coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालबाट मटर र मरीच भारत तस्करी

सिरहा-  सीमावर्ती क्षेत्रबाट मरिच र मटर तस्करी हुन थालेको छ। सो क्षेत्रबाट प्रहरीले तस्करहरुलाई धमाधम पक्राउ गर्न थालेपछि मरिच र मटरको तस्करीको तथ्य बाहिर आएको हो। प्रहरीले  सीमावर्ती बरियारपट्टी गाउँपालिका–२ खोक्सीबाट सिरहा प्रहरीले भारत तस्करीका लागि लग्दै गरेको मटरसहित दुईजनालाई पक्राउ गरेको छ। अवैध रुपमा भारततर्फ तस्करी हुन लागेको अबस्थामा तीनबोरा मटरसहित बा ५१ प ९३५८ नम्बरको मोटरसाईकलसहित सोही ठाउँका १८ वर्षिय श्यामजीवन पासवान र रोशन महतोलाई पक्राउ गरिएको हो।

प्रहरीले सिरहाको सीमावर्ती नवराजपुर गाउँपालिका–४ बाट वुधबार चार क्विन्टल मरीचसहित चारवटा मोटरसाईकल नियन्त्रणमा लिएको छ। अवैध रुपमा भारततर्फ तस्करी हुन लागेको मरिचसहित स ६ प २०१३, स १ प ५४०१, स १ प ६५०७, स ५ प ४५२९ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिइएको हो। प्रहरीको गस्ती टोलीलाई देखेर मोटरसाइकल चालकहरु फारार भएको प्रहरीले जनाएको छ।

नेपालबाट अवैधरुपमा भारततर्फ तस्करी गरिरहेको अवस्थामा उक्त परिमाणको मटरसहितको मोटरसाइलक र मानिसलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय ठाढीमा बुझाईएको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

चारवटा मोटरसाईकलसहित समातिएको मरीच पनि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय ठाढीमा पठाइएको सिरहा प्रहरीले जनाएको छ। पहिला पिकअप जीपमै मटर र मरीच सीमाबाट भारत पुर्याइन्थ्यो बरियारपट्टीका दीपेन्द्र यादवले भने,‘पछिल्लो समय बोर्डरमा गरिएको कडाइका कारण तस्करहरु मोटरसाईकल प्रयोग गर्न थालेका छन्।’ उनले भने,‘मोटरसाईकलमा रसायनीक मल भनेर बोर्डरसम्म लगेर सानोसानो पोका बनाएर पारी पुर्याउने जक्ति रचेका छन्।’ प्रहरीले मोटरसाईकलमाथि पनि निगरानी बढाएर पक्राउ गर्न थालेपछि तस्करहरुमा हलचल पैदा भएको उनले बताए।

नियन्त्रणमा लिइएको मरीच र मटर तेश्रो मुलुकबाट नेपाल भित्र्याइएको र नेपालबाट अवैध बाटो हुँदै भारत पुर्याउन लागिएको खुल्न आएको प्रहरीले जनाएको छ। अवैध कार्यमा सिमावर्ती क्षेत्रमा विभिन्न फर्म संचालन गरेका व्यापारीहरु संलग्न रहेको खुल्न आएको प्रहरी स्रोतले जनाएको छ।

तेश्रो मुलुकबाट नेपाल भित्र्याइएको मटर र मरीचलाई तस्करहरुले सिमावर्ती नाकासम्म पुर्याउने र त्यहाँबाट सीमामा सुरक्षाकर्मीको आँखा छलेर भारत पुर्याउने गरिएको पाइएको छ। तर, पछिल्लो समय सीमामा तैनाथ प्रहरीहरुले सीमामा हुने चोरीतस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाएपछि तस्करहरुमा उकुसमुकुस सुरु भएको सीमावर्ती झाझपट्टीका स्थानीय देवनारायण यादवले बताए। मटर, मरिच र मदिराको भारत तस्करी नियन्त्रणमा अहिले प्रहरी दिलोज्यानले लागेको उनले बताए।

भारतमा कालो मरीच र मटरको भाउ राम्रो पाइने भएकाले नेपालमा सस्तो रहेको मरीच तस्करहरुले भारत तर्फ चोरी निकासी गर्ने गरेका छन्। नेपालमा तेस्रो मुलुकबाट आयातित मरिचको भाउ भारतीय मरिचको तुलनामा प्रतिकिलो तीन देखि चार सय रुपैयाँ कम पर्न थालेपछि भारततर्फको अवैध निर्यात पनि बढेको हो। नेपालमा तेस्रो मुलुकबाट आयात हुने मरिच बजारमा प्रतिकिलो साढे सात सयदेखि आठ सय रुपैयाँको भाउमा उपलब्ध छ। त्यही मरिच सीमापारी भारतमा एक हजारदेखि एक हजार पाँच सय रुपैयाँ (नेपाली) प्रतिकिलोको भाउमा किनबेच भइरहेको छ। सीमापारी लगिएको मरिचको भुक्तानी भने भारतीय मुद्रामा हुने गरेको छ। मरिचको भाउमा रहेको अन्तर यसको कारोबार बढ्नुको एउटा कारण हो भने भारतीय रुपैयाँ अर्को आकर्षण हो।

