय रामबहादुर दनुवारको मृत्यु भएको छ। काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। दनुवारको डेंगी संक्रमणबाट मृत्यु भएको चिकित्सकले पुष्टि गरेको अस्पतालमै रहेका वडाध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए।

वडाध्यक्ष दनुवारका अनुसार ज्वरोले च्यापेपछि तीन दिनअघि मात्र रामबहादुरलाई उपचारका लागि राजधानी लगिएको थियो। इन्द्रावती नदी किनारको भीमटारमा अरु पनि डेंगी संक्रमित हुन सक्ने आशंका गर्दै स्वास्थ्य टोली खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्काले जनाए।

प्रकाशित: २० भाद्र २०७६ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App