८ वैशाख २०८१ शनिबार
समाज

‘रिपोर्ट पनि राम्रो नै आएको छ’

फाइल तस्बिर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर आज (शुक्रबार) स्वदेश फर्किने भएका छन्। भदौ ५ गते स्वास्थ्य उपचारका लागि दोस्रोपटक सिंगापुर पुगेका प्रधानमन्त्री ओली थाइ एयरलाइन्सको विमानबाट १२ः३० बजे स्वदेश फर्कन लागेका हुन्। सात चरणमा प्लाज्माफेरेसिस प्रक्रियाबाट उपचार गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँचका सबै रिपोर्ट बिहीबार नै आइसकेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले चिकित्सकसँगको परामर्शपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कन लागेको जानकारी दिए। लामो समय देखि मृगौला रोगबाट पीडित रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको निकटहरूले दाबी गरेका छन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लले प्रधानमन्त्री ओलीको सो प्रक्रियाबाट उपचार हुनु र औषधिको मात्रा मिलेको खण्डमा सुधार हुने बताए। ‘यसमा बल्झिने सम्भावना हुँदैन प्रायः सुधार नै हुन्छ। उहाँका निजी चिकित्सकद्वय दिव्या सिंह र दिलीप शर्मासहितको संलग्नतामा भएको उपचारले अझ सुधार भएको हुनुपर्छ,’ डा. काफ्लेले भने, ‘नेपालमै रोग पत्ता लागेपछि गएका कारण त्यसको रिपोर्ट पनि राम्रो नै आएको छ भन्ने खबर छ। अपेक्षा गरेअनुरूपकै सुधार भएको हुनुपर्छ।’

उनका अनुसार प्रधानमन्त्री ओली पहिलाकै अवस्थामा काम गर्ने अवस्था रहनेछन्। ‘औषधिको मात्रा मिलेको खण्डमा उहाँको स्वास्थ्यामा कुनै गडबढी हुँदैन। सिंगापुरबाट फर्केपछि उहाँ पहिलाकै अवस्थामा काम गर्न सक्नुहुन्छ। काममा केही फरक पर्दैन,’ उनले भने।

सिंगापुरको नेसनल युनिभर्सिटी हस्पीटलमा गराएका उनको बुधबारबाट उपचार प्रक्रिया सकिएको छ। साउन १८ मा पहिलोपटक सिंगापुर जानुपूर्व छाउनी अस्पतालमा ओलीले रगत, दिसापिसाब, पेटको अल्ट्रासाउण्ड, बायोप्सीलगायतका परीक्षण गराएका थिए। त्यसपछि थप उपचारका लागि उनी सिंगापुर गएका थिए। साउन २७ गते सिंगापुरबाट स्वदेश फर्केका ओलीलगत्तै भदौ ५ गते थप उपचारका लागि सिंगापुर गएका हुन्। ‘उहाँले वेष्ट उपचार पाउनुभयो। अब पर्ख र हेरको अवस्थामा रहनुपर्छ। अहिलेसम्मको सबैभन्दा राम्रो पद्धतिको उपचार हो,’ डा. काफ्लेले भने।

प्रकाशित: २० भाद्र २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App