एक क्विन्टल मरिच वारीबाट पारी पुर्याउँदा ४० देखि ५० हजार रुपैयाँ नाफा आउने गरेको छ। सबै खर्च कटाएर पनि क्विन्टलमा २५ देखि ३० हजार रुपैयाँ नाफा आउने भएपछि त्यसमा साझेदार रहेका दुवै तस्करका लागि पिरो मरिच गुलियो भएको छ। भारतीय कारोबारीले मरिचको भुक्तानी नेपाली पक्षलाई गर्दा भारतीय रुपैयाँमा गर्ने गरेका छन्।

भारतीय रुपैयाँको कालोबजारी गर्ने गिरोहले सीमामा भारतीय मुद्रामा साढे दुई प्रतिशत (नेपाली चार रुपैयाँ) दिएर हातोहात किन्ने गर्छन्। उनीहरुले त्यो भारतीय मुद्रामा आफ्नो नाफा थपेर बेच्ने गर्छन्। भारतीय मुद्राको उपलब्धता भने सीमावर्ती क्षेत्रमा सधैं अपुग रहने भएपछि मरिच तस्करीको अर्को पाटोको रुपमा भारतीय मुद्राको कालोबजारीले सहजै ठाउँ बनाउन पाएको बजारका जानकारहरुको विश्लेषण छ। मरिचको तस्करीसँगै भारतीय मुद्राको कालोबजारीले यो धन्दाले बढवा पाएको हो।

सीमावर्ती क्षेत्रमा मरिचको तस्करीसँग जोडिएर भारतीय मुद्राको अवैध सटही गर्ने दोहोरो धन्दा सीमावर्ती बजारको अर्को आकर्षण हो। अमेरिकी डलरमा भुक्तानी गरेर तेस्रो मुलुकबाट आयात गरिएको मरिच अवैध रुपमा भारत निकासी गर्दा त्यसबाट आउने भारतीय मुद्रा ल्याई त्यसको कारोबार पनि सँगसँगै भएपछि यो सन्जाल बढी संगठित किसिमको हुन पुगेको छ। तर, पछिल्लो समय प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रमुखमा डीआईजी प्रद्युम्न कार्की आएपछि आठवटै जिल्लामा चोरी तस्करीमा शून्य सहनशीलताको नीतिलाई कडाईकासाथ कार्यान्वयन गरेको छ। पर्सादेखि सिरहासम्म जिल्ला प्रहरी प्रमुख परिवर्तनसँगै मटर, मरीच र मदिरा भारत तस्करीको संगठित सन्जाल भताभुंग भएको एक व्यपारीले बताए। अहिले सिरहाको चोरीतस्करीमा लगाम लागेपछि धन्दामा संलग्नहरुमा उकुसमुकुस छ। धन्दामा संलग्नहरु उद्योग वाणिज्य संघमार्फत प्रहरी प्रशासनसँग लबिङ सुरु गरेको छ। सिरहाको एक कार्यक्रममा प्रदेशका प्रहरी प्रमुख कार्कीसँग व्यपार संघ सिरहाका अध्यक्ष प्रमोद पोद्दारले भने, ‘तेस्रो मुलुकबाट आयात भई आएको मटर र मरिचको व्यापार सहज बनाइदिनुपर्यो। सीमावर्ती क्षेत्रमा मरिच र मटरको व्यपार असहज भएपछि व्यपारिहरुलाई गाह्रो भएको छ’ पोद्दारले भने। 

सीमावर्ती क्षेत्रमा मटर र मरिचको कारोबारमा प्रहरीको सहयोग अपेक्षा गर्दै पोद्दारले व्यपारिको तर्फबाट डिआइजी कार्की समक्ष लबिङ गरेका थिए। तर, डिआइजी कार्कीले जवाफमा भने, ‘तपाईहरुको व्यापार फलोस, फस्टाओस तर व्यपारको नाममा देशको राजश्व छल्ने छुट दिन्न्।’ बर्दीका आडमा कसैले यस्तो कार्यलाई सहयोग गरे कारबाही गर्ने उनको जवाफ थियो। 

सिरहा प्रहरीले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ। भन्सार छलेर भित्र्याइएका सामान तथा सामान बोक्न प्रयोग गरिने सवारीसाधन र मानिस प्रहरीको नियन्त्रणमा आउने गरेका छन्। पछिल्लो समय तस्करीमा संलग्न भागेकाले नियन्त्रणमा लिन नसकेको जवाफ प्रहरीबाट बिरलै आउँछ।

प्रकाशित: १९ भाद्र २०७६ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App