coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागेश्वरीको पुरानो ‘मिसिल’ फेला परेन

साबिक इन्द्रपुरस्थित बागेश्वरी मन्दिरको जग्गास्थल बिहीबार अवलोकन गर्दै सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको सदस्यलगायत। तस्बिर:नागरिक

नेपालगन्ज - बागेश्वरी मन्दिरको जग्गाबारे विभिन्न समयमा गरिएका निर्णय तथा कागजात फेला पार्न कठिनाइ भएको छ। मालपोत कार्यालय बाँकेमा २०५७ सालतिरको अभिलेख फेला परे पनि त्यसभन्दा अघिका महŒवपूर्ण कागजात फेला पार्न नसकिएको हो।

२०५७ सालको अभिलेखअनुसार जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको ८४ बिघा जग्गाको लालपुर्जा ३ सय व्यक्तिका नाममा बनेको देखिन्छ। तर २०२७/२८ सालतिर मन्दिरको जग्गासम्बन्धी तयार गरिएको ‘मिसिल’ फेला पार्न नसकिएको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख पे्रेमबहादुर दौल्यालले बताए। ‘२०५७ सालतिरको रेकर्डमा जग्गाको सामान्य स्थिति पत्ता लाग्यो तर त्यसभन्दा अघि २०२७/२८ सालतिरको मिसिल फेला पार्न सकिएको छैन,’ उनले भने, ‘त्यो मिसिल फेला परे मन्दिरको जग्गा कसको नाममा कसरी गयो भन्ने थाहा हुन्थ्यो।’

सो मिसिल तत्कालीन भूमि प्रशासन कार्यालयले तयार गरेको हुन सक्ने मालपोत प्रमुख दौल्यालको अनुमान छ। ‘कागजात खोज्ने काम जारी छ। हामी निरन्तर यसमै लागिरहेका छौं,’ उनले भने। यसबाहेक नापी कार्यालयको फिल्ड बुक हेरेर पनि पत्ता लगाउने कोसिस गर्ने दौल्यालको भनाइ छ। मन्दिरको जग्गा इन्द्रपुरबाहेक खजुराखुर्द, परस्पुरलगायत स्थानमा पनि रहेको बताइन्छ।

२०५७ सालतिरको रेकर्डमा जग्गाको सामान्य स्थिति पत्ता लाग्यो तर त्यसभन्दा अघि २०२७/२८ सालतिरको मिसिल फेला पार्न सकिएको छैन। त्यो मिसिल फेला परे मन्दिरको जग्गा कसको नाममा कसरी गयो भन्ने थाहा हुन्थ्यो। खोज्ने क्रम जारी छ।

मन्दिरको जग्गा व्यक्तिका नाममा बनाइएको समाचार सार्वजनिक भएपछि काठमाडौंबाट पनि छानबिन टोली नेपालगन्ज आएर अध्ययन गरिरहेको छ। सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य जगत देउजा र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेलसहितको टोली आएर छानबिन गरेको हो। टोलीमा सहभागी पोखरेलले मन्दिरको जग्गासम्बन्धी निर्णय भएको २०२७ सालतिरको मिसिल फेला नपर्दा खोजबिन गर्न कठिनाइ भइरहेको बताए। ‘जग्गाको पुरानो त्यो मिसिल भेटिएको छैन। त्यसको खोजी गर्ने क्रममै छौं,’ उनले भने।

जाँचबुझ आयोगको टोलीले बिहीबार बागेश्वरी मन्दिरको जग्गा रहेको साबिक इन्द्रपुरसहित खजुराखुर्द र परस्पुर पुगेर स्थलगत निरीक्षण गरेको पोखरेलले जानकारी दिए। ‘मन्दिरको जग्गा भएको ठाउँमा नापी र मालपोतका प्रमुख, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुखसमेतलाई लिएर स्थलगत निरीक्षण ग¥यौं। जग्गामा केही घर बनेका रहेछन्। बाँकी जग्गामा धानबाली रहेछ,’ उनले भने।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख दौल्यालले केन्द्रबाट आएको जाँचबुझ टोलीलाई मन्दिरको जग्गा रहेको स्थानमा पु¥याएर स्थलगत निरीक्षण गराइएको बताए। ‘उहाँहरुले मन्दिरको जग्गा भएको साबिक इन्द्रपुर, खजुराखुर्द, परस्पुर र बागेश्वरी मन्दिर क्षेत्रको जग्गा स्थलगत निरीक्षण गर्नुभयो,’ दौल्यालले भने।

मालपोत कार्यालयमा फेलापरेको स्रेस्तामा मन्दिरको केही जग्गा मन्दिरका मूलमहन्त चन्द्रनाथ योगी र महन्त हरिहरनाथ योगीमार्फत अन्य व्यक्तिमा नामसारी भएको पनि देखिएको छ। तर जग्गाको यकिन तथ्यांक भने भेटिएको छैन। जाँचबुझ आयोगको टोलीले बिहीबार मूल महन्त, महन्त, नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, नागरिक समाज, बागेश्वरी गुठी व्यवस्थापन समितिलगायतलाई पनि भेट गरेको बताइएको छ। उक्त टोलीले शुक्रबार जिल्लाका सरोकारवाला निकायसँग सुझाव संकलन तथा छलफल गर्दैछ।

मुलुकका विभिन्न स्थानमा सरकारी, सार्वजनिक तथा गुठी जग्गा हिनामिना भएको समाचार सार्वजनिक भएपछि संघीय सरकारले पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको हो। सो आयोगले बागेश्वरी मन्दिरको जग्गा हिनामिनाबारे पनि छानबिन थालेपछि मन्दिरको जग्गा फिर्ता आउने र दोषीमाथि कारवाही हुने अपेक्षा स्थानीयले गरेका छन्।

विकासका लागि नागरिक सरोकार समिति नेपालगन्जका संयोजक कृष्णप्रसाद श्रेष्ठले जाँचबुझ आयोगले जग्गाको सत्यतथ्य कुरा पत्ता लगाउनेमा आफू विश्वस्त रहेको बताए। मन्दिरको जग्गासहित अन्य सम्पत्तीबारे बागेश्वरी गुठी व्यवस्थापन समितिले पनि आन्तरिक रुपमा छानबिन गर्दै आएको छ। नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको संयोजकत्वमा छानबिन भइरहेको छ।

प्रकाशित: २० भाद्र २०७६ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